
रुपन्देही । बुधबार बिहानैबाट पश्चिम तराईका क्षेत्रहरुमा हुस्सु लागेसँगै यो क्षेत्रको जनजीवन प्रभावित हुन थालेको छ केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ ।
हुस्सु–कुहिरोले खासगरी भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा भिजिबिलिटी कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।
यस्तै, कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ ।
दिउँसोपख हुस्सु कुहिरो क्रमशः घट्दै जाने मौसमविद महर्जन बताउँछिन् । मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बिहानैदेखि हुस्सु बढेकाले अहिलेसम्म कुनै विमान आवतजावत गर्न नसकेको जनाए । ‘बिहानैदेखि बढी हुस्सु लागेको छ, हिजो बिहान अलिकति भएपनि दिउसो घाम लागेको थियो तर आज त १० बजेसम्म २ सय मात्रै भिजिबिलिटी पुगेको छ, सबै उडान प्रभावित बनेको छ’ उनले भने ।

Leave a Reply