
काठमाडौं । थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ ।
सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो ।
छिमेकी दुई देशबीच दुई हप्ताभन्दा बढी सैन्य झडपपछि सो मूर्ति ध्वस्त भएको थियो । कम्बोडियाका अधिकारीहरूले यसमा आपत्ति जनाए । प्रेह विहार प्रान्तीय प्रवक्ताले मूर्ति सन् २०१४ मा निर्माण भएको र सोमबार हटाइएको बताए ।
थाई सरकारले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता गरिएको नभई केवल सजावटी तत्वको रूपमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ-, ‘अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो ।’
सो मूर्ति ध्वस्त पारिएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । गुगल नक्सा अनुसार मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटर टाढा रहेको थियो ।
यो क्षेत्र लामो समयदेखि सीमा द्वन्द्वको केन्द्र रहँदै आएको छ । यस महिनामा सुरु भएको पछिल्लो झडपमा थाइल्यान्डमा २३ जना सैनिक र कम्बोडियामा २१ नागरिकको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै विवाद नियन्त्रणमा राख्न सरकार सक्रिय रहेको बताए ।

Leave a Reply