नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारका रूपमा दुई पत्रकारको नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उमेदवारको रूपमा २ जना पत्रकारको नाम सिफारिस गरेको छ । झापा क्षेत्र नम्बर ५ बाट विवेक गौतम उमेदवारको रूपमा सिफारिस भएका छन् ।

उनी नेपाल पत्रकार महासंघ कोशीका पूर्व महासचिव समेत हुन् । माओवादी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतम झापा ५ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उमेदवारका रूपमा सिफारिस भएका हुन् । उनीसँगै झापा ५ बाट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, दिपेनवाला राई र हरिमायाँ मैनाली पनि नाम उमेदवारको रूपमा सिफारिस भएका छन् ।

झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । सो क्षेत्रबाट ओली विजयी हुँदै आएका छन् । यस्तै मोरङको क्षेत्र नम्बर ६ बाट पनि पत्रकार विनोद घिमिरे उमेदवारको रूपमा सिफारिस भएका छन् ।

घिमिरे प्रेस सेन्टर कोशीका निवर्तमान अध्यक्ष समेत हुन् । नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएको सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आर्चायको नाम समेत उमेदवारको रूपमा सिफारिस भएका छन् । उनी अहिले प्रदेश सभामा सदस्य हुन् ।

पार्टीले प्रदेश सभा सदस्यहरूको नाम प्रतिनिधि सभाको निर्वाचनमा उमेदवारको रूपमा सिफारिस नगर्न भनेपछि जनताको माग भन्दै आचार्यको नाम पनि उमेदवारको रूपमा सो पार्टीले सिफारिस गरेको हो ।

आचार्य प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालका ज्वाइँ हुन् । सो निर्वाचन क्षेत्रबाट घिमिरे र दाहाल बाहेक पूर्व मन्त्री अमनलाल मोदीको समेत नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर ४ बाट एकल रूपमा सिफारिस भएको छ ।

यस्तै सो निर्वाचन क्षेत्रबाट वसिम अलाम, ओपेन्द्र राय, हेम कार्की, सोनेलाल राजवंशी, मो आलम प्रवेज, अंकित आले र साइमन रेग्मीको नाम पनि उमेदवारका रूपमा सिफारिस भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *