
चितवन । देशभित्र मात्रै होइन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र देवघाट धामलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास समितिले अभियान चलाएको छ ।
चितवन, तनहुँ र पूर्वी नवलपुरको क्षेत्रमा पर्ने धार्मिक स्थल देवघाट धाममा प्लास्टिकजन्य पदार्थका कारण प्रदूषण बढ्दै गएपछि समितिले तीन वटै जिल्लाका सम्बन्धित स्थानीय तहसँग समन्वय गरी यो अभियान सुरु गरेको छ ।
पुस ११ गते शुक्रबार प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको देवघाट क्षेत्र विकास समितिले प्लास्टिक मुक्त क्षेत्र बनाउने तयारी गरे पनि सम्भव नहुने भएकोले तत्काल प्लास्टिक निषेधित क्षेत्रको रूपमा अभियान चलाउने तयारी गरेको हो ।
देवघाटको त्रिवेणीमा स्नान गर्न भक्तजन जाने गर्छन् । भने, देवघाट मानिसहरूको दाहसंस्कार गर्ने घाट पनि हो । यहाँ दैनिक २० वटाको हाराहारीमा शव जलाउने गरिएको तथ्याङ्क देवघाट क्षेत्र विकास समितिसँग छ । शव जलाउँदा प्रयोग गरिने प्लास्टिकजन्य पदार्थ तथा ब्लेड फोहोरको प्रमुख स्रोतको रूपमा रहेको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार फोहोरको प्रकृति अनुसार विसर्जन गर्ने बिनहरू ठाउँ ठाउँमा राखिएको, दाहसंस्कार स्थलमा ब्लेड राख्ने ब्लेड बिन, मेटल बिन लगायत राखिएको, ठाउँ ठाउँमा सूचना बोर्ड तथा नियमित रूपमा प्रसारण भइरहने गरी जनचेतनामूलक सफाइ सन्देशहरू बजाइएको जानकारी दिए ।
देवघाट क्षेत्र विकास समिति गठन आदेशले बन्ने समिति हो । यसले फोहोर फाल्न रोक लगाउन कार्यविधि बनाउन सक्दैन । न त फोहोर दीर्घकालीन व्यवस्थापनको लागि समितिसँग कार्य योजना नै छ । अहिले समिति, तीन स्थानीय तहको नैतिक समर्थन र अन्य विभिन्न गैरसरकारी संस्थाको साथले मात्रै यो अभियान अघि बढेको हो ।

समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारी फोहोर व्यवस्थापन पूर्ण रूपमा अहिले नै हुन्छ भन्ने नभए पनि मानिसलाई प्लास्टिक नबोकी देवघाट जाने बानी पार्ने र पछि प्लास्टिक जन्य पदार्थ देवघाट लैजान हुँदैन भन्ने सन्देशको लागि अभियान थालिएको बताउँछन् ।
देवघाट धाममा माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । नेपाल मात्रै नभएर छिमेकी देशहरूबाट समेत भक्तजनहरू स्नान गर्न आउने गर्दछन् । उनीहरू प्लास्टिकजन्य झोला तथा अन्य प्याकेजिङका सामाग्री लिएर आउने गर्दै आएका छन् । स्थानीय व्यवसायीहरूले पनि प्लास्टिकमा राखेर सामानहरू बिक्री वितरण गर्दै आएका छन् ।
तर, समितिले भने धार्मिक गन्तव्यको रूपमा रहेको यो क्षेत्रमा ४० माइक्रोनभन्दा पातलो झोला लिएर देवघाट जान नपाउने भनेको छ । अभियानको रूपमा निषेधित क्षेत्र घोषणा गर्न लागिए पनि तत्काल पूर्ण सफल हुने नहुने भन्नेमा समिति पनि अन्यौलमा छ ।
हामीलाई यो अभियान चुनौतीपूर्ण त छ, अध्यक्ष लौडारीले भने- तर, दीर्घकालीन सफाइको लागि यो अभियान आवश्यक छ । हामी स्थानीय तहहरूसँग एकल र संयुक्त छलफल पछि पनि यो अभियान अघि बढाउन तयार भएका हौँ ।
समितिका अनुसार देवघाटको क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरले सफाइ निर्देशिका बनाइसकेको छ । भने गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाले पनि निर्देशिका जारी गर्ने वचन दिएको छ । उनीहरूको निर्देशिका पनि संयुक्त अभियानको रूपमा अझ प्रभावकारी काम गर्न सम्भव हुने उनको भनाइ छ ।
समितिले फोहोर मैला व्यवस्थापनको लागि अनुगमन समिति पनि निर्माण गरेको छ । समितिका सदस्य चन्द्रमित्र पण्डितको संयोजकत्वमा रहेको समितिले अनुगमन गर्ने गरी संयन्त्र बनाएको समितिले जनाएको छ ।
अनुगमन समिति संयोजक पण्डितका अनुसार देवघाट क्षेत्रमा सबैभन्दा धेरै फोहोर संकलन हुने क्षेत्र दाहसंस्कार गर्ने क्षेत्रमा हो । तर, पछिल्लो समय मानिसहरूले कपडा, ब्लेड, प्लास्टिक लगायतका फोहोर बिनमा राख्न थालेको र समितिको कर्मचारीले पनि सफाइको काम गरिरहेको दाबी गरे ।

Leave a Reply