
रुपन्देही । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाले दबाब दिएका छन् । रेस्पोन्स टीम नामक संस्थाले भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा थोरै दिन मात्र उपस्थित भएको भन्दे निलम्बन गरी छानबिन गर्न माग गरेको हो ।
बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरूले लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग गर्ने पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छ्न् ।
पछिल्लो पटक ३ करोड ५६ लाख रूपैयाँको दियो बत्तीको टेण्डरमा भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टीमको आरेप छ । टेण्डरको फर्म बुझाउने समय गुज्रिसकेपछि पनि आफू निकटका ठेकेदारलाई आवेदन हाल्न दिन प्रयास गरेको तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए ।
‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर हाल्ने समय सकिएपछि पनि हाल्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन् । छानबिन गर्ने र कार्यालयको सीसीटीभी फुटेज हेर्ने हो भने मिलेमतो गरेको पुष्टि हुन्छ ।’
कोषमा निर्माणसम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौँ भुक्तानी पाउन बाँकी भएकाले रोकिने डरले सबै कुरा खोल्न नमिल्ने जिकिर गरे ।
‘यहाँ घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न । मसँग प्रमाण छ तर अहिले सार्वजनिक गर्दा मेरो बक्यौता रोकिदिन्छन्’, उनले भने ।
भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन मध्ये ८२ दिनमात्र हाजिर छिन् । उनी अधिकांश समय काठमाडौं बसेको र ३० दिन घर बिदा लिएको हाजिरी रेकर्डमा देखिन्छ । योजना प्रमुख भट्ट विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरीद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको उनले आरोप लगाए ।
सरकारी गाडी, इन्धन, भत्ता तथा सेवा सुविधालाई व्यक्तिगत विलासिताका रूपमा दुरुपयोग गरेको पनि टीमको आरोप छ ।
‘सरकारी गाडीलाई फन-ट्रिपमा प्रयोग गर्ने, गाडीलाई रित्तै काठमाडौमा पठाउने र आफू विमानबाट यात्रा गर्नेजस्ता गतिविधि भ्रष्टाचारको चरम उदाहरण हुन् । यी सबै विषयमा छानबिन आवश्यक छ’, खानले भने ।
निर्णय प्रक्रियामा अपारदर्शिता देखिँदै आएको भन्दै अध्यक्ष खानले मनलागी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरव आयोजनाको नाममा विभिन्न नदीबाट नदीजन्य पदार्थ निकाल्न कमिसन लिएर अनुमति पत्र दिने गरेको आरोप लगाए ।
लुम्बिनी विकास कोषका ज्ञानिन राईले स्थानीय युवाको टीमबाट योजना प्रमुखको निलम्बन र छानबिनको माग गर्दै ज्ञापनपत्र आएको बताउादै यसबारे माथिल्लो निकायमा जानकारी गराएको बताए ।
माओवादी केन्द्रको कोटामा नियुक्त गोरखाकी भट्टको कार्यकाल अब ३ वर्ष बाँकी छ ।

Leave a Reply