सुदूरपश्चिममा विकराल बन्दै लागुऔषध, नियन्त्रणको लागि प्रदेशस्तरीय अभियान शुरु

कैलाली । सुदूरपश्चिम प्रदेशका लागुऔषधको समस्या विकराल बन्दै गइरहेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै कैलाली कञ्चनपुरबाट दैनिक रूपमा भित्रिएका लागू पदार्थहरू अहिले पहाडी जिल्लासम्म पुग्दै आइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले लागू औषधबाट बझाङ, बाजुरा र दार्चुलालाई समेत अछुत नराखेको देखाउँछ ।

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा ३ सय ६४ पुरुष, १८ महिला र १२ भारतीय गरी ३ सय ९२ जना पक्राउ परेका थिए । त्यस वर्ष प्रदेशभरि २ सय ५४ मुद्दा दर्ता भएका थिए । जसमध्ये कैलालीमा १ सय ३७ जना, कञ्चनपुरमा २ सय ३१, बझाङमा ३, बाजुरामा ४, डोटीमा ३, दार्चुलामा ७, बैतडीमा ५ र अछाममा २ जना पक्राउ परेका थिए ।

त्यस वर्ष प्रदेशभर ५ किलो ३ सय ९१ ग्राम गाँजा, ५६ किलो ५ सय ४८ ग्राम ७ सय ६८ मिलिग्राम चरेस र १ किलो २ सय ३१ ग्राम ९ सय ५८ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७८–७९ मा सुदूरपश्चिमका नौवटै जिल्लामा ५ सय २४ पुरुष, २१ र १८ भारतीय पुरुष ५ सय ६३ जना पक्राउ परेका थिए । यो तथ्याङ्कले अघिल्ला वर्षको तुलनामा यस वर्ष १ सय ६४ जना बढेको देखिन्छ ।

पक्राउमध्ये कैलालीमा ३ सय १४, कञ्चनपुरमा २ सय ३४, डडेल्धुरामा ३, बझाङमा ३, बाजुरामा ५, डोटी र दार्चुलामा २–२ पक्राउ परेका थिए । प्रदेशभर ३ सय ५६ मुद्दा दर्ता भएका थिए । यस वर्ष प्रदेशभर १ किलो १ सय ५५ ग्राम गाँजा, १ सय १२ किलो ८ सय ४० ग्राम चरेस र १ किलो ५६ ग्राम हिरोइन बरामद भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा सुदूरपश्चिमका नौवटै जिल्लामा ७ सय ७३ पुरुष, ६६ महिला र १७ भारतीय पुरुष गरी ८ सय ५६ जना पक्राउ परेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ सय जना बढेका छन् ।

त्यस वर्ष कैलालीमा ५ सय १८, कञ्चनपुरमा २ सय ९२, डडेल्धुरामा ९, बझाङमा ३, बाजुरामा १, डोटीमा ७, दार्चुलामा ५, बैतडीमा १४ र अछाममा ७ जना पक्राउ परेका छन् । प्रदेशभर ५ सय ३८ मुद्दा दर्ता भएका थिए । त्यो वर्ष प्रदेशभर ठूलो मात्रामा लागूऔषध बरामद भयो । तथ्याङ्क अनुसार ५० किलो ५ सय ग्राम गाँजा, १ सय ९ किलो ७ सय १४ ग्राम चरेस र ४ सय ३२ किलो ४ सय ६२ मिलिग्राम हिरोइन बरामद गरिएको थियो ।

वर्ष २०८१–८२ मा ९ सय ७७ पुरुष, ५६ महिला र १० भारतीय गरी १ हजार ४३ जना पक्राउ परेका छन् । त्यस वर्ष भने अघिल्लो वर्षको तुलनामा घट्दो देखिएको छ । कैलालीमा ७ सय, कञ्चनपुरमा २ सय ७५, डडेल्धुरामा १५, बझाङमा ४, बाजुरामा ५, डोटीमा ५, दार्चुलामा १९, बैतडीमा ९ र अछाममा ११ जना पक्राउ परे । प्रदेशभर ६ सय ९३ मुद्दा दर्ता भएका छन् ।

प्रदेशभर ३ किलो ६ सय १८ ग्राम गाँजा, ७२ किलो ६ सय ८१ ग्राम चरेस र ४ सय ९४ ग्राम ७ सय ८६ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै चालु आर्थिक वर्षको कात्तिक १७ गतेसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा १ सय ५६ पुरुष र ३ महिला गरी १ सय ५९ जना पक्राउ परेका छन् । जसमध्ये कैलालीमा ८५, कञ्चनपुरमा ५२, डडेल्धुरामा ४, बझाङमा ९, बाजुरामा ३, डोटी र दार्चुलामा ३–३ जना पक्राउ परेको विवरण छ भने १ सय ९ मुद्दा दर्ता भएका छन् । यो ४ महिनामा प्रदेशभर ९ किलो चरेस र २ सय ३२ ग्राम हिरोइन बरामद गरिएको छ

चालु आवको साउन १ गते देखि कार्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा मात्रै लागू औषधका ८९ मुद्दा दर्ता भएका छन् । ५ महिला र १ सय २५ पुरुष गरी १ सय ३० जना पक्राउ परेका छन् । यो अवधिमा १ सय ९३ ग्राम २० मिलिग्राम खैरो हेरोइन, ७ किलो ३ सय ६६ ग्राम चरेस र ७७ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।

यो तथ्याङ्कले सुदूरपश्चिममा प्रत्येक वर्ष लागूऔषध बरामद दर र पक्राउ पर्ने सङ्ख्या उच्च दरमा बढिरहेको देखिन्छ । भारतबाट नेपालमा लागूऔषध असोरपसारमा संलग्न र प्रयोगकर्ताको उमेर समूह प्रायः ४० वर्षमुनिकै रहेको पाइएको छ ।

नियन्त्रणको लागि अभियान शुरु

प्रदेशको सबैभन्दा ठुलो समस्याका रूपमा पैदा भइरहेको लागू औषध कारोबार तथा सेवनको क्रमलाई नियन्त्रण र न्यूनीकरण गर्न कैलालीबाट प्रदेशस्तरीय अभियानको शुभारम्भ गरिएको छ ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदले आफूहरूले सुरु गर्न लागेको अभियानले युवाहरूलाई लागू औषधबाट टाढा राख्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशका सबै जिल्लामा पुगेर ती जिल्लामा रहेको लागू औषधको अवस्थाबारे अन्तरक्रिया गर्दै सरोकारवाला निकाय र व्यक्तिहरूसँग यसको समाधानको लागि नीतिगत संवाद गरिने उनले बताए ।

कैलालीको गौरीगङ्गा नगरपालिका–५ को मोहन्याल माध्यमिक विद्यालयबाट परिषद्ले प्रदेशस्तरीय कार्यक्रम शुरु गरेको हो।

मङ्गलवार सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अभियान उद्घाटन गर्दै प्रदेशलाई लागूऔषध मुक्त बनाउन सबैलाई आह्वान गरेकी थिइन् ।

‘हाम्रो प्रदेशको सबैभन्दा ठुलो समस्या नै अहिले लागू औषध बनिरहेको छ । अब यो अभियानबाट त्यसको नियन्त्रण र न्यूनीकरणमा सरकार लागेको छ ’ उनले भनिन्, ‘तपाइ हामी सबैले आफ्नो परिवार र समाजलाई लागू औषधबाट जोगाउन सक्यौँ भने प्रदेशलाई लागू औषध मुक्त बनाउन सक्छौँ ।’

लागू औषधकै कारण समाजमा हिंसा र अपराध बढिरहेको उनले भनाइ थियो । विशेषाधिकार समिति सभापति तुलसी देवकोटाले सामूहिक प्रयासबाट लागू औषधको समस्या समाधान गर्न सकिने बताएकी थिइन् ।

नगरप्रमुख देवीदत्त कँडेलले स्थानीय सरकारले समस्या समाधानको लागि युवा परिषद्सँग हातेमालो गर्न चाहेको बताएका थिए । उनले सेवनकर्तालाई भन्दा कारोबारीलाई पक्राउ गर्न र कारबाही गर्न प्रहरी प्रशासनलाई सुझाव दिएका थिए।

सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी स्वस्थ जनशक्तिले मात्र समाज, प्रदेश र देशको विकास हुनसक्ने भन्दै अहिलेका युवाहरू लागू औषधको समस्याबाट टाढा रहनुपर्ने बताएका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तबले प्रत्येक वर्ष लागू औषधको समस्या बढ्दै गइरहेको भन्दै तीनै तहको सरकारबाटबाट त्यसको नियन्त्रणका लागि गतिविधि गर्न आवश्यक रहेको बताएका थिए ।

गौरीगङ्गा नगरपालिका ५ का वडाका वडाध्यक्ष विष्णु भाटले अभियानले प्रदेशमा लागू औषधको समस्या समाधान गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

अभियान शुभारम्भ कार्यक्रममा युवा परिषद्काकी मिरा पौडेलले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुगेर अभियान सञ्चालन गर्ने जानकारी गराइन् । प्रदेश स्तरीय अभियान शुभारम्भ कार्यक्रममा कलाकार राजाराजेन्द्र पोखरेलले विद्यार्थी तथा अभिभावकहरूलाई लागू औषधको प्रयोगबाट हुनसक्ने घटनाहरू र त्यसबाट बच्न सकिने उपायहरूका बारेमा रमाइलो ढङ्गले प्रस्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *