
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार यहिँ मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गराएका मतदाताको नामसमेत समेटेर १ करोड ९० लाख भन्दा बढी मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै आयोगले मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगको शनिबारको निर्णय अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नेपाली नागरिकलाई मतदाता नामावली अद्यावधिक गर्न पाइने व्यवस्था गरिएको हो ।
आयोगले यहिँ मंसिर ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई आधार मानेर अद्यावधिक प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
जसमा मतदाता नामावली अद्यावधिक अर्थात दाबी विरोध कार्यक्रमअनुसार आयोगको वेबसाइटमा रहेको विवरण प्रकाशन भएपछि मतदाताले यहिँ मंसिर २६ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्न पाउनेछन् ।
जसमा नाम, थर, जन्ममिति, ठेगाना लगायत त्रुटि सच्याउन निवेदन दिन सक्ने, कसैले झुटा विवरण दिएर नाम दर्ता गराएको भए विरोधमा उजुरी दिन सक्ने, नाम दुई वा बढी स्थानमा दोहोरिएको भए एक स्थानमा मात्र राख्न माग गर्न सक्ने, मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन सक्ने आयोगले जनाएको छ ।
दाबी–विरोधबाट प्राप्त निवेदनको अन्तिम छानबिनपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ । यस्तै आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको र मतदाताले अब आफूलाई पायक पर्ने मतदान स्थल छनोट गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । त्यसका लागि अनलाइन प्रणालीबाट वा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने छ ।
आयोगले मतदाता नामावलीलाई पूर्ण, त्रुटिरहित र शुद्ध बनाउने उद्देश्यले आम मतदाता तथा सरोकारवालालाई सक्रिय सहभागिताक लागि आग्रह गरेको प्रवक्ता भटटराईले जानकारी दिए । उनका अनुसार यहिँ मंसिर २६ गतेसम्म अनलाइन वा कार्यालयमार्फत त्रुटि सच्याउने, सूचना वा उजुरी दर्ता गर्ने कार्यमा सहभागी हुन अनुरोध गरिएको छ । आयोगले समयमै नामावली अद्यावधिक गर्न सके फागुन २१ को निर्वाचन व्यवस्थित र विश्वसनीय हुने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply