
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह प्रत्यक्ष राजनीतिमा होमिने अन्तिम तयारीमा छन् । वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्दै आसन्न निर्वाचनमा होमिने तयारीका साथ मेयर शाहले विभिन्न वैकल्पिक शक्तिहरूसँग घनीभूत छलफल गरिरहेका छन् ।
आज मात्रै रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरे लगत्तै मेयर शाहले काउन्सिल अफ जेनजीका संयोजक सुधन गुरुङ र प्रदेश संयोजकहरूसँग छलफल गरेका छन् । ललितपुरस्थित मेयर शाह निकट व्यक्ति कुमार बेनको घरमा छलफल भएको हो ।
कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङले मेयर शाहलाई सोधे, ‘संघीयताप्रति तपाईँको धारणा के हो ?’ मेयर शाहलाई उदृत गर्दै चाम्लिङले भने, ‘उहाँ (बालेन)ले आफू संघीयता पक्षधर नै रहेको र संघीयता विरोधी भनेर बजारमा चलेको हल्लाप्रति अनभिज्ञता प्रकट गर्नुभयो ।’
मेयर शाहले सबै जेनजीहरु एक ठाउँमा आउनुपर्ने धारणा राखेका थिए । तर, संंघीयता विरोधी जेनजीहरुसँग एक ठाउँमा उभिन नसक्ने निर्णय आफूहरूले सुनाएको चाम्लिङको भनाई छ । आउँदो फागुन २१ मा हुने निर्वाचनमा सबै वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर चुनावी मैदानमा जानुपर्ने मेयर शाहको धारणा थियो ।
छलफलकै क्रममा ‘धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग के गर्ने ?’ भन्ने प्रश्न पनि उठेको थियो । मेयर साम्पाङसँग बालेनले भोलि छलफल गर्ने र निचोडमा पुग्ने बताए ।

Leave a Reply