
काठमाडौं । सूर्यास्त अवलोकनका लागि उत्कृष्ट गन्तव्य सुनसरीको सप्तकोशी नदी किनार सामाजिक सञ्जालमा भाइरल भएपछि आगन्तुक बढिरहेका छन् । तर पछिल्लो समय स्थानीय समितिले व्यवस्थापनको नाममा पार्किङ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमै विरोध बढ्दै गएको छ ।
सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्ने भाइरल ठाउँका रुपमा प्रवर्धन भइरहेको सुनसरीको वराहक्षेत्रस्थित बोराबाँधमा ‘बोराबाध टप्पु पर्यटन प्रवर्धन विकास समिति’ले पार्किङ शुल्क उठाउन थालेको हो । शुल्क वापत् मोटर साइकलको ३० रुपैयाँसम्म लिन थालिएको छ ।
केही समयअघिसम्म मोटर साइकलको पार्किङ वापत २० रुपैयाँ लिने गरिएकामा भीडभाड बढेपछि शुल्क ३० रुपैयाँ बनाइएको छ । कोशी नदी बगर एकाएक भाइरल भएपछि त्यहाँको व्यवस्थापनका लागि कर उठाउन थालिएको वराहक्षेत्र ७ का वडाध्यक्ष कपिल आचार्यले पुष्टि गरे ।
वराहक्षेत्रको बोराबाँध : सूर्यास्त अवलोकन गर्ने आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु)
कसले र किन पार्किङ शुल्क उठाउँदैछ भन्ने जानकारी नपाएका आगन्तुकले सामाजिक सञ्जालमा विकृति बढेको भन्दै आलोचना गरिरहेका छन् । हाटबजार भन्दा कोशी किनारमा भीडभाड बढेपछि नियम कानुन नहेरी व्यवहारिकता हेरेर पार्किङ शुल्क उठाउन सहजीकरण गरेको वडाध्यक्ष आचार्यले बताए ।
सार्वजनिक ठाउँमा अवैध रुपमा कर उठाइरहेकाले सामाजिक सञ्जाल प्रयोगकर्ताले स्थानीय सरकार र प्रशासनलाई ‘मेन्सन’ गरिरहेका छन् । वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटवालले स्थानीय सरकारले कर नलगाएको बताए । उनले वडाले नै समन्वय गरेको जानकारी दिए ।

‘कोशी केन्द्रित गतिविधिलाई बढाउने भनेर कार्यापालिका बैठकले निर्णय गरेको छ, मारवाडी सेवा समिति धरानसँग समन्वय गरेर कोशी किनारका केही स्थानलाई प्रवर्धन गर्नका लागि टेण्डर लागेर काम सुरु हुने भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत कटवालले भने,’नगरपालिकाले बोराबाँधमा भीडभाड बढेपछि घुम्ती शौचालय राखेको छ, फोहोरमैला नगर्न सूचना पनि जारी गरेका छौं ।’
प्रमुख प्रशासकीय अधिकृत कटवालले कोशी किनारको जग्गा व्यक्तिको भएको बताए । उनले त्यहाँ नगरपालिकाले पार्किङ लाउन नसक्ने जानकारी दिए । उनले वडाको पहलमा समिति गठन भएको जानकारी दिए ।

हेल्मेट चोरी भएपछि कर लगाउन थाल्यौं
स्थानीय युवाहरुको नेतृत्वमा ६ नम्बर वडा र ७ नम्बर वडाका वडाध्यक्ष क्रमश: उद्धवप्रसाद पोखरेल र कपिल आचार्यको उपस्थितिमा ‘बोराबाध टप्पु पर्यटन प्रवर्धन विकास समिति’ निर्माण गरिएको छ । समितिको अध्यक्ष वसन्त राई छन् ।
यसअघि युवाहरुकै सक्रियतामा ‘बोराबाध पर्यटन प्रवर्धन समिति’ नामक समिति गठन गरिएको थियो । जनप्रतिनिधिको उपस्थिति नभएको समिति अवैधानिक हुन्छ भनेपछि पुन: अर्को समिति गठन गरिएको हो ।
एउटा बाइक अर्कोसँग साटिएपछि र हेल्मेट चोरी भएपछि समिति निर्माण गरी पार्किङ शुल्क लगाउन थालिएको वडाध्यक्ष आचार्यले बताए । आगन्तुककै गुनासोका आधारमा पार्किङ शुल्क लगाउन थालिएको उनको भनाइ छ ।

‘नउठाइ पनि भएको छैन । उठाउँदा पनि विरोध छ,’ वडाध्यक्ष आचार्यले भने, ‘हेल्मेट चोरी हुन थालेपछि गुनासो आयो, के हेरर बसेको छ यो ठाउँको सरकार भन्ने खाल्का टिप्पणी पनि आयो ।’
उनले मोटर साइकलको ३० रुपैयाँ, तीन पाङ्ग्रेको ४० रुपैयाँ र चार पाङ्ग्रे गाडीको ५० रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको बताए ।
समितिले कोशी किनार व्यवस्थापनका लागि दुई जना सरसफाइकर्मी तलब दिएरै राखेको बताए । पार्किङ शुल्कबाट उठ्ने रकमले कर्मचारी राखिएको उनले बताए । ‘अझै कर्मचारी राख्न सुझाव दिएको छु ।’ आचार्यले भने ।
उनले स्टल व्यवस्थापन, सरसफाइ र पार्किङ वापत् शुल्क लिन थाल्ने बताए । ‘उठेको रकमको आधा नगरपालिकालाई र आधा समितिलाई पैसा वितरण गर्ने गरी थप कर लगाउने योजना छ,’ वडाध्यक्ष आचार्यले भने, ‘त्यहाँ लाग्ने स्टललाई समेत सरकारले करको दायरामा ल्याउनुपर्छ ।’
वडाध्यक्ष आचार्यले कोशी किनारमा पानी र बिजुलीको व्यवस्थापन गरिएको बताए ।

Leave a Reply