
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो समानुपातिकको बन्दसूची करिब करिब टुंग्याएको छ । राप्रपा नेताहरू निर्वाचन आयोग जान तयारी गरिरहेका छन् ।
आज भएको कार्यसम्पादन समिति बैठकले बन्दसूची टुंगो लगाएको हो । तीनवटा विषयमा भने मतदानबाट निर्णय लिनुपरेको थियो । खस आर्य पुरुषमा डा. प्रकाशचन्द्र लोहनीलाई पहिलो नम्बरमा राख्ने वा नराख्नेमा मतदान गरियो । जसमा लोहनीको विपक्षमा बहुमत आयो ।
यस्तै, खस आर्य पुरुष र जनजाति पुरुषको पहिलो तीन दाबेदारको टुंगो पनि मतदानबाट लगाइएको थियो ।
खसआर्य महिलातर्फ भने खुस्बु ओली पहिलो नम्बरमा बन्दसूचीमा परेकी छन् । यस्तै दोस्रो नम्बरमा स्वाती थापा छिन् । उनी राप्रपाका दिवङ्गत नेता दीपक बोहराकी नातिनी हुन् । तेस्रोमा देवकुमारी पराजुलीको नाम छ ।
जनजाति महिलामा धादिङ सरस्वती लामा पहिलो नम्बरमा सिफारिस भएकी छन् । यस्तै, खोटाङकी विजयकला राई दोस्रो र मकवानपुरकी सरस्वती थिङ तेस्रो नम्बरमा छिन् ।
मधेशबाट राप्रपा महामन्त्री प्रल्हाद साह सिफारिस भएका छन् ।

Leave a Reply