अमित लामा- अप्ठ्यारोमा ओलीको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं । ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित रहे । सबैजसोका बसोबासस्थलमा क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्यसबाट अछुतो रहेनन् । अझ ओलीको स्थिति त अन्य नेताको भन्दा बढी नै चुनौतीपूर्ण रह्यो । किनभने, आन्दोलनदेखि अराजकतासम्मको निशानी उनैलाई बनाइएको थियो ।

यस्तो जोखिमपूर्ण परिस्थितिमा ओलीको रक्षक भएर मैदान डटेका एक युवा हुन्, अमित लामा । युवा संघको तल्लो कमिटी हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष भएर उनी अहिले पूर्णकालीनरूपमै पार्टी काममा छन् । एमाले काभ्रे जिल्ला कमिटीमा ३ कार्यकालयता विभिन्न जिम्मेवारी सम्हाल्दै लामा हाल प्रदेश कमिटी सदस्य छन् ।

नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा जुटिरहँदा अमित लामासहितका युवा त्यसको आयोजना र व्यवस्थापनको कामका निम्ति मैदानमै छन् । महाधिवेशनस्थल भक्तपुर, सल्लाघारीमा नेपाल प्रेससँग भेट हुँदा उनले भने, ‘यसपालि पार्टीमा केन्द्रीय सदस्यको आकांक्षा राखेको छु ।’

काभ्रेको अति सामान्य परिवारका सदस्य लामा सानै उमेरदेखि विभिन्न व्यवसायिक गतिविधिमा संलग्न रहे । परिवारसँगै आफ्नो दुःख पनि निवारण गर्नुपर्ने चुनौतीका बीच उनले उद्यमशील जीवन रोजे । त्यसले उनलाई जहिल्यै आत्मनिर्भर बनाइरह्यो ।

व्यवसायिक जीवनकै बीचमा उनले नेकपा (एमाले) को यात्रा रोजे । युवा उमेरमै उनले रोजेको त्यो बाटो उनका निम्ति कहिले सहज बने त कहिले कष्टकर । तर, जस्तै दुःख-सुख व्यहोरे पनि एमालेसँगको यात्रालाई यसरी गति दिए कि, त्यसक्रममा उनका कतिपय व्यक्तिगत जीवनका इच्छा, व्यवसायिक क्षेत्रका समय पनि माया मारे ।

जेन-जी आन्दोलनपछि राजनीतिक दलका मुख्य मुख्य नेता सुरक्षा चुनौतीमा गुज्रिँदा अमितहरूले आफ्नो पार्टीका अध्यक्ष ओलीका निम्ति आफैँले अलग्गै सुरक्षा दस्ता बनाए । त्यसका एकजना बलिया कमाण्डर हुन्, अमित लामा ।

नेतामात्र सुरक्षा चुनौतीमा रहेनन्, राजनीतिक दलका गतिविधि पनि एक किसिमले वर्जित गरिएको स्थिति थियो । कुनै ठूलो कार्यक्रम गर्नुपरेमा सुरक्षा निकायले त्यस्तो नगर्न र त्यस्तो गरिँदा स्थिति भड्किएमा सुरक्षा दिन नसक्नेसम्मका चेतावनी दिँदै रह्यो ।

तर, अमितले आफ्नो पार्टी, अध्यक्ष र उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकको सुरक्षासहित सम्पूर्ण व्यवस्थापनको जिम्मा लिए । देखिँदा उनी एमालेका एकजना मामुली कार्यकर्ता हुन् । तर, भूमिकाका हिसाबले त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा उनले आफ्नै व्यवसायिक स्थल, व्यक्तिगत समय र सम्भावित खतराहरु मोल्न कुनै हिच्किचाहट राखेनन् । एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो ।

उक्त पार्टी प्यालेस उनकै लगानीमा सञ्चालित छ । त्यसबेला सुरक्षा निकायले त्यस किसिमको ‘तामझामपूर्ण’ कार्यक्रम नगर्न एमाले, कांग्रेससहितका दललाई चेतावनी दिएको थियो । तर, लामाले त्यसका कारण उत्पन्न हुने जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै आफ्नो व्यवसायिक स्थल पार्टी बैठकका निम्ति दिएका थिए । अध्यक्ष ओलीको सुरक्षा त उनकै जिम्मेवारीमा छँदै थियो ।

पार्टीको केन्द्रीय कमिटीमा गएर देशभरका युवालाई एमालेतर्फ अझ बढी आकर्षित गराउने उनको योजना छ । ‘युवाहरू रचनात्मक, सिर्जनशील र आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो एजेण्डा हो’, उनले भने, ‘एमाले युवाहरूलाई पिछलग्गु बनाउने पार्टी होइन, भूमिका र जिम्मेवारीसहित देश निर्माणमा अगाडि बढाउने पार्टी हो भन्ने कुरा देशभरका युवाबीच म स्थापित गराउन चाहन्छु ।’

लामाले खुला क्लष्टरतर्फ उम्मेदवारी दिने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *