
काठमाडौं । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यले जनादेशको सम्मान नै आफ्नो पहिलो दायित्व भएको बताएका छन् । उनले जनताले आफ्नो आवाज बोल्नका लागि प्रदेश सभामा निर्वाचित गराएकाले जनादेश र भावनालाई बीचमै नछोड्ने बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनप्रतिनिधिहरुले वहाल रहेको जिम्मेवारी त्यागेर आफूलाई उम्मेदवारका रुपमा उभ्याइरहँदा प्रदेश सभा सदस्य आचार्यले पद त्याग गर्नु समस्याको समाधान नभएको बताए ।
उनले प्रदेश प्रणालीका कमजोरी सच्याउने जिम्मेवारी निर्वाचित प्रतिनिधिकै भएको बताए । उनले भने, ‘संस्थाभित्रै बसेर सुधारको पहल गर्नु नै लोकतान्त्रिक बाटो हो ।’
प्रदेश सभामा आफ्नो भूमिका केवल राजनीतिक उपस्थिति मात्र नभएर नीति निर्माण, बजेट प्राथमिकता र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित भएको आचार्यले बताए । उनले प्रदेशका ग्रामीण क्षेत्रको पूर्वाधार विकास, युवालक्षित रोजगारी, कृषि पर्यटनको प्रवर्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्रमुख एजेन्डा बनाइरहेको बताए ।
सांसद आचार्यले स्थानीय तहसँग समन्वय गरेर विकास योजनालाई नतिजामुखी बनाउने प्रयास भइरहेको बताए । उनले प्रदेश राजनीतिमा देखिएको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै स्थायित्व र निरन्तरताको खाँचो रहेको बताए ।
‘बारम्बार सरकार फेरिनु वा प्रतिनिधिहरूको भूमिकामा अनिश्चितता आउनुले विकास प्रभावित हुन्छ ।’ आचार्यले भने ।

Leave a Reply