
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ ।
त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्रायः धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियार सहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ।
काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए । उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रुपमा प्रदर्शन गर्नेमध्ये काठमाडौं प्रहरीले हालसम्म १६ जनालाई नियन्त्रणमा लिएको छ । ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
प्रहरी हत्याका क्रममा मतियारीको भूमिका खेल्ने एकजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । उनी पनि पुर्पक्षका निम्ति कारागारमा छन् । सोही आन्दोलनका क्रममा डाँका चोरीको अभियोगमा पक्राउ परेका दुई जनालाई अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेर अनुसन्धान चलिरहेको प्रवक्ता भट्टराईले बताए ।
उक्त आन्दोलनमा विभिन्न किसिमका कसुरका संलग्न व्यक्तिमध्ये जिल्ला अदालतको आदेशले हालसम्म ७४ जना पुर्पक्षका लागि कारागार पठाइएका छन् । त्यसमा आपराधिक उपद्रवका ३७, हातहतियारमा १६, चोरीका ३, कर्तव्य ज्यानमा १५, ज्यान मार्ने उद्योगमा १ छन् । हालसम्म ८५ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको भट्टराईले बताए ।
धरौटीमा रिहा हुनेमध्ये आपराधिक उपद्रव मुद्दामा ५३ जना छन् । चोरीका १२ र अभद्र व्यवहारका गरी धरौटीमा छुट्नेको संख्या ८५ पुगेको हो।
जिल्ला प्रहरीको हिरासतमा अनुसन्धानका निम्ति अहिले ८५ जना राखिएका छन् । त्यसमध्ये आपराधिक उपद्रव मुद्दामा ५३, हातहतियारमा ११, चोरीका २, ज्यान मार्ने उद्योगका १ र डाँका चोरीका २ जना छन् ।
जेन–जी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न स्थानमा विभिन्न कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये ९२ जनालाई दैनिक हाजिर जमानीमा प्रहरीले रिहा गरेको छ । उनीहरुको कसुर स्थापित भएमा मुद्दा चल्ने गरी प्रहरी सम्पर्कमा राखेर रिहा गरिएको प्रवक्ता भट्टराईले बताए । त्यसमा आपराधिक उपद्रव मुद्दाका ६७, हातहतियारका १८, चोरीका ४, आपराधिक उपद्रव र चोरीका १, अभद्र व्यवहारका २ जना छन् ।
आपराधिक उपद्रव र हातहतियार मुद्दाका १–१ जनालाई मुद्दा नचल्ने सरकारी वकिलको रायका साथ रिहा गरिएको छ । अभद्र व्यवहारमा एकजनाले अदालतबाट सफाई पाए । आपराधिक उपद्रव मुद्दामा ७ जनालाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।


Leave a Reply