
विराटनगर । उपचार गराउन भोजपुरबाट इटहरी झरेकी पबीमाया बयलकोटीको ज्वाइँले हत्या गरेका छन् ।
मोरङको बाहुनी घर भएर इटहरीमा डेरा गरी बस्दै आएका गणेस साह गुप्ताले बयलकोटीको हत्या गरेका हुन् । बयलकोटी एक साताअघि उपचार गराउन भोजपुरको दिङ्लाबाट इटहरी आएकी थिइन् ।
श्रीमानसहित उपचारकालागि इटहरी आएकी बयलकोटी इटहरी जनता बस्तीमा घर भएकी अर्की छोरीको घरमा बस्दै आएकी थिइन् । सोमबार घर फर्किने तयारी भएकाले आइतबार साहको डेरामा पुगेकी थिइन् ।
घर फर्किने अघिल्लो राति नै ज्वाइँले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकामा हानेर उनको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
छोरी र ज्वाइँका बीचमा दिनहुँ झगडा हुने गरेको र सासुले ज्वाइँलाई सम्झाउन खोज्दा सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सासुको हत्या गर्ने गणेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply