केपी ओलीको ‘पिँजडा’ भित्र कुँजिएका प्रदीप ज्ञवाली

राजनीतिक शब्दकोशमा पिँजडा भनेको केवल फलामका डन्डीले बनेको घेरा मात्र होइन, बरु यो एउटा यस्तो सीमितता र नियन्त्रणको अवस्था हो जहाँ नेतासँग पखेटा (योग्यता) त हुन्छ तर आकाश (स्वतन्त्रता) हुँदैन । पिँजडाले सुरक्षाको भ्रम त दिन्छ, तर उडानको सामर्थ्यलाई सधैँका लागि निलिदिन्छ । जब कुनै नेताले सत्य देख्दादेख्दै पनि नेतृत्वको डरले वा पद गुम्ने भयले प्रश्न गर्न सक्दैन, ऊ वास्तवमा एउटा वैचारिक पिँजडामा कैद भएको मानिन्छ ।

यही पृष्ठभूमिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई हेर्दा यसले नेपाली राजनीतिमा एउटा नयाँ र गम्भीर बहसको ढोका खोलेको छ । यो बहस नेतृत्वको परिवर्तन वा नीतिगत छलाङका बारेमा मात्र होइन, बरु एमालेका बौद्धिक अनुहार मानिने प्रदीप ज्ञवालीको अनौठो ब्याक-स्टेपमा केन्द्रित छ । ज्ञवालीले आफूलाई उपमहासचिवबाट सिधै केन्द्रीय सदस्यमा झारेर जुन त्याग को सन्देश दिन खोजेका छन् त्यसलाई बाहिरबाट हेर्दा एउटा ठूलो विद्रोह जस्तो देखिए पनि गहिराइमा पुगेर हेर्दा यो विद्रोह नभएर एउटा सुरक्षित पिँजडा भित्रकै छटपटी र कार्यकर्तामाझ सेन्टिमेन्ट बटुल्ने दाउपेच मात्र देखिन्छ ।

प्रदीप ज्ञवालीको यो कदमलाई रोबर्ट मिचेल्सको अल्पतन्त्रको फलामको नियमको आलोकमा सजिलै बुझ्न सकिन्छ । यो सिद्धान्तले भन्छ- लोकतान्त्रिक भनिएका दलहरूमा पनि शक्ति अन्ततः एक सीमित घेरा वा व्यक्तिको हातमा केन्द्रित हुन्छ, जहाँ योग्य भनिएका पात्रहरू पनि नेतृत्वको कोपभाजनमा पर्ने डरले मौन बस्छन् । ज्ञवालीले महासचिवमा आफ्नो दाबी भए पनि उम्मेदवारी नदिनुले एमालेभित्र यही अल्पतन्त्रको दबाबलाई पुष्टि गर्छ ।

ज्ञवाली अहिले यस्तो दोसाँधमा छन् जहाँ उनी न त बाको छहारी छोड्न सक्छन्, न त त्यहाँभित्रको गुट तन्त्र र उपेक्षा सहेर बस्न नै । ईश्वर पोखरेलको महाधिवेशन पछिको धन्यवाद भेलाले उनको मनमा जुन जलन पैदा गर्‍यो, त्यो केवल पद नपाउनुको पीडा मात्र होइन, बरु आफू उपयोग मात्र भइएको बोधपछिको छटपटी हो ।

यदि उनी साँच्चै विद्रोही हुन्थे भने, नेतृत्वले गरेको प्रस्ताव चित्त नबुझ्दा कार्यकर्ता र प्रतिनिधिहरूको बीचमा गएर आफ्नो एजेन्डा र योग्यता परीक्षण गराउन सक्थे । तर, नेतृत्वको आशीर्वादबिना आफ्नो राजनीतिक अस्तित्व असुरक्षित देख्दा उनले राजनीतिक आत्मसमर्पणको बाटो रोजे । बाहिर हेर्दा यो पदप्रतिको आशक्ति नभएको जस्तो देखिए पनि गहिराइमा यो विद्रोह गर्न नसक्ने विवशता र पिँजडाभित्रै सुरक्षित भविष्य खोज्ने दाउपेच मात्र हो कि भन्ने कार्यकर्ताहरूको बुझाइ छ ।

प्रदीप ज्ञवालीले महाधिवेशनको हलमा आफूलाई उपाध्यक्ष पदको प्रस्ताव आउँदा अस्वीकार गरे । उनले महासचिव पदमा आफ्नो दाबी रहेको र त्यो नपाए पदै नलिने अडान राखे तर, प्रश्न यहाँनेर उठ्छ यदि उनी साँच्चै विद्रोही थिए भने उनले महासचिव पदका लागि निर्वाचनमा उम्मेदवारी किन दिएनन् ? एमालेको विधानले उनलाई उम्मेदवारी दिन रोकेको थिएन । लोकतान्त्रिक अभ्यासमा नेतृत्वले गरेको प्रस्ताव चित्त नबुझे कार्यकर्ता र प्रतिनिधिहरूको बीचमा गएर आफ्नो एजेन्डा र योग्यता परीक्षण गर्ने बाटो खुला थियो । तर, ज्ञवालीले त्यो बाटो रोजेनन् । उनले ओलीको प्यानल बाहिर गएर उम्मेदवारी दिने साहस देखाउन सकेनन् ।

यसले के प्रस्ट पार्छ भने ज्ञवाली अझै पनि केपी ओलीको आशीर्वाद विना आफ्नो राजनीतिक भविष्य असुरक्षित देख्छन् । बाहिर विद्रोहको अभिनय गरे पनि भित्र उनी अझै ओलीकै पिँजडाभित्र कैद छन् । यो कुनै क्रान्तिकारी विद्रोह थिएन, बरु यो त राजनीतिक सुरक्षा खोज्ने एउटा सेफ एक्जिट थियो । पिँजडाभित्रै बसेर पनि अलि बढी स्पेस खोज्ने प्रयास मात्र थियो ।

ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर सर्वाधिक मत ल्याउनुलाई उनको लोकप्रियताको प्रमाण मानिएको छ । तर, यो कार्यकर्ताको मनोविज्ञानसँग खेलिएको एउटा भिक्टिम कार्ड (पीडित भएको देखाउने कला) पनि हो । जब उनले पद त्यागेको घोषणा गरे, कार्यकर्तामा उनीप्रति एउटा सहानुभूति पैदा भयो । बिचरा ! यति राम्रो नेतालाई ओलीले अन्याय गरे भन्ने मनोविज्ञान कार्यकर्तामा पर्‍यो । यो सहानुभूतिलाई उनले मतमा बदल्न सफल भए । तर, राजनीति केवल मत बटुल्नका लागि मात्र होइन, नेतृत्व लिनका लागि पनि गरिन्छ ।

ज्ञवालीले कार्यकर्ताको मत त पाए, तर ती कार्यकर्ताको भरोसा र आशालाई नेतृत्वमा रूपान्तरण गर्न उनी चुके । उनले आफूलाई पपुलर त बनाए, तर पावरफुल बनाउने आँट गरेनन् । कार्यकर्ताले उनलाई भोट दिएर जिताउन सक्छन् ,तर उनले कार्यकर्तालाई नेतृत्व दिनका लागि ओलीको घेरा तोड्न सकेनन् । ज्ञवालीले सधैँ आफूलाई ओलीको सबैभन्दा वफादार सिपाहीका रूपमा प्रस्तुत गर्दै आएका छन् । चाहे संसद् विघटनको बचाउ गर्दा होस् वा पार्टीभित्रको अन्तर द्वन्द्वमा ओलीको ढाल बन्दा, उनी अग्र पङ्क्तिमा थिए । ११औँ महाधिवेशनमा उनले जुन असन्तुष्टि देखाए, त्यो केवल मलाई किन पद दिइएन ? भन्ने गुनासो मात्र थियो ।

यदि उनी सिद्धान्त र विचारका लागि लड्ने विद्रोही हुन्थे भने उनले पार्टीभित्रको व्यक्तिवादी हाबी र गुट तन्त्र विरुद्ध वैचारिक दस्ताबेज नै पेस गर्नुपर्थ्यो । तर, उनको असन्तुष्टि पदको बाँडफाँटमा मात्र सीमित रह्यो । उनी अझै पनि बाको इच्छा विपरीत जान नसक्ने विवशतामा रहेको देखाउँछ ।

यो महाधिवेशनमा ज्ञवालीको भूमिकालाई विश्लेषण गर्दा यसलाई सेरेमोनियल विद्रोह भन्न सकिन्छ । उनले बाहिर प्रचार यस्तो गराए कि उनी ठूलो अन्यायमा परेका छन्, तर भित्र उनी ओलीको साम्राज्यलाई चुनौती दिने कुनै पनि कदम चाल्न तयार थिएनन् । यो शैलीले एमालेभित्र एउटा गलत नजिर स्थापित गरेको छ । अब जो कोही नेताले पनि नेतृत्वको चाकरी गरेर पद पाउने सम्भावना नदेख्दा त्यागी बनेर कार्यकर्ताको सहानुभूति बटुल्ने र अर्को पटकका लागि बार्गेनिङ गर्ने रणनीति बनाउन सक्छन् । ज्ञवालीको यो कदमले एमालेलाई वैचारिक रूपमा बलियो बनाउँदैन, बरु नेतृत्वप्रतिको अन्ध भक्ति र भित्री रूपमा रहने कुण्ठालाई मात्र प्रश्रय दिन्छ ।

यदि उनी साँच्चै विद्रोही हुन्थे भने, नेतृत्वले गरेको प्रस्ताव चित्त नबुझ्दा कार्यकर्ता र प्रतिनिधिहरूको बीचमा गएर आफ्नो एजेन्डा र योग्यता परीक्षण गराउन सक्थे । तर, नेतृत्वको आशीर्वादबिना आफ्नो राजनीतिक अस्तित्व असुरक्षित देख्दा उनले राजनीतिक आत्मसमर्पणको बाटो रोजे ।

प्रदीप ज्ञवाली आज केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउने नेता त बनेका छन्, तर उनको राजनीतिक कद भने संकूचित भएको छ । उनले देखाएको विद्रोहमा न त वैचारिक स्पष्टता थियो, न त नेतृत्व लिने साहस । उनले रोजेको पदमा उम्मेदवारी दिन नसक्नु र ओलीले दिएको पद पनि नस्विकार्नुले उनलाई दुविधामा रहेको नेताको रूपमा साबित गरिदिएको छ ।

ज्ञवाली अझै पनि केपी ओलीको पिँजडाभित्रै छन् । फरक यति मात्र हो कि उनी अहिले त्यो पिँजडाको झ्यालबाट बाहिरका कार्यकर्तालाई हेर्दै आफ्नो लोकप्रियताको हिसाब गर्दैछन् । तर, इतिहासले ती नेतालाई मात्र सम्झिन्छ जसले पिँजडा तोडेर खुल्ला आकाशमा उड्ने आँट गर्छन् । ज्ञवालीले पिँजडाभित्रै सुरक्षित रहने बाटो रोजेर आफूलाई एक सीमित खेलाडी मा खुम्च्याएका छन् । भोलिका दिनमा एमालेको राजनीतिमा उनको यो कदमलाई महान् त्याग भनिनेछ कि कमजोर आत्मसमर्पण ? यसको फैसला समयले गर्नेछ, तर वर्तमानमा उनको यो विद्रोह केवल कार्यकर्ता रिझाउने एउटा कुशल दाउपेच बाहेक अरू केही देखिँदैन ।

प्रदीप ज्ञवालीको यो कदम कुनै महान् विद्रोह होइन, बरु पिँजडाभित्रै बसेर देखाइएको एउटा कलात्मक असन्तुष्टि मात्र हो ।  एमालेलाई आज सहानुभूति बटुल्ने पीडित नेता होइन, नेतृत्वलाई प्रश्न गर्ने र विधि स्थापित गर्ने साहसी नेता चाहिएको छ । दुर्भाग्यवश, प्रदीप ज्ञवालीले त्यो साहस देखाउन सकेनन् । एमालेलाई आज सहानुभूति बटुल्ने पीडित पात्र होइन, बरु नेतृत्वको स्वेच्छाचारितालाई प्रश्न गर्ने र संगठनमा विधिलाई पुनर्जीवित गर्ने साहसी नायक चाहिएको छ ।

अन्त्यमा, ज्ञवाली अहिले यस्तो दोसाँधमा छन् जहाँ उनी न त बाको छहारी छोड्न सक्छन्, न त त्यहाँभित्रको गुट तन्त्र र उपेक्षा सहेर बस्न नै । ईश्वर पोखरेलको महाधिवेशन पछिको धन्यवाद भेलाले उनको मनमा जुन जलन पैदा गर्‍यो, त्यो केवल पद नपाउनुको पीडा मात्र होइन, बरु आफू उपयोग मात्र भइएको बोधपछिको छटपटी हो ।

पिँजडाको झ्यालबाट बाहिरको संसार हेर्दै लोकप्रियताको हिसाब गर्नु र वास्तविकतामा शक्तिहीन हुनुको यो विरोधाभास नै आजको प्रदीप ज्ञवालीको राजनीतिक चित्र हो । जबसम्म उनले यो छटपटीलाई पिँजडा तोड्ने साहसमा बदल्दैनन्, तबसम्म उनी एमालेको इतिहासमा एक बौद्धिक तर विवश पात्रका रूपमा मात्र सीमित रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *