सरकार र ‘जेनजी’सम्झौता कांग्रेसले पनि नमान्ने, चुनावबाट आफ्ना मुद्दा अनुमोदन गर्न चुनौती

काठमाडौं । सरकार र जेनजी नामका केही समूहबीचको सम्झौतालाई एमालेले खारेज गरेलगत्तै कांग्रेसले पनि विमति जनाएको छ । सरकार र जेनजक ती समूह एकै पक्ष भएकाले उनीहरूको सम्झौतासँग कांग्रेसले बेवास्ता गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल प्रेससँग कुरा गर्दै राष्ट्रपतिबाट निर्वाचन गर्ने जिम्मेवारी मात्र पाएको सरकारले संविधान संशोधन गर्ने सम्झौताको कुनै अर्थ नहुने बताए । उनले त्यो सम्झौता उनीहरूकै कुरा हो भन्दै जेनजी र नागरिकको भावना अब सम्झौतामा होइन जनताको मतबाट प्रकट हुने बताए ।

डा. महतले भने- चुनाव गराउने म्याण्डेटका आधारमा असंवैधानिक हुँदा हुँदै पनि दलहरूले यो सरकारलाई मानेको हो । जनताले नयाँ म्याण्डेट दिन्छ जेनजीको भावना,नागरिक भावना जनमतको मतबाट प्रकट हुन्छ । संविधान संशोधन गर्ने कि के गर्ने हो त्यसपछि आउने संसदले गर्ने हो । अहिले सरकारले जे सम्झौता गरेको भनेको छ त्यसका लागि राज्यकै संरचनाहरू छन् हेर्ने, निष्पक्ष ढंगले कार्य सम्पादन गर्नेतर्फ क्रियाशील गराउने हो । जहाँसम्म जनआन्दोलन भनिएको छ भने उनीहरूले भदौ २३ गते विरोध प्रदर्शन भनेका हुन् । हामी भदौ २४ गतेको आगजनी र लुटपाटलाई जनआन्दोलन स्वीकार गर्दैनौँ, २३ लाई विरोध प्रदर्शन भनेका हुन्,त्यसलाई जे नाम दिए पनि भयो । सरकारले पूरा गर्न नसक्ने कुरा सम्झौतामा लेखेर के हुन्छ ?

डा. महतले कानून र संविधानमा संशोधन गर्न खोजेका कुराहरू जेनजी वा अरू समूहले जनताको म्याण्डेट लिएर आउनुपर्ने बताए । उनले त्यसका लागि दलहरू खुलिरहेको भन्दै आफ्ना मुद्दा लिएर जनतामा जान समेत आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *