
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच आज करिब अढाई घण्टा लामो वार्ता भयो । प्राय पत्रकारसँग खुलेर बोल्ने लामिछानेले आज ठोस प्रतिक्रिया दिन चाहेनन् ।
यसअघि गत मङ्गलवार राति उनीहरू ६ घण्टा लामो वार्तामा बसेका थिए । वार्तापछि आफूहरू एक भएको सन्देश जानेगरी राति साढे एक बजे एउटै गाडीमा सवार भएर बाहिरिए । उक्त तस्बिरले एक प्रकारको तरंग नै ल्यायो । अहिलेको समयका सर्वाधिक लोकप्रिय दुई युवा नेताबीच सहयात्रा सुरु भएको ठानेर परम्परागत राजनीतिक शक्तिहरू झस्किएका थिए ।
तर, सो भेटघाट सौहार्दपूर्ण रहे पनि परिणाममुखी भने बनेको थिएन । दुवै नेताहरूले पहिलो पटक धक फुकाएर कुराकानी गरेका थिए । राजनीतिक विषयवस्तुमा भने कुनै सहमति जुट्न सकेको थिएन । यद्यपि, संवादलाई लगातार जारी राख्नेमा उनीहरू सहमत बनेका थिए ।
तर, त्यसको भोलिपल्टैबाट स्थितिमा बदलाव देखियो । रवि आफ्नो मुद्दाको तारेख धाउन यता र उति हिँडिरहँदा बालेन भने आफ्नो बेग्लै शक्ति निर्माणमा लागे । रविबाट ठोस प्रस्ताव नआएकाले आफ्नो बेग्लै तयारी गर्नुपरेको बालेन निकटस्थहरूको भनाइ थियो ।
बालेनले चुनावपछि देशको प्रधानमन्त्री बन्ने सपना देखेर रास्वपासित मिल्ने मुड बनाएका हुन् । रास्वपाको बालेननिकट एउटा समूहले रविलाई यसमा मनाउन पहल गरिरहेको छ । तर, रवि स्वयम् भने कन्भिन्स्ड छैनन् । कानूनले वाधा नगरेमा चुनावपछि आफैँ प्रधानमन्त्री बन्ने उनको चाहना छ ।
बालेन–रवि र कुलमान घिसिङ मिल्दा बलियो शक्ति निर्माण भएर चुनावमा बहुमत ल्याउन सकिने आँकलन थियो । तर, यदि उनीहरू तीनैजना अलगअलग भएर लडेको खण्डमा भोट बाँडिएर परम्परागत शक्तिहरूलाई फाइदा पुग्ने निश्चित छ । त्यसैले अहिले पनि आ–आफ्नो अडान छोडेर मिल्नैपर्ने बाध्यतामा उनीहरू छन् ।
प्रायः राजनीतिक भेटवार्तामा रुचि नराख्ने बालेन अस्तिबाट एकाएक सक्रिय बनेका हुन् । उनले कट्टर राजावादीदेखि कडा गणतन्त्रवादीसम्मलाई बोलाएर भेटिरहेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई बालेनले बोलाएर भेट्नु अर्थपूर्ण थियो । उनले शाहीसँग युवाहरू मिल्नुपर्ने प्रस्ताव राखेका थिए ।
रास्वपासँग सहकार्यको च्याप्टर बन्द गरेर बालेन आफ्नो शक्ति निर्माणमा लागेका भने होइनन् । उनको यो ‘प्लान बी’ हो । यदि रास्वपासँग कुरा मिलेन भने अर्को तयारी गरिरहेका हुन् । सार्थै, आफ्नो बार्गेनिङ पावर बढाउनका लागि पनि हो भन्ने स्रोतका दाबी छ ।
स्रोतका अनुसार बालेनले व्यक्तिगत तवरबाट भन्दा पनि संस्थागत हिसाबले रास्वपासँग डिल गर्न चाहेका छन् । आफूसँग कुनै राजनीतिक दल भएमा ‘पार्टी प्रवेश’ भन्दा ‘एकता’ को मोडालिटीमा जान सकिने उनको बुझाइ छ । उनले निर्वाचन आयोगमा आफू निकटस्थमार्फत देश विकास पार्टी नामक एउटा दल दर्ता गराइराखेका थिए । सोही दललाई अहिले प्रयोग गरेका हुन् ।
रास्वपा स्रोत भन्छ, ‘उहाँ (बालेन) ले आफैँ पार्टी चलाउन लागेको देखाएर रास्वपालाई झस्काउन र दबाब महसुस गराउन खोज्नुभएको हुन सक्छ ।’
नभन्दै रवि लामिछानेले दबाब महसुस गरे । त्यसैले उनी आज फेरि वार्ताका लागि बालेनले भनेकै ठाउँमा गए । आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर आलोपालो विभिन्न व्यक्तिहरूलाई भेट दिइरहेका बालेनले रविलाई पनि त्यहीँ झिकाउन सफल भए ।
स्रोतका अनुसार आजको वार्तामा पनि ठोस निष्कर्ष केही निस्किएको छैन । वार्ता सफल वा विफल दुवै भइरहेको छैन । दुवैले एक-अर्कालाई जाँचिरहेको र दबाबमा पार्न खोजिरहेको अवस्था छ । बालेनले यति छोटो समयमा छुट्टै पार्टी बनाएर चुनाव लड्न सहज अवश्य छैन । त्यसैले उनी बढी दबाबमा छन् । भावी प्रधानमन्त्रीमा आफूलाई प्रोजेक्ट गर्न रास्वपा तयार भएमा मिल्ने उनको मुड छ ।
यता रास्वपालाई पनि मनोवैज्ञानिक त्रास छ । यदि बालेनले पार्टी बनाएर चुनाव लडे भने सबैभन्दा बढी नोक्सानी रास्वपालाई नै हुन सक्छ । त्यही भएर मिल्नुपर्छ भन्नेमा रास्वपाका धेरै नेताहरू छन् । रास्वपालाई पनि समयको चाप छ । आउँदो १३ र १४ पुसमा समानुपातिकतर्फ बन्द सुची पेश गरिसक्नुपर्छ । रास्वपाले अहिले समानुपातिकका लागि प्राइमरी इलेक्सन प्रक्रिया अघि बढाइसकेको छ । यदि बालेन र कुलमानसँग सहमति भएको खण्डमा समानुपातिक उम्मेदवारहरू तीन भाग लाउनुपर्ने हुन्छ । त्यसका लागि गृहकार्य गर्न समय निकै थोरै छ ।
बुझिएअनुसार अहिले गाँठो परेको भनेको भावी प्रधानमन्त्री को बन्ने भन्ने नै हो । ‘नानी पाउनु कहिले कन्दनी बाट्नु अहिले’ चुनावमा बहुमत आउला नआउला, को प्रधानमन्त्री बन्ने भन्नेमा कुरा अड्किएको देखिन्छ ।

Leave a Reply