
कैलाली । सरकारले गरेको सरुवा विरुद्ध उच्च अदालत गएका कैलालीका दुईजना वरिष्ठ डिभिजनल वन अधिकृत (डिएफओ) प्रदेश वन निर्देशनालय तानिएका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २४ घण्टाभित्र वन निर्देशनालयमा हाजिर हुन निर्देशन दिँदै हिजो उनीहरूलाई पत्राचार समेत गरिसकेको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्टलाई पहलमानपुर, पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई कञ्चनपुर र कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरलाई धनगढी सरुवा गर्ने निर्णय भएको थियो ।
ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै कँडेल र भट्टले उच्च अदालत दिपायलमा रिट दायर गरेको थिए ।
पहिलो चरणमा अदालतले तत्काल सरुवा कार्यान्वयन नगर्न भन्दै कर्मचारीहरूलाई भएकै स्थानमा रहन आदेश दिएको दिएपनि हिजो अदालतले पुनः अघिल्लो आफ्नो आदेशलाई निष्क्रिय पार्दै सरुवा भएको कार्यालयमा जाने बाटो खुलाएको हो ।
उक्त आदेश लगत्तै डिभिजन वन कार्यालय धनगढी कैलालीका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट र पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेललाई २४ घण्टाभित्र प्रदेश वन निर्देशनालयमा हाजिर हुन परिपत्र गरिएको हो। अत्यन्त जरुरी पत्र लेख्दै अर्को व्यवस्था नभएसम्मका लागि दुवै जनालाई निर्देशनालयमा हाजिर हुन निर्देशन दिइएको छ ।
‘उहाँहरूलाई २४ घण्टाभित्र प्रदेश वन निर्देशनालयमा हाजिर हुन पत्र काटिएको छ ’ मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भने, ‘पत्र पाएको २४ घण्टाभित्र दुबैजना निर्देशनालयमा हाजिर हुनुपर्छ ।’
साउन ३० मा सरुवा भएका अर्का वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुर भने अहिलेसम्म पनि मन्त्रालयमा हाजिर गर्दै आइरहेका छन् ।

Leave a Reply