
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११ औँ महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्। नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधर ताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग–अलग आयोजना गर्ने व्यवस्था गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन । दुई महाधिवेशनका बिचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालिक नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ । प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु सम्भव र व्यवहारिक दुवै हुँदैन ।’
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ को निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक, व्यर्थ र गलत साबित गरिदिएको उल्लेख गरेका छन्।
ज्ञवालीले थपेका छन्, ‘तर हामीले महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीको बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गर् यौँ, जुन सही र सान्दर्भिक थियो । निश्चय नै, हाम्रा समग्र काम, उपलब्धि र कमीको वस्तुनिष्ठ समीक्षा जरुरी छ ।’
आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन नसक्ने भन्दै त्यो आरोप– प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुने उनको बुझाइ छ।
‘नेतृत्वमाथि यति गम्भीर चुनौती खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त कतिपय भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण सम्भव देखिँदैन’ उनले भनेका छन्, ‘तसर्थ, आसन्न महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गरौँ । त्यसका लागि सहमतिको हरसंभव प्रयत्न गरौँ । हुनै सकेनछ भने स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौँ ।’
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चलिरहेको एनपीएलका खेलाडीहरू जत्तिकै ‘स्पोर्टम्यानसिप’ त सबैले अवलम्बन गर्न सुझाएका छन्।

Leave a Reply