
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर केही ठोस कदमहरू चालेको बताएकी छन्।
काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताइन्।
उनले भनिन्, ‘शिक्षामन्त्री महावीर पुनले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ। ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ। यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’
नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौँ विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुसरण गर्नुपर्ने उनले बताइन्।
उनले भनिन्, ‘मैले भन्ने गरेकी छु, यो मुलुक हाम्रो हो। हामीले नबनाए कसैले आएर बनाइदिँदैन। तसर्थ, म तपाईँहरूमा विशेष अनुरोध गर्छु– सकेसम्म देशमा भएका अवसरहरू पहिचान गर्नुहोस्, अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गर्नुहोस् र जहाँ गए पनि नेपालले गर्व गर्ने नागरिक भएर अघि बढ्नुहोस्।’
उनले सरकारका तर्फबाट दिने आश्वासन धेरै आफूसँग नभएको बताइन्। उनले थपिन्, ‘छ त केवल आह्वान मात्रै– तपाईँ आफैँ अगाडि आउनुहोस्। आफ्नो स्थान आफैँ बनाउनुहोस्। आज राष्ट्रले तपाईँहरूसँग ठुलो आशा राखेको छ। यो राष्ट्र तपाईँ युवाले नै सम्हाल्नुहोस्। सबैको ऐक्यबद्ध प्रयास भएमा समुन्नत नेपाल निर्माण गर्न धेरै समय लाग्ने छैन।’

Leave a Reply