हलबाट ‘अभिमन्यु’ को १० दिनको कमाइ मात्र २१ लाख, निर्माता भन्छन्– युट्युवमा चल्छ

काठमाडौं । उधौलीको अवसर पारेर मंसिर १८ गतेबाट प्रदर्शन आएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ को १० दिनको बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डले आज, यो चलचित्रको २०८२ साल मंसिर २७ गते राति ११ बजेर ५९ मिनेटसम्मको आधिकारिक टिकट बिक्रीसहित आम्दानी विवरण सार्वजनिक गरेको हो। विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ‘अभिमन्यु च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा २१ लाख १० हजार २०५ नेरु ग्रस कमाइ गरेको छ। प्रदर्शन भएको १० दिनमा यो चलचित्रको मात्र ६ हजार ६८६ टिकट बिक्री भएका छन।

यो चलचित्रलाई निर्माता विनोद पौडेलले निर्माण गरेका हुन। पौडेल अलटाइम ब्लकबष्टर चलचित्र ‘पुर्णबहादुरको सांरगी’ का निर्माता हुन। ‘पुर्णबहादुरको सांरगी’ ब्लकबष्टर भएपछिको यो उनको पहिलो प्रोजेक्ट हो। उनले लगभग २ करोड खर्च गरेर अभिमन्यु बनाएका थिए।

तर अलटाइम ब्लकबष्टर चलचित्र बनाएका पौडेलको यो चलचित्रलाईे भने लगानी उठाउन पनि मुस्किल परेको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा पनि चलचित्रको वर्ड अफ माउथ शुन्य बराबर छ। कति हलबाट यो चलचित्रको शो नै हटिसकेका छन। केही दिन यस्तै माहोल रहे यो चलचित्रको बाँकी रहेका शो पनि कटौती हुनेछ र चलचित्र सुपर फ्लपमा गनिनेछ।

तर पौडेल यो कुरालाई गम्भीर विषयको रुपमा लिदैनन। चलचित्रले जस्तो व्यापार गरेपनी अभिमन्युको च्याप्टर २ बनाउने उनको अठोट छ। अभिमन्यु सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्र हो। यो जनरामा बनेको नेपाली चलचित्रले खासै दर्शक तान्न सकेको रेर्कड छैन।

बलिउड–हलिउडका सस्पेन्स थ्रिलर चलचित्रप्रति नेपाली दर्शकको चासो देखिएपनि, नेपाली सस्पेन्स थ्रिलर चलचित्रमा भने दर्शकको खासै रुचि देखिदैन। यो कुरालाई नर्माता पौडेल स्वयंम पनि स्विकार्छन। उनी भन्छन,‘यो जनराले त्यति दर्शक तान्दैन। यो भनेको लगभग १८ देखि ४५ वर्ष उमेर समुहलाई कभर गर्ने जनरा हो। यो जनरामा न मान्छेको खासै रुचि छ, न यो जनराले नेपालमा काम गरेको रेकर्ड नै छ। हामीले मात्र कथाले जे माग्यो, त्यही हिसाबले अभिमन्यु बनाएका हौं।’

‘यहाँ प्राय मेकरहरु जुन जनराबाट सफलता पायो, त्यही जनरालाई समातेर त्यस्को १,२,३,४ सिक्वेल बनाएर बस्नुहुन्छ। उहाँहरू फरक ट्राइ गर्नै डराउनु हुन्छ,’उनी सुनाउँछन,‘यहाँ परिवर्तन तबसम्म हुदैन, जबसम्म केही फरक ट्राइ गरिदैन। दर्शकले कहिलेकाही फरक टेस्ट पनि खोजिरहनु भएको हुन्छ। त्यसैको परिणाम हो, अभिमन्यु।’

चलचित्र हलमा नचलेपनि आफुलाई कुनै प्रेसर नभएको पौडेल बताउँछन। आखिर दर्शक तान्नै गाह्रो हुने जनरा पौडेलले किन छाने ? झण्डै २ करोड लगानी लगाएर बनाएको चलचित्र नचले पनि उनलाई किन फरक पर्दैन ? हामीले सोधेको प्रश्नको जवाफ दिँदै उनी भन्छन,‘फिल्म जसरी पनि चल्छ। अभिमन्यु हलमा फ्लप भएपनि यो कन्टेन्ट युट्युबमा आउँछ। यो जब युट्युब र ओटिटिमा आउछ, तब दर्शकले मनपराउनुहुन्छ र डिमान्ड गर्नुहुन्छ भन्नेमा म १०० प्रतिशत ढुक्क छु। हामी हाम्रो प्रोडक्टको ग्यारेन्टी दिन्छौ। त्यहीँ आत्मविश्वासले पनि च्याप्टर २ बन्ने अनाउन्स गरेको हो।’

पौडेलले यसअघि यस्तै फरक जनरामा दुई अन्य निर्मातासँग मिलेर ‘अगस्त्य च्याप्टर १’ बनाएका थिए, जसले बक्स अफिसमा पानीसम्म भन्न पाएन। अगस्त्यका कारण उल्टै डेढ करोड घाटामा गएका थिए निर्माताहरु। यो चलचित्रको भने च्याप्टर २ नबन्ने भएको छ। फरक जनराको चलचित्र बनाउँदा उल्टै घाटा व्यहोर्नु परेको पौडेलले अहिले फेरि किन रिस्क लिए ? हामीले प्रश्न गर्यौ।

उनले भने,‘अगस्त्यको बेला धेरै टेक्निकल कुराहरू गलत भयो, त्यहीँ भएर २ बन्दैन। खासमा अहिलेकोअभिमन्यु एक भागमै बन्थ्यो तर एउटै च्याप्टरमा सबै कथा भन्न गाह्रो भयो। कि ३ घण्टाको फिल्म बनाउनुपर्यो। ३ घण्टाको सस्पेन्स थ्रीलर चलचित्रले दर्शकलाई हलमा बाधेर राख्न सक्दैन। त्यसैले पार्ट २ घोषणा गरेको हो र अभिमन्यु हलमा फ्लप भएपनि यसको च्याप्टर टु आउँछ।’

पौडेलले पशुपति प्रसादको उदाहरण दिदै सुनाए,‘पशुपति प्रसाद पनि जब बन्यो, हलमा त्यत्रो वाउवाउ भएन। तर जब पछि युट्युबमा आयो, सबैले कस्तो राम्रो फिल्म भनेर तारिफ गरे। त्यहीँ तारिफका कारण ‘पशुपति प्रसाद २–भष्मे डन’ बन्यो। कहिलेकाँही यस्तै पनि हुन्छ।’

१ फ्लप भएर २ बनाउँदा तपाइलाई के फाइदा ? उनले भने,‘फाइदा भोलि युट्युबमा चल्छ भन्ने हो। वास्तवमा हामीले कुनै पनि फिल्म बनाउनुअघि, यो फिल्मले काम गर्दैन र चल्दैन भनेर नै बनाउने हो। मेहेनत डबल गर्ने हो तर आसा जिरो राख्ने हो। रिस्क त हरेक जनरामा हुन्छ। नत्र वर्षमा बन्ने ८०,९० वटा चलचित्रमध्य हातको औंलामा गन्न मिल्ने ४,५ वटा चलचित्रमात्र किन चल्थेरु’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *