
चितवन । नारायणी नदी किनारामा दुई हप्ताभन्दा लामो मेला लगाएर निस्किएको फोहोरको व्यवस्थापन गर्नुको सट्टा जलाएर नदी प्रदूषण गर्ने जिल्ला खेलकुद विकास समितिलाई भरतपुर महानगरपालिकाले जरिवाना तोकेको छ ।
महानगरपालिकासँग १५ दिनसम्म मेला गर्ने स्वीकृति लिएर तामझामका साथ खेलकुद मेलाको नाममा जिल्ला खेलकुद विकास समिति मूल आयोजक भएर मेला सञ्चालन भएको थियो ।
कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन गरिएको मेलाबाट निस्किएको फोहोर आफैले व्यवस्थापन गर्नुपर्नेमा नदी किनारामा राती आगो लगाएर जलाइएको थियो । उक्त विषयमा कारबाहीको बेवास्ता गरेको भन्दै महानगरपालिका आलोचित भएपछि समितिलाई नगरप्रमुख स्तरीय निर्णय गरी २५ हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको हो ।
महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले पुस ११ गते पत्र काटेर खेलकुद विकास समिति चितवनलाई फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ र ३९ बमोजिम नगरप्रमुख स्तरीय निर्णयबाट कसुर र सजाय निर्धारण गरिएको जनाएका हुन् ।
पौडेलले खेलकुद विकास समितिलाई पठाएको पत्रमा प्लाष्टिकजन्य फोहोर नदी किनारामा जलाउन नपाउने भए पनि जलाएका कारण मेला आयोजकमाथि कारबाही गरिएको जनाइएको छ ।
पौडेलका अनुसार पत्र पठाएको तीन दिनभित्र जरिवाना रकम दाखिला गर्नुपर्ने भए पनि खेलकुद विकास समितिले आज सोमबारसम्म जरिवाना रकम बुझाएको छैन । भोलि सार्वजनिक बिदा भएकोले पर्सिसम्म जरिवाना रकम आउन सक्ने पौडेलले बताए ।
प्राकृतिक जलाशय किनारामा १५ दिनसम्म संकलन भएको मेलाको फोहोर जलाएको जलाइएको प्रमाणसहित भरतपुरका वातावरण संरक्षणको अभियान चलाएका युवाहरूले कारबाहीको लागि उजुरी दिएका थिए ।
उजुरीपछि तीन दिने स्पष्टीकरण भरतपुर महानगरपालिकाको वातावरण महाशाखाले खेलकुद विकास समिति चितवनलाई पठाए पनि समितिले आफूले अरूलाई नै फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको र रातको समयमा नचिनेका व्यक्तिले आगो लगाएको भनेर पन्छिएको थियो ।
महानगरको स्पष्टीकरण पत्र पाउने बित्तिकै विज्ञप्ति निकालेर समितिलाई नै बदनाम गर्ने तरिकाले नचिनेका मानिसले फोहोर जलाएको आरोप समितिले लगाएको थियो । त्यसपछि सडकमा हिँड्ने एक व्यक्तिलाई समातेर समितिले प्रहरीको पनि जिम्मा लगाएको थियो । तर, सरोकारवालाले समितिले फोहोर व्यवस्थापन गर्नुको सट्टा जिम्मेवारीबाट पन्छिन लागेको भन्दै कारबाहीको लागि दबाब दिएका थिए ।

Leave a Reply