
काठमाडौं । २ दिनपछि सुरू हुने नेकपा एमालेको ११औँ महाधिवेशन अहिले सर्वत्र चासो छ । भावी नेतृत्वका लागि आ-आफ्नो आकांक्षा र दाबीसहित नेताहरू दौडधुपमा व्यस्त छन् । यीनैमध्येका एक हुन् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की । कार्कीले सचिवको दाबेदारका रूपमा आफूलाई उभ्याएका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका कार्की झापाका हुन् । अहिले पार्टीको स्थायी कमिटी सदस्य छन् । अनेरास्ववियुको विभिन्न तहका कमिटीहरूको नेतृत्वदायी भूमिका क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौं, बाग्मती अञ्चल कमिटीको भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्ष बने ।
जनकपुरमा सम्पन्न एमालेको सातौँ महाधिवेशनपछि तत्कालीन महासचिव माधव नेपालले केपी ओलीनिकट नेताहरूलाई छानीछानी लखेट्ने र पार्टीमा बस्नै नसक्ने अवस्था सिर्जना गरे । नेपालको पेलानमा परेर धेरै नेताहरूले त्यस बेला एमाले छाडेका थिए । हिक्मत कार्की भने भूमिकाविहीन भएर पनि पार्टीमै बसिरहे । केपी ओलीसँग निकटहरूले लामो समय जिम्मेवारी पाएनन् । केपी ओली बिस्तारै पार्टी सत्तामा आएपछि हिक्मतहरुले पनि पार्टीमा जिम्मेवारी पाउन थालेका थिए ।
कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य भए ।
२०७४ र ७९ मा झापा क्षेत्र नं १ (१) प्रदेशसभाबाट प्रत्यक्ष निर्वाचित कार्की कोशीको स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्री भएका थिए । देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि निर्माण भएको नेकपाको केन्द्रीय कमिटी सदस्य बनेका कार्की एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।
आसन्न महाधिवेशन, उम्मेदवारी तयारीलगायतको विषयमा कार्कीसँगको कुराकानी नेपाल टकमा
– महाधिवेशन र नेतृत्वको विषयलाई लिएर तपाईँको के छ तयारी ?
महाधिवेशन नेतृत्व छनौट गर्ने पार्टीको सर्वोच्च निकाय हो । गत महाधिवेशनबाट हामीले दुईटा प्रक्रियाको थालनी गरेका छौँ । एउटा- नीति निर्माण गर्ने र विधान बनाउने अधिवेशन । अर्को- केन्द्रीय अध्यक्षदेखि सदस्य र विभिन्न निकाय छान्ने महाधिवेशन ।
अहिलेको सन्दर्भमा हामी पार्टीलाई थप एकताबद्ध बनाउने, सबैलाई समेट्ने गरी नै जान प्रयास गर्दछौँ । त्यसो हुँदा कमरेड केपी शर्मा ओलीलाई नै हामीले एकपल्ट फेरि नेतृत्वमा दोहोर्यायो भने पार्टी एकता र अहिलेको वर्तमान समसामयिक राजनीति, राष्ट्रिय राजनीतिलाई चिर्न पार्टीलाई सशक्त र दह्रो बनाउन उहाँको नेतृत्व आवश्यक छ भन्ने मेरो आम कार्यकर्ताको मान्यता भएको हुनाले हामी उहाँलाई अध्यक्षमा प्रस्ताव गर्ने, लिएर जाने, सकेसम्म सर्वसम्मत बनाउने, नसक्दा पनि विधि प्रक्रिया टुङ्ग्याएर जाने सोचमा छौँ ।
– तपाईँको दाबी केमा हो त ?
यो प्रश्न स्वाभाविक रूपले उठ्छ नै । म अहिले पार्टी स्थायी कमिटी सदस्यको रूपमा क्रियाशील छु । यो पार्टीमा ४३ वर्षभन्दा बढी निरन्तर योगदान गरेको छु । मुख्यमन्त्रीको भूमिका पनि मैले सफलतापूर्वक नै निर्वाह गरिरहेको हुनाले अब पार्टीको नेतृत्व पंक्तिमा अपग्रेड हुने प्रक्रियामा मैले पदाधिकारीको अपेक्षा गर्या छु, त्यो पद म डिजर्भ गर्न सक्छु । मैले उम्मेदवारी घोषणा नै भनेर त गरेको छैन, तर पार्टी नेतृत्व, मूल नेतृत्व, पार्टी अध्यक्ष, समकालीन साथीहरूसित कुराकानी हुँदा म सचिव पदमा इच्छुक छु । उहाँहरूको साथ, सहयोग पाउने हो भनेर मैले आफूलाई प्रस्ताव गरेको हुँ । यद्यपि औपचारिक उम्मेदवारी घोषणा भने चाहिँ यो होइन फेरि ।
– सचिवमा दाबी गरिरहँदा तपाईँको एजेन्डा चाहिँ के छ ? मलाई जिताउनुस् भन्ने आधार के ?
पहिलो एजेन्डा त नेकपा एमालेलाई सशक्त बनाउने नै हो । पार्टीलाई एकताबद्ध बनाएर अहिले मुलुकको राष्ट्रिय राजनीतिमा देखा परेका जे समस्याहरू छन्- राजनीतिक अस्थिरता, अन्यौलता, यसलाई चिर्न सक्ने नेकपा एमाले बनाउने हो । एमालेको भूमिका सशक्त भएन, अलिकति बढी जनताको बीचमा जान सकेन, हिजोभन्दा कमजोर भयो भन्ने जे आरोपहरू मान्छेले लाइराख्या छन्, ती सबै कुरालाई खण्डन गर्दै जनताको बीचमा एउटा सघन र बलियो पार्टी बनाउने र आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्र शक्ति बनाउने हाम्रो पार्टीको जे नीति हो, त्यो नीतिलाई नै सफलीभूत पार्ने मेरो एजेन्डा हुन्छ ।
अर्को, अहिले जेन-जी को नाममा अथवा जे जे नाममा जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान ट्र्याक आउट हुँदा मुलुकमा अन्यौलता, २३-२४ पछि राज्यविहीनताको स्थिति, शान्ति सुरक्षाको अभाव, जनतामा सुरक्षा र अमन चयनको अभाव र सुरक्षा फोर्स लगायतका कुराहरू डिमोरलाइज भएर नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने जुन स्थिति बनेको छ, यी कुराहरूलाई चिरेर नेकपा एमालेलाई बलियो बनाउने र नेकपा एमालेका तर्फबाट मुलुकको लोकतान्त्रिक शासन प्रणाली, संघीय शासन प्रणालीलाई सुदृढ गर्दै अगाडि बढ्ने नै हो मेरो मूलभूत एजेन्डा ।
छिटपुट रूपमा पार्टीभित्र आएका सबै कुराहरू- अनुशासन, चरित्र, पार्टीलाई अलिकति तेजिलो-धारिलो बनाउने, एउटा स्पष्ट पार्ने, संगठनलाई सुदृढ गर्ने, जनताका एजेन्डालाई उठाएर जाने, सुशासनको प्रत्याभूति गर्ने कुराहरू नै मैले अगाडि सारेको छु ।
मिलेर जाने कुरामा मेरो जे भूमिका पार्टीले आवश्यक महसुस गर्छ त्यो म तयार नै छु । फेरि सचिव पद कोशीको लागि, कर्णालीको लागि भनिँदैन । हलभित्रबाटै आउने हो । कोशी कामको, भूगोलको भनेको मलगायत केही थोरै साथी मात्रै छौँ । त्यो बीचबाटै हामी आउने प्रयास गर्दछौँ ।
सँगै मुख्यमन्त्रीको भूमिका निर्वाह गर्दा ५ वर्ष नाम नराखिएको प्रदेशलाई २ महिनाको अन्तरालमा केही असहमति बाबजुद पार्लियामेन्ट करिब ९० प्रतिशतको आम सहमतिमा नामकरण गर्न सफल भएको छु । १४-१५ वटा मन्त्रालय पुगेको सरकारलाई मैले ९ वटा मन्त्रालयमा झारेँ
अहिले पनि मैले युवा रोजगारीदेखि कृषि उत्पादन बढाउने, साना मझौला उद्योगी व्यवसायीहरूलाई राज्यका तर्फबाट गर्ने सहयोगका कुराहरू, पर्यटकीय प्रबन्धलाई व्यवस्थित गर्नेजस्ता काम मुख्यमन्त्रीको हैसियतमा लिएर आएको छु । त्यो पनि यो पार्टीले मलाई मुख्यमन्त्री बन्न पठाएपछि पार्टीको शिर वृद्धि गर्ने र पार्टीका तर्फबाट राष्ट्रलाई माथि बढाउने कुरामा मैले अघि बढाएको छु ।
अर्को कुरा, नेपालको अहिलेको मूलभूत समस्या आर्थिक वृद्धिदर असाध्यै न्यून भयो र हामी आर्थिक रूपले धेरै विपन्न र कमजोर बन्दैछौँ । अब हामीले हाम्रा राष्ट्रिय उत्पादनको क्षेत्रलाई वृद्धि गर्दै राष्ट्रिय पुँजीको विकास गर्न पर्यटन, कृषि, जडीबुटी, हाम्रा प्राकृतिक साधन स्रोतको उत्खनन् गर्ने, त्यसलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने गर्नुपर्छ । नेपाललाई एउटा स्वाधीन, एउटा सम्पन्न र सुदृढ मुलुकको रूपमा विकास गर्ने र विकसित मुलुकको दाँजोमा पुर्याउने, यसभित्र पनि मेरा एजेन्डा छन् । मैले सरकारको भूमिकाको हिसाबले यी काम गरेको छु भने पार्टीमा हुँदा पार्टीको नेताको हिसाबले यी कुराहरूलाई लिएर जाने प्रतिबद्धता गरेको छु ।
– पार्टी पुनर्गठन, पुस्तान्तरण र नेतृत्व परिवर्तनको मुद्दा लिएर पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एउटा टीमको तयारी चलिरहेको बेला यसबारे चाहिँ के छ तपाईँको धारणा ?
यो अहिले अहिलेको सन्दर्भमा उपयुक्त थिएन । हामीले विधान अधिवेशनको माध्यमबाट नै यी कुराहरूलाई धेरै टुङ्ग्याएका थियौँ । तर, जेन-जी विध्वंसपछि जुन परिस्थिति निर्माण भयो, त्यसपछि उहाँहरूले नेतृत्व परिवर्तन र पुनर्गठनको नाराहरू ल्याउनुभएको छ । अहिले यो सान्दर्भिक नारा होइन । अहिलेको सन्दर्भमा झन् बढी पार्टी एकताबद्ध बनाएर र हाम्रो तर्फबाट अरू लोकतान्त्रिक शक्तिहरूलाई पनि एकताबद्ध बनाएर नेपालको संविधानलाई ट्र्याकमा ल्याउने, नेपालको लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्ने र जनताले प्राप्त गरेका अधिकारहरूलाई बलियो बनाएर अगाडि बढ्ने नै अहिलेको एजेन्डा हो । त्यसका लागि नेकपा एमालेभित्रको आवश्यकता व्यापक एकता नै हो । त्यसको लागि उपयुक्त पात्र नै केपी ओली नै हो ।
त्यस कारण कमरेड ईश्वर पोखरेललगायत जो नेता हुनुहुन्छ, उहाँहरूलाई हामी आग्रह पनि गर्दैछौँ- अहिलेको सन्दर्भमा हामी एकताबद्ध भएर जाऔँ । समय अलि सहज भएपछि फेरि नेतृत्व परिवर्तन, नेतृत्व अर्को महाधिवेशनले त हामी परिवर्तन गरिहाल्छौँ । त्योसम्म सँगै जाऔँ भन्ने नै हाम्रो जोड छ ।
– सर्वसम्मत र एकताको लागि त्यो सम्भावना कत्तिको देख्नुहुन्छ त ?
अहिले हेर्दा न्यून देखिँदै छ । किनभने उहाँहरूको उम्मेदवार घोषणा भइसक्यो, आधार पत्र, आफ्ना प्रस्तावहरू अघि सारिसक्नुभा’छ, दैनिक पत्रकार भेटघाट बढाइरहनुभएको छ । सकेसम्म सहमतिबाट, नसक्दा विधि प्रक्रिया पूरा गरेर उम्मेदवार बन्ने, निर्वाचनमा जाने सोचमा छौँ । न्यून बन्दै गएको देखिन्छ व्यवहारले, हामी यसमा अझै प्रयासरत छौँ ।
– तपाईँले नै दाबी गरेको सचिव पदमा आकाङ्क्षी दर्जनौँ छन् । अझ कोशीबाटै मारामार देखिन्छ । यस्तो अवस्थामा सहमतिको लागि अथवा मिलेर जाने कुरामा तपाईँको भूमिका कस्तो रहन्छ ?
मिलेर जाने कुरामा मेरो जे भूमिका पार्टीले आवश्यक महसुस गर्छ त्यो म तयार नै छु । फेरि सचिव पद कोशीको लागि, कर्णालीको लागि भनिँदैन । हलभित्रबाटै आउने हो । सक्दा सबै प्रदेशको प्रतिनिधित्व भए राम्रो हो । पहिला पनि भएको छैन । त्यसले गर्दा यो प्रदेशवाइज नै हुन्छ भन्ने हुन्न । कोशी पृष्ठभूमि भएका त अध्यक्षदेखि लिएर थुप्रै साथीहरू हुनुहुन्छ । कोशी कामको, भूगोलको भनेको चाहिँ अब मलगायत केही थोरै साथी मात्रै छौँ । त्यो बीचबाटै हामी आउने प्रयास गर्दछौँ ।
– एमालेमा फरक मत राख्ने प्रतिस्पर्धाको आवाज उठाउनेलाई दपेट्ने, सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिने देखिन्छ । यसले पार्टी एकता कसरी कायम होला ?
त्यो जोसुकैले गरे पनि गलत कुरा हो । त्यस्तो दपेट्ने गर्नुहुन्न । सामाजिक सञ्जाल अहिले उत्तरदायी छैन । कतिपय फेक आईडी बनाएर हामीबीच द्वन्द्व बढाइदिन पनि यो खालको प्रयास भएको छ । कतिपय साथीभाइहरू अञ्जानवश पनि एक-अर्कालाई तीव्र घृणा पैदा गर्ने गरी लेखिरहनुभा’छ, यसलाई मिनिमाइज गर्नुपर्छ । यो हाम्रो हितमा छैन, पार्टीको हितमा छैन, मुलुकको हितमा छैन । पार्टीका प्रतिनिधि, नेता, कार्यकर्ता कसैले कसैका विरुद्ध यी काम गर्नु हुँदैन ।
– भदौ २३-२४ पछिको आन्दोलन र विकसित राजनीतिक घटनाक्रम, युवा सहभागिताको दबाब, आसन्न चुनाव र वैकल्पिक शक्तिहरूको उदयको चुनौतीबीच एमाले अब कस्तो बन्नुपर्छ ?
यो चुनौती त छ, अहिले हाम्रो अधिवेशनमा करिब ४०० भन्दा बढी ४० वर्षमुनिको युवाहरू आउँदै हुनुहुन्छ एउटा राम्रो पक्ष । हामीले युवाहरूको डेलिगेट निर्वाचन क्षेत्र नै बनायौँ । जेन-जी मुभमेन्ट का नाममा आगो लाउने, तोडफोड गर्ने, राष्ट्रिय झन्डा बोकेर सिंहदरबार जलाउने, पार्टी कार्यालय आगो लाउने, व्यापारिक प्रतिष्ठान आगो लाउने, मान्छे मार्ने यी कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यी सबै कानुनको दायरामा आउनुपर्छ ।
तर, जेन-जी मुभमेन्ट, जे युवाहरूले गरेका थिए सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र सामाजिक सञ्जालको फ्री गरिनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ । सामाजिक सञ्जाललाई कानुन बनाएर नियमन गरिनुपर्छ । सुशासन र भ्रष्टाचारको पक्षमा त हाम्रो पार्टी जन्मेदेखि नै छ । जेन-जीका साथीहरूलाई म आश्वस्त पार्न चाहन्छु- आउनुस् एमालेको झन्डामुनि गोलबन्द होऊँ । तपाईँका विचार र भावना प्रतिनिधित्व गरेर अगाडि बढ्छौँ ।

Leave a Reply