भोट हाल्न मलाई नै एक घण्टा चार मिनेट लाग्यो : ईश्वर पोखरेल

काठमाडौं । एमाले महाधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका ईश्वर पोखरेलले पार्टीभित्र परिवर्तनको आकांक्षालाई चुनावी परिणामले पूरा गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

पार्टीलाई विचार र शैलीमा पुन:व्यवस्थित गर्दै सामूहिक नेतृत्वको पद्धतिमा लैजान आफूले उम्मेदवारी दिएको उनले बताए ।

महाधिवेशनमा आज बिहानबाट सुरु भएको मतदान दिनभर चलिरहँदा बेलुकीपख पोखरेल मतदान स्थलमा आइपुगेका छन् ।

उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मतदान रातभरि चल्ने बताए । प्रतिनिधि र कार्यकर्ताहरूको उत्साह देखेर आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए ।

पोखरेलले भने, ‘लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न साथीहरू लाग्नुभएको छ । हामी यसमा खुसी छौँ ।’

क्लस्टरअनुसार मतदान गर्नुपर्ने भएकाले लामो समय लागिरहेको उनले बताए । आफूले बिहान मतदान गर्दा एक घण्टा ४ मिनेट समय लागेको जानकारी दिए ।

‘थोरैमा १२÷१५ मिनेटदेखि धेरैमा दुई घण्टासम्म लागिरहेको सुन्दै छु । मलाई नै एक घण्टा ४ मिनेट लाग्यो,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *