वैकल्पिक शक्तिबाट अपेक्षा : ‘आईडियोलोजी’ र ‘ब्लूप्रिन्ट’ सहितको उपस्थिति

वैकल्पिक राजनीतिको सरगर्मीले यो साता काठमाडौंको चिसो मौसमलाई ह्वात्तै तताएको छ । नयाँ वैकल्पिक निर्णायक शक्तिको चाहना राख्दै भइरहेका बैठक र बहसले ठूला राजनीतिक दलहरूको पनि ध्यान खिचेको थियो । अझ ४८ घण्टाको अविराम छलफलपछि हिजो शनिवार मध्यराति भनौँ, आइतबार झिसमिसेमै भएको रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीचको सम्झौताले त्यसमा थप तरंग थपेको छ ।

नेपालको राजनीतिमा नयाँ र पुरानोको बहसलाई निरर्थक ठानिन्छ । भनिन्छ, राजनीतिमा नयाँ विकल्प हुँदैन । तर, यथार्थ दशकौँको राजनीतिक संघर्षबाट स्थापना भएका दलहरूको आफू केन्द्रित राजनीतिले नेपालको राजनीतिलाई यहाँ पुर्‍याएको हो । उनीहरूकै कार्यशैलीका कारण उत्पन्न वितृष्णा र नैराश्यताले नै विकल्पको छलफललाई थप टेवा पुर्‍याएको हो ।

नेपालमा निर्विकल्प ठानिएको राजनीतिमा वैकल्पिक राजनीतिको सूत्रधार गर्ने व्यक्ति हुन्, उज्ज्वल थापा । अमेरिकाबाट स्वदेश फर्केका थापाले २०६९ जेठ १५ गते विवेकशील नेपाली पार्टी खोलेर वैकल्पिक राजनीतिको जग बसाले । २०७० सालको संविधानसभा निर्वाचनमा चारजना स्वतन्त्र उम्मेदवार उठाए । युवालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरे ।

उनका विविध प्रयास तथा योगदानले जनताका दैनिक जनजीविकाका मुद्दालाई राजनीतिक एजेण्डाको रूपमा स्थापित गर्न सकिन्छ भन्ने नजिर बन्यो । २०७४ सालमा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भयो । वैकल्पिक राजनीतिका ‘मोरल आईकन’ बनेका थापा अल्पायुमै दिवंगत भए । तर, वैकल्पिक राजनीतिक दलको महत्वलाई उजागर गर्नेे योगदानमा आज पनि उनकै नाम अगाडि आउँछ । थापाकै नेतृत्वमा वैकल्पिक राजनीतिको जग बसालेको विवेकशील साझा पार्टी थुप्रै उतारचढावपछि पछि भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकृत भएको छ ।

त्यसो त २०७२ सालमा डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियान चलाएका थिए । एउटा कठोर अनुदारवादी विचार बोकेर राजनीति थालेका बाबुराम त्यहीभित्रको आन्तरिक कलह थेग्न नसकेर वैकल्पिक राजनीतिमा लागेको यथार्थले उनलाई वैकल्पिक राजनीतिमा स्थापित बनाउन सक्ने कुरै थिएन र भएन पनि ।

यही पृष्ठभूमिमा लामिछाने र शाहको सक्रियताले वैकल्पिक राजनीतिलाई फेरि एक पटक निर्णायक मोडतर्फ धकेल्ने सम्भावना देखिएको छ । बालेन्द्र शाहसँगको सहमति, कुलमान घिसिङलाई समेत एउटै धारमा ल्याउने प्रयास र वैकल्पिक राजनीतिप्रतिको बढ्दो जनचासोले अबको बहस व्यक्तिभन्दा संरचना र दिशामाथि केन्द्रित हुन थालेको संकेत दिएको छ ।

के कुनै राजनीतिक दल चुनाव जित्ने प्रयोजनको लागि मात्र खोलिन्छ ? पुरानाहरूले सिर्जना गरेको राजनीतिक दलको असफलता, कुशासन र त्यसबाट सिर्जना भएको नैराश्यता मात्र नयाँ दलको वैचारिक आधार बन्न सक्छ ? कसैलाई हराउने वा जिताउने आधारमा वैकल्पिक राजनीतिको आधार बन्न सक्छ ? चुनाव जित्ने वा हराउने उद्देश्यले मात्र कुनै पनि संगठन खोलिँदैन र खोलिनु पनि हुँदैन । मुलुकलाई कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोण तथा रोडम्याप हरेक दलमा हुनुपर्छ । के हाम्रा राजनीतिक दलसँग मुलुकको समुन्नतिको स्पष्ट भिजन छ ? अवश्य पनि छैन । यदि स्पष्ट भिजन र मिशन हुँदो हो त न त देशको समग्र अवस्था यस्तो हुन्थ्यो, न त चरम नैराश्यता उत्पन्न भएर जेन–जी समूह सडकमा उत्रिने परिस्थिति नै बन्थ्यो । त्यति मात्र होइन, राजनीतिक आन्दोलनका नाममा मुलुकले ८० अर्बको आर्थिक क्षति पनि व्यहोर्नुपर्ने थिएन ।

विभिन्न राजनीतिक पृष्ठभूमिमा स्थापित भएका र आन्दोलनका कठोर उतारचढाव व्यहोरेका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा) बाट नेपाली जनताले ठूलो आस गर्नु स्वाभाविक हो । तर, तीनवटै दलका शीर्ष नेता म्यूजिकल चेयरझैँ आलोपालो गर्दै सत्ता र शक्तिमा मात्र रमाउन थालेपछि जनतामा चरम निराशा उत्पन्न भएको हो । जसले एकातिर व्यवस्थाप्रति नै प्रश्न उठ्नेसम्मको अवस्था सिर्जना हुन पुग्यो ।

अर्कातिर पुनः वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता थप महसुस गराएको छ ।

वैकल्पिक शक्तिको बढ्दो तागत देखेर नै यस पटक ठूला दल नेपाली कांग्रेस, एमालेका कतिपय हेभिवेट पदाधिकारीले चुनावी मैदानमा नउत्रने घोषणा गर्नसमेत शुरु गरिसकेका छन् । पुराना दलप्रतिको असन्तुष्टि र सार्वजनिक संस्थाप्रतिको अविश्वासले नै वैकल्पिक राजनीतिक शक्ति उत्साहित देखिन्छन् । यस सन्दर्भमा हाल स्थापित केही वैकल्पिक राजनीतिक शक्तिका बारे चर्चा गर्ने प्रयास गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): आक्रोश र असन्तुष्टि मात्र ?

अहिले वैकल्पिक राजनीतिक दलका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी तुलनात्मकरुपमा बलियो मानिन्छ । भ्रष्टाचार विरोधी राजनीति, सेवा प्रवाहमा चुस्तता र व्यक्ति नभई प्रणालीमा जोड दिएका कारण रास्वपा प्रति विशेष गरी युवा र वयस्क समुदाय आकर्षित छन् । लोकतन्त्र, सुशासन र सुधारवादी राजनीतिप्रति मुख्य झुकाव भएको रास्वपाका अध्यक्ष लामिछानेको वाक्पटुता र सर्वसाधारणमा उनको लोकप्रियताले पनि धेरैलाई तानेको छ । त्यसमा बालेनको लोकप्रियता थपिँदा रास्वपा अब बलियो राजनीतिक शक्ति बनेको धेरैको ठम्याई छ ।

‘भ्रष्टाचारीको मुख हेर्दिनँ, सुशासन नै मेरो पहिलो प्राथमिकता’ भन्ने त पुराना दलका सस्तो नारा हुन् । तसर्थ, यतिले मात्र रास्वपालाई वैकल्पिक राजनीतिको केन्द्र बनाउन सक्ला त ? शासकीय स्वरूप, कर्मचारीतन्त्रको संरचना, सामाजिक सेवा प्रदायक निकायको पुनर्संरचनाका विषयमा रास्वपाको अडान के हो ? के आजको दिनमा प्रदेश संरचना बेगरको राजनीतिक प्रणाली नेपालमा सम्भव छ ? यी तमाम कुराको वैचारिक अस्पष्टता रास्वपाले क्लियर पार्नु जरुरी छ । यद्यपि पछिल्लो राजनीतिक घटनाक्रमले भने रास्वपाको क्रेज बढिरहेको देखिएको छ । रवि लामिछानेको सांगठानिक पकड र बालेन साहप्रतिको जनविश्वासले एउटा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणमा सहयोग पुग्ने आम बुझाई छ । तर पनि, देशको दीगो र भरपर्दो राजनीतिक केन्द्र बन्न भने वैचारिक स्पष्टता जरुरी नै छ । २०७९ को निर्वाचनमा रास्वपाले २० सीट जितेको थियो । छोटो समयमै संसदको चौथो ठूलो दल बन्यो । तर, अहिले पनि रास्वपा .शीर्ष नेताहरूकै कारण चलायमान देखिन्छ । यस पार्टीका सभापति विभिन्न विवादका कारण थुनामा रहँदा धर्मराएको देख्दा यो पार्टी पनि वैचारिक तवरमा स्पष्ट हुन सकिरहेको छैन भन्ने प्रश्न स्वाभाविक छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा): थारु पहिचानमै सीमित

पहिचानमा केन्द्रित राजनीतिबाट उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि केही क्षेत्रमा मात्र सीमित छ । विशेष गरी सुदूरपश्चिम प्रदेश र लुम्बिनीमा । रेशम चौधरीको संरक्षकत्वमा जन्मिएको नाउपा वैचारिक भन्दा पनि अनुभवजन्य अन्यायबाट जन्मिएको दलको रूपमा परिचित छ । थरूहट, थारूवान आन्दोलनबाट राजनीतिमा उदाएका चौधरीले केही समय एउटा समुदायको आकर्षण बनेर राजनीतिमा उदाए पनि आफ्नो स्पष्ट राजनीतिक आईडियोलोजी सार्वजनिक गरेको पाइएको छैन । टीकापुर घटनापछि उदय भएको नाउपाले थारु समुदायमा भएको अन्यायको मुद्दालाई उचालेर आशा जगाउँदो गरी राजनीतिमा उदाए पनि राजनीतिलाई पारिवारिक कलहको केन्द्र बनाउँदा अझ वैकल्पिक र नयाँ राजनीतिक धारलाई थप बदनाम बनाउन सहयोग गरेको आरोप खेपिरहेका छन् ।

जनमत पार्टी: नौलो गणतन्त्रको खाका खोइ ?

कुनै समय मधेशमा चर्को राजनीतिक नारा दिएर चिनिएका सिके राउतले मधेश केन्द्रित पहिचान र सुशासनलाई प्राथमिकता दिने भन्दै जनमत पार्टी स्थापना गरे । नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रकोलागि स्थापना भएको दाबी गर्दै मधेशको राजनीतिमा वैकल्पिक शक्तिका रूपमा स्थापित हुनसमेत प्रयास गरे । जनमत पार्टीका अध्यक्ष डा. राउतले संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने राजनीतिक रोडम्याप नै नौलो गणतन्त्र भएको बताउँदै आएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेका कमी–कमजोरी सुधार्दै अघि बढ्ने भन्ने बाहेक नौलो गणतन्त्रको खाका र स्पष्ट आईडियोलोजी पनि जनमत पार्टीले हालसम्म सार्वजनिक गर्न सकेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा जनमत पार्टीले कल्पना गरेको नौलो गणतन्त्रमा के फरक छ ? भन्ने प्रश्नको स्पष्ट जवाफ डा. राउतसँग देखिँदैन । उनको भनाइअनुसार, मुलुकका संवैधानिक निकायमा अमेरिकामा झैँ प्रत्यक्ष निर्वाचित व्यक्तिहरूको नियुक्ति हुनुपर्छ । मधेशमा स्थापित अन्य राजनीतिक दलको आलोचनाबाहेक उनको अर्को वैचारिक आधार आजसम्म पनि अस्पष्ट छ ।

उज्यालो नेपाल पार्टी: व्यवस्थापकीय सुधार मात्रै ?

नेपालीको दैनिकीसँग जोडिएको नेपालको विद्युत् वितरणमा व्यवस्थापकीय अब्बलता देखाएका कुलमान घिसिङको व्यक्तित्वका कारण चर्चामा छ, उज्यालो नेपाल पार्टी । औपचारिक तवरले अरुकै नाममा दर्ता भए पनि घिसिङ उज्यालो नेपाल पार्टीका प्रमुख हुन् । प्राधिकरणको नेतृत्व गर्दा हटेको लोडसेडिङको श्रेयका कारण चर्चा पाए । उनी हाल सामाजिक न्याय, समावेशिता र सेवा प्रवाहको कुरालाई आधार मानेर राजनीतिक दलमार्फत राजनीतिमा होमिएका छन् । उनको पार्टीमा पनि राजनीतिक विचारको नवीनतामा भने स्पष्टता छैन । उनको पार्टीले विगतमा भएका क्रान्ति, जनआन्दोलन र नवयुवा (जेन–जी) को विद्रोहले पुराना असक्षम, असंवेदनशील र भ्रष्ट अभ्यासलाई चुनौती दिएको ठहर गरेको छ । उक्त पृष्ठभूमिमा नेपालको राजनीतिक इतिहास र जनसंघर्षबाट उत्पन्न नयाँ युगको आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विभिन्न व्यवस्थापकीय सुधार गर्दै सुशासनमार्फत सेवा प्रवाहमा सुधार ल्याउने भनिएको छ ।

सार्वजनिक गरिएका दस्ताबेजका आधारमा उज्यालो पार्टी नेपाल पनि आईडियोलोजी भन्दा व्यवस्थापकीय सुधारतर्फ बढी केन्द्रित देखिएको छ । घिसिङको व्यवस्थापकीय क्षमताबाट प्राप्त लोकप्रियताका आधारमा दल चलाउन खोजेको आभाष मिल्छ । समावेशिता, सुशासन र सामाजिक न्याय मात्रले यो दललाई पनि दरिलो राजनीतिक शक्ति बन्न भने गाह्रो छ ।

श्रम संस्कृति पार्टी: श्रममै केन्द्रित ?

धरान नगरमा वर्षौँदेखिको खानेपानीको समस्या उठान गर्दागर्दै मेयर निर्वाचित हर्कराज राई (साम्पाङ) ले पनि श्रम संस्कृति पार्टी दर्ता गरेका छन् । मेयर बनेपछि श्रमदानबाट भव्य पार्क बनाउन सफल उनले जनतालाई श्रमसँग जोडे मात्र मुलुक संवृद्ध बन्छ भन्ने नारा दिँदै धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गरे । मुलुकको दीगो विकासका लागि पार्टी दर्ता गरेको उल्लेख गरेका छन् । मेयर भएपछि नियम–कानून एकातिर छाडेर राम्रो गरी नगरपालिका सञ्चालन गर्न नसकेको आरोपका बीच जनतालाई देश र माटोसँग जोड्नु आवश्यक भएको र छिटो विकासका लागि श्रमदान अपरिहार्य रहेकोमा जोड दिइएको श्रम संस्कृति पार्टीको पनि समग्र शासन प्रणाली र त्यसबाट सेवा प्रदान गर्ने भन्ने विषयमा भने स्पष्टता छैन । उनले पार्टीको स्पष्ट आईडियोलोजी सार्वजनिक नगरी दल दर्ता गरेर अगाडि श्रमलाई मात्र महत्त्व दिइएको हर्कवादको वकालत गर्ने उनले आफूबाहेक अरू सबै दलका नेतृत्वलाई विदेशीका दलाल भनेर आफू मात्र राष्ट्रवादी देखिन खोजेका छन् । हालको विश्व बजारमा प्रतिस्पर्धा गर्ने कस्तो शिक्षा प्रणालीमार्फत परिवर्तन ल्याउने भन्दा श्रमदान मात्र गरेर देश बनाउन सकिन्छ भन्ने असंगत विचार उनको छ ।

किन आवश्यक छ, आईडियोलोजी ?

भनिन्छ, राजनीतिक दल सामाजिक सवालहरूमा समान धारणा राख्ने नागरिकको संगठित समूह हो । जसले निजी होइन, सार्वजनिक सवालमा सरोकार राख्दछ । जसको रणनीतिक र सैद्धान्तिक आधार स्पष्ट हुनुपर्छ । नेपालको संविधानको धारा २६९ को (१) मा समेत राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने व्यवस्था छ । तर, त्यसको ठिक उल्टो नेपालका वैकल्पिक राजनीतिक दलहरू शासन प्रणालीप्रतिको असन्तुष्टिमा जन्मिएका हुन् । कोही भन्दा फरक हुन विचार चाहिँदैन, तर विकल्प बन्न भने उसको भन्दा परिष्कृत आईडिओलोजी पनि अनिवार्य हुन्छ । वैकल्पिक राजनीतिक दलको नेतृत्वले अन्य दलका नेताका भाषणमा आक्रोश र असन्तुष्टि चर्को सुनिन्छ । नीतिगत गहिराइमा न त पार्टीभित्र र बाहिर सार्वजनिक वृत्तमा पनि छलफल, अन्तरक्रिया भएको देखिँदैन । कतिपयको त संस्थागत संरचना अझै निर्माणको अवस्थामा नै छ ।

राजनीतिक दलको आईडियोलोजी भनेको समाज, राज्य र सत्तालाई कसरी सञ्चालन गर्ने भन्ने मात्र होइन, दलहरूको आधारभूत सोच, विश्वास र मूल्यहरूको समग्र ढाँचा हो । यही आईडियोलोजीले दलको नीति, कार्यक्रम, निर्णय र व्यवहारलाई मार्गदर्शन गर्छ । हामी कस्तो समाज चाहन्छौँ ? राज्यले के गर्नुपर्छ ? शक्ति कसरी प्रयोग हुनुपर्छ ? हाम्रा राज्यका संस्था र संरचना कस्ता हुनुपर्छ र यिनीहरूलाई कसरी जनमुखी बनाउन सकिन्छ ? यी र यावत प्रश्नको जवाफसहित जनतासामु गरिने प्रतिबद्धता र वाचाको रूपरेखा नै दलको आईडियोलोजी हो । वैकल्पिक राजनीतिक दलमा स्पष्ट आईडियोलोजीको खाँचो छ । ठूला राजनीतिक दलले आफ्नो आईडियोलोजी जनतासामु प्रस्तुत गरिसकेको भएता पनि अभ्यासमा कमजोर प्रमाणित भएका छन् । जसका कारण नेपाली कांग्रेस र एमालेको दुई तिहाइको बलियो सरकार गर्ल्यामगुर्लुम ढलेको घटना हाम्रासामु ताजै छ । वास्तवमा सत्ता केन्द्रित राजनीतिले ठूला दलहरूको विचारधारालाई समेत दिशाविहीन बनाएको छ । तसर्थ, वैचारिक स्पष्टतासँगै विश्वस्त हुने खालको कार्यान्वयनको कार्य योजनासमेत आजको आवश्यकता हो ।

यस्तो अवस्थामा वैकल्पिक राजनीति दलहरूले शासन सञ्चालनका विभिन्न आयाम (राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक, राष्ट्रियता, विदेश नीति, राज्य र नागरिकबीचको सम्बन्ध, नागरिक अधिकार) लगायतका विषयमा स्पष्ट आईडियोलोजी सार्वजनिक गर्नु अपरिहार्य छ । राज्य सेवक हुने कि नियन्त्रक ? केन्द्र, प्रदेश र स्थानीय सरकारको शक्तिको बाँडफाँड, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति दलको धारणा के हो ? यी र यस्ता विषयमा भएका स्पष्टताका आधारमा मात्र नयाँ राजनीतिक दलको विश्वसनीयता रहने तथा जनताले स्वाभाविक रूपमा प्रश्न गर्ने गर्छन् । त्यसैले चुनावी मैदानमा उत्रनुअघि नै वैकल्पिक राजनीतिक दलहरूले आफ्नो स्पष्ट आईडियोलोजी सार्वजनिक गर्नु अनिवार्य हुनुका साथै आगामी निर्वाचनमा प्राप्त सफलतापछि पाँच वर्षमा गरिने कामको ‘ब्ल्युप्रिन्ट’ लिएर जनतामाझ जानुपर्ने देखिन्छ ।

तोकिएको मिति, अर्थात् फागुन २१ मै निर्वाचन सम्पन्न हुनेमा संशय रहिरहेकै बेला रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको राजनीतिक मिलनले आमविश्वास भने बढेको छ । पछिल्ला समय भइरहेका भनिएका राजनीतिक छलफलमा मुख्य एजेण्डा आफू र आफ्नो स्थान कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित भएका भन्ने समाचार बाहिर आएका छन् । तथापि, सार्वजनिक भएको राजनीतिक सहमतिको सम्झौतामा भने आशा जगाउनेखालको छ । पार्टीको नाम के राख्ने ? चुनाव चिह्न के राख्ने ? को अध्यक्ष हुने ? भन्ने विषय गौण हुन् । आफूलाई वैकल्पिक शक्तिको केन्द्रबिन्दुमै देखिएका र जनताले समेत आशा गरेकाहरुबाट समेत पुरानै दलका नेताहरुको कमजोरीको झल्को आउन दिनु भने दुःखद् छ । तसर्थ, निर्वाचनमा आफूअनुकूल नतिजा आएर सत्ता सञ्चालनको नेतृत्व गर्न पाए मुलुकलाई कसरी अग्रगमनमा लैजाने र जनतामा आशा छर्ने भन्ने खाकासहितको स्पष्ट आईडिओलोजी ल्याउनु आजको आवश्यकता हो । जसका लागि वैकल्पिक राजनीतिप्रति आशा र विश्वास गर्नेहरुले चनाखोपूर्वक खबरदारी गर्नु जरुरी छ ।

(लेखक समाजशास्त्री हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *