सहारा नेपाल सहकारीको मुनाफा ३२ करोड

विराटनगर । झापाको बिर्तामोडमा मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ३२ करोड पाँच लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा सो मुनाफा आर्जन गरेको हो।

सहारा नेपालमा शेयर पुँजी एक अर्ब ६९ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोष एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ रहेको सस्थाका अध्यक्ष हरिबहादुर राजबंशीले बताए । त्यस्तै बचत १४ अर्ब १५ करोड ७६ लाख रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको जनाइएको छ । ०८२ असार मसान्तसम्मको संस्थाको वासलात १८ अर्ब ५६ करोड ५८ लाख रहेको छ । संस्थामा हाल एक लाख ९२ हजार दुई सय ४० जना शेयर सदस्य रहेका छन् ।

कोशी प्रदेशका छ जिल्लामा ८० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको सहारा नेपाल साकोसको वित्तीय अवस्था अत्यन्त मजबुत रहेको प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।

गिरीले भने, ‘सहकारीप्रतिको नकारात्मक धारणाका बिच पनि सहाराले हासिल गरेको सफलताले मुलुकको सहकारी अभियानको विरासत जोगाउनमा टेवा पुगेको छ ।’

संस्थाले आफ्नो वित्तीय। अवस्थालाई मजबुत बनाउने सोच अनुरूप ०८५ सम्ममा २५ अर्बको वासलात बनाउने लक्ष्य समेत तय गरेको छ । संस्थाले ०८३ असार मसान्तभित्रमा दुई लाख २५ हजार शेयर सदस्य पुर्‍याउने, २० अर्बको वासलात बनाउने र ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१/०८२मा विभिन्न शीर्षकमा ११ करोड ३६ लाख ५५ हजार दुई ८७ रुपैयाँ कर तिरेको छ । त्यस्तै सदस्यहरूको सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधा कार्यक्रममा २६ करोड १७ लाख ६३ हजार एक सय ६८ रुपैयाँ खर्च गरेको र आठ हजार छ सय ८५जना सदस्यलाई उक्त सुविधा प्रदान गिरीले बताए ।

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इनरुवाको निर्देशन बमोजिम ७ वटा एकाई अन्तर्गत ८६ स्थानमा उप इकाई भेला पुस १ गते देखि १२ गतेसम्म सम्पन्न गर्दै प्रतिनिधिमूलक ढङ्गबाट सदस्यहरूलाई अन्तिम माइन्यूट प्रमाणीकरण सभामा सहभागिता गराइने जनाइएको छ । संस्थाले ०८२/०८३ आषाढ मसान्तभित्रमा २ लाख २५ हजार सदस्य र २० अर्बको वासलात बनाउँदै ४२ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *