समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर । समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन् । उनीहरू अनुभवका खानी र इतिहासका जीवित साक्षी पनि हुन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका १०८ वर्षीय भौना डगौरा यसको एउटा ज्वलन्त उदाहरण हुन् । विसं १९७४ मा जन्मिनुभएका डगौराले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका धेरै उतारचढावलाई नजिकबाट नियालेका छन् ।

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले डगौराको घरमै पुगेर उनलाई सम्मान गरिन् । सम्मान प्राप्त गरेपछि उनी निकै उत्साहित देखिन्थे । नगरपालिकाकै सबैभन्दा बढी उमेर पुगेका नागरिकका रूपमा सम्मानित हुन पाउँदा उनले ‘नगरमा जनप्रतिनिधि भएको अनुभूति’ भएको प्रतिक्रिया दिए ।

भौना डगौराको जीवनकथा सुन्दा कुनै ऐतिहासिक चलचित्रको वृत्तान्त सुनेझैँ लाग्छ । उनले देशमा राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा देखेका छन् ।

विशेषगरी, सहिद भीमदत्त पन्तले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा चलाएको किसान विद्रोहलाई उनले नजिकबाट नियालेका मात्र छैन, त्यसको पीडा र गर्वलाई पनि महसुस गरेका छन् । उनका आफ्नै जेठा दाजुले उक्त क्रान्तिमा होमिएर सहादत प्राप्त गरेका थिए । डगौरा भन्छन्, “सबैभन्दा राम्रो व्यवस्था लोकतन्त्र आएपछि हुन्छ भन्थे, अहिले आफ्नै आँगनमा सरकार आइपुग्दा खुसी लागेको छ ।”

एक सय आठ वर्षको उमेरमा पनि भौना डगौराको सक्रियता लोभलाग्दो छ । उनी अझै पनि ‘ठमठमी’ हिँडडुल गर्छन् र नित्य कर्महरू आफैँ गर्छन् । उनको यो दीर्घायु र स्वास्थ्यको पछाडि घरपरिवारको अथाह माया र स्नेह रहेको उनी स्वीकार्छन् ।

“घरपरिवारबाट निकै स्नेह पाइरहेकाले यति वर्षसम्म बाँच्न पाएकामा मलाई गर्व छ”, डगौराले मुस्कुराउँदै भने । ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्व सम्मान ग्रहण गर्ने क्रममा डगौराले समाजमा बढ्दै गएको तीतो अनुभव उपप्रमुख पन्तसमक्ष पोखे ।

नगर उपप्रमुख पन्तले डगौराका साथै नगरका अन्य दुई १०७ वर्षीय ज्येष्ठ नागरिक, नगरपालिकाको वडा नं ५ का कलावतीदेवी भट्ट र जयन्तीदेवी भट्टलाई पनि घरमै पुगेर सम्मान गरेकी छन् । नगरपालिका ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सधैँ तत्पर रहने प्रतिबद्धता उनले गरिन् ।

“ज्येष्ठ नागरिकहरू ज्ञानका भण्डार हुन्”, उनले भनिन्, “उहाँहरूले भोगेको समय र सङ्घर्षले नयाँ पुस्तालाई मार्गदर्शन गर्छ ।” “भौना डगौराजस्ता व्यक्तित्वहरूलाई घरदैलोमै पुगेर सम्मान गर्नुले पुराना सङ्घर्ष र इतिहासको रक्षा हुन्छ”, नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले भनिनन्, “वृद्धवृद्धालाई सम्मान गर्ने संस्कारको विकास हुन्छ, राज्यको उपस्थितिः दुर्गमका ज्येष्ठ नागरिकले पनि राज्य मेरो साथमा छ भन्ने महसुस गर्छन् ।”

“समाजका ज्येष्ठ अभिभावकहरूको उचित हेरचाह र संरक्षण गर्नु नै सभ्य समाजको पहिचान हो”, उनले भनिन्, “नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई लाभ पुग्नेगरी योजना तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आतुर छौँ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *