प्राधिकरणमा हाजिर हुँदै हितेन्द्रले भने- मन्त्रीज्यू र म मिलेर काम गर्‍यौँ भने उल्लेख्य प्रगति हात पार्न सक्छौँ

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली भएका हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल अझ बढी मेहनतका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाजिर हुँदै पत्रकारहरूसँग उनले भने, ‘नेपाल सरकारको नीति निर्देशन अनुसार मेरो बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्छु ।’

आफ्नो र मन्त्री कुलमान घिसिङको ऊर्जा क्षेत्रमा समानान्तर बुझाइ रहेकाले मिलेर काम गर्ने उनले प्रष्ट पारे ।

शाक्यले भने, ‘३५ वर्षसम्म काम गर्दा यस संस्थाका लागि देखेको सपना आत्मनिर्भरता भएको हिँडेको संस्थालाई साढे तीन वर्षमा उचाइमा पुर्‍याउँछु । ऊर्जामन्त्री पनि यही संस्थाबाट जानु भएको हो । उहाँ र मेरो बुझाइ ऊर्जा क्षेत्रमा समानान्तर छ । अगामी दिनमा उहाँ र म मिलेर काम गर्‍यौँ भने उल्लेख्य प्रगति हात पार्न सक्छौँ ।’

गुणस्तरीय भरपर्दो र निरन्तर विद्युत् आपूर्तिको लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउने उनले बताए । साथै प्राधिकरणको आफ्नै अग्रसरतामा विद्युत् आयोजना निर्माण गर्ने शाक्यको भनाइ छ ।

प्राधिकरणमा काम गरेकै कारण उनले जेन-जी आन्दोलनमा आफ्नो घर जलाइएको भन्दै गुनासो समेत पोखे ।

शाक्यले भने, ‘प्राधिकरणमै काम गर्ने भएकोले मेरो घर जल्यो । म पीडामा परे । तर त्यही पीडामा बस्दिनँ । म काममा अगाडि बढेँ । मुलुकको हितमा अधिकतम काम गर्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *