काठमाडौंमा हर्क साम्पाङको भाषण- यो देशमा कोही पनि नेता हुन लायकका मान्छे देखिनँ

काठमाडौं । ‘सञ्चै हुनुहुन्छ ?’

पहिलोपटक काठमाडौंमा आमसभा गरेका धरानका चर्चित मेयर हर्क सम्पाङले आफ्नो भाषणको सुरूवात अनौपचारिक शैलीमा गरे । कन्सर्टमा गीत गाउन आएजसरी प्रस्तुत भए उनी ।

‘खुशी लाग्यो सन्चै हुनुहुँदो रहेछ’ भन्दै उनले भाषण अघि बढाए, ‘दुई-चार मिनेट म तपाईंहरूको लिन्छु हुन्छ ?’

सिफलचौरमा आयोजना गरिएको सभामा भिडभाड राम्रै थियो । काठमाडौंमा पनि आफ्नो थोरबहुत क्रेज छ भन्ने साम्पाङले देखाए । उनी भाषण गर्न आउँदा हुटिङ कडै भएको थियो ।

साम्पाङले अनौपचारिक तवरमै सबैलाई सम्बोधन गरे, ‘उपस्थित मैले मान्नुपर्ने आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी, भान्जाभान्जी, जेन्जी भाइबहिनी, पत्रकार सबैलाई सेवा-ढोग नमस्कार । सबैलाई माया सम्झना छ है । जय माटो भन्दिउँ त सुरुमै । जय श्रमदान । जय श्रमदाता ।’

अब उनले दर्शकको थप ध्यानाकर्षण गर्दै गीत गाउने घोषणा गरे । आफूसँगसँैग गाउन पनि अपिल गरे ।

‘मैले जस्तो गाउँछु त्यसरी गाउनु, मुखमात्र चलाएर हुँदैन, मनबाटै गाउनु । तयार हुनुहुन्छ ?’ साम्पाङले शर्त तेस्र्याए । भिडले समर्थन जनायो ।

त्यसपछि साम्पाङले भाका हालेर गीत गाउन थाले । गीतको लिरिक्समा खासै दम नभए पनि उनको आवाजमा दम थियो ।

हर्कले आँखा चिम्लिएर हात लहराउँदै गाएको गीतका शब्द यस्ता थिएः

ढुंगा छुँदा मेरो देश

सम्झिरहन्छु सधैँ

माटो छुँदा मेरो देश

सम्झिरहन्छु सधैँ

जय जय प्रकृति

जय जय संस्कृति

जय जय प्रविधि

जय होस् श्रम गर्ने संस्कृति

यति गाइसकेपश्चात साम्पाङ राजनीतिक विषयवस्तुमा प्रवेश गरे । खाट्टी नेताको शैलीमा आफूलाई ढाले ।

‘देश नेतृत्वविहीन अवस्थामा छ । सरकार छ कि छैन थाहा छैन । नागरिकको जिउधनको सुरक्षा छैन । दिनदहाडै लुटिन्छौं, ठगिन्छौं । देशलाई कस्तो नेतृत्व दिने भन्नेमा गहिरो बहस गर्नुपर्ने बेला आएको छ,’ साम्पाङले भने ।

नेतृत्वसँग भिजन र दृष्टिकोण हुनुपर्ने उनले बताए । तर, अहिलेसम्मका नेताहरुमा कुनै पनि भिजन नरहेको टिप्पणी गरे ।

उनले भने, ‘म ठोकुवा गरेरै, एक वर्षभन्दा बढी नै समय दिएर पनि बहस गर्न तयार छु, यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन । कसरी यो देशको अर्थतन्त्र उठाउने भन्ने भिजन थिएन । विदेशी प्रभुलाई ढोग्ने, ऋण अनुदान लिएर आफ्नो सम्पत्ति जोड्ने यो खालको नेता चुनिरह्यौं । यो देशमा कोही पनि नेता हुन लायकका मान्छे देखिनँ । कसैसित भिजनै छैन । दृष्टिकोणबिनाको नेताले देशलाई कहाँ पुर्‍याउँछ ? यी नेताले हाम्रो देशको सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसमेत जोगाउन सकेनन् । उनीहरूले जनताको भावनालाई सम्बोधन गरेको भए भदौ २३ र २४ गते आउँथेन ।’

अब अन्तिम विकल्पका रूपमा श्रम संस्कृति पार्टी आएको उनले घोषणा गरे । आफूहरूसँग प्रशस्त भिजन रहेको दाबी गरे । हर्कवादको अवधारणाबारे व्याख्या गरे । माटोको चर्चा गरे ।

‘श्रम संस्कृतिले मात्रै यो देशको समस्या समाधान गर्न सक्छ भनेर म एक वर्षसम्म बहस गर्न तयार छु,’ उनले भने, ‘मान्छेलाई विकासको केन्द्रविन्दु मान्ने अवधारणा हो श्रम संस्कृति । लखरलखर डुल्ने मान्छेलाई श्रमसँग जोड्ने अभियान हो श्रम संस्कृति ।’

आफ्नो पार्टीले चुनाव जित्ने र सरकार बनाउनेमा कुनै शंका नगर्न साम्पाङले आग्रह गरे ।

‘जेनजीको आन्दोनमा नभनिएको सत्य भनेको हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने हो । त्यसो भएकाले हामीले घोषणापत्रमै लेखेका छौं । सरकार गठन गरिसकेपछि हामीले नै जित्ने हो । सरकार गठन गर्ने हो । यसमा कुनै शंका छ ? त्यसपछि जेनजीको आयोग बनाउने हो । जेनजीले के भन्न चाहेको छ बुझ्नुपर्‍यो नि !’

भाषण लम्बिँदै गरेपछि सहभागीलाई झ्याउ लाग्न थालेको साम्पाङले पत्तो पाए । त्यसपछि फेरि ब्रेकका लागि गीत सुनाउने प्रस्ताव राखे ।

घुटुक्क पानी पिएर भने, ‘एउटा गीत गाउँ कि क्याहो ? गाउँ ? राष्ट्रप्रेमी ब्रेक लिन्छु । एक छिनमा नाच्नुपर्छ र फोटो खिच्नुपर्छ ।’

उनले सुनाएको दोस्रो गीत यस्तो थियो-

धुलो होइन यो

मेरो देशको माटो हो

हिलो होइन यो

मेरो देशको माटो हो

ढाँटि हिँड्ने ठगी खाने राजनीतिको अन्त्य होस्

कर्म गर्ने श्रम गर्ने संस्कृतिको सुरुवात होस्

असिनपसिन भारी बोकुँला तर

मागी खान कहिल्यै नपरोस् नि बरै

ढाँटी खान कहिल्यै नपरोस्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *