इन्काउन्टरमा बाँचेका गुण्डा नाइके जेन-जी आन्दोलनमा लुटेको हतियारसहित पक्राउ

काठमाडौं । आपराधिक गतिविधिमा संलग्न जसवन्त राई जेन-जी आन्दोलनका क्रममा लुटिएको हतियारसहित वाफलबाट पक्राउ परेका छन् ।

उनी २०७३ सालमा प्रहरीको तत्कालीन अपराध महाशाखाले गरेको इन्काउण्टरमा ज्यान जोगाएर भाग्न सफल भएका थिए । तत्कालीन एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको प्रहरी टोलीले उनलाई बबरमहलमा इन्काउण्टर प्रयास गरेको थियो ।

काठमाडौं प्रहरीले चलाएको अपरेसनका क्रममा राईको समूहबाट सीएफ ९८-९००००३३०८२३७ र सीएफ ९८-९००००१११०८२३६ नम्बरका दुई पेस्तोल, तीन म्यागजिन, दुई राउन्ड गोली र दुई गोलीको खोका बरामद गरेको हो ।

उनीसँगै काठमाडौं, डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङ र लेटाङका २२ वर्षीय शाहिल तिवारी छन् । जसवन्त खोटाङका स्थायीवासी हुन् । उनी हाल जेलमा रहेका गुण्डानाइके समीरसिंह बस्नेत समूहका हुन् ।

उनले २०७२ मा कलंकीमा सञ्चालित स्काई प्यालेस डान्स बारमा विश्वास सल्यानी र सुमित रेग्मीलाई तरबार र बोतल हानेर घाइते बनाएका थिए । सोही वर्षको साउनमा कालीमाटीमा रहेको मनकामना माई यातायातका सञ्चालक पंकज शाहीमाथि खुकुरी हानेका थिए ।

मानिसलाई घाइते बनाई लुटपाट गर्न उनी माहिर रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *