
चितवन । इण्डो-नेपाल टी-२० च्याम्पियनसिपअन्तर्गत आज भएका दुई खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र दिल्ली वण्डर्स क्रिकेट क्लब विजयी भएका छन् ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा आज दुई रोमाञ्चक खेल सम्पन्न भए ।
आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कलकताको तलतला इन्सिच्युट अफÞ क्लबलाई ९ रनले पराजित गरेको हो । २०१ रनको विशाल लक्ष्य पछ्याएको तलतला १९१ रनमा अलआउट भएपछि आर्मीले जित निकालेको हो ।
तलतलाका ब्याटर निखिलले ३७ बलमा ७७ रनको शानदार अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीका सन्तोष यादवले १५ बलमा ४२ रन साथै तीर्थ राज दासले २६ बलमा ४३ रनको विस्फोटक पारी खेलेर ८ विकेटको क्षतिमा २०० रनको योगफल तयार पारेको थियो ।
यसैगरी, आजै भएको दोस्रो खेलमा दिल्ली वण्डर्स क्रिकेट क्लबले चितवन क्रिकेट क्लबलाई ३० रनले पराजित गरेको छ । दिल्लीको जीतको लागी हर्षित सेठीले ३.३ ओभर बलिङ गर्दा २९ रन खर्चेर ५ विकेट लिए । उनको शानदार बलिङमा चितवन लाई ११२ रनमा समेटिएको थियो । उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेल बिहान साढे ९ बजे दिल्ली वण्डर्स क्रिकेट क्लब र कोलकाताको तलतला इन्स्टिच्युटबीच हुनेछ । दोस्रो खेल दिउँसो साढे एक बजे नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएल क्लबबीच हुनेछ ।

Leave a Reply