नेपाली कम्युनिस्ट पार्टीले कसरी गर्दैछ सांगठनिक समायोजन र कार्यविभाजन ? यस्तो छ प्रचण्ड-माधवको सर्कुलर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश, जिल्ला र पालिकाका इन्चार्ज, सह–इन्चार्ज, संयोजक, सह–संयोजक तय गर्ने भएको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पार्टी पङ्क्तिमा सर्कुलर जारी गर्दै सबै तहका समितिहरू समायोजन गर्ने जनाएका छन्।

सांगठानिक समायोजनबारे भनिएको छ, ‘प्रदेश, जिल्ला र पालिकाका इन्चार्ज, सह–इन्चार्ज, संयोजक, सह–संयोजक तय गर्ने र सबै तहका समितिहरू समायोजन गर्ने । यसरी नै विधान बमोजिमका संरचनाहरूको निर्माण गर्ने ।’

केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरी जिम्मेवारी प्रदान गर्ने तयारी भइरहेको उल्लेख छ। पार्टीले एकताको प्रचार र चुनावी तयारीमा लाग्न समेत निर्देशन दिएका छन्।
सर्कुलरमा भनिएको छ, ‘सबै तहका पार्टी र जनवर्गीय संगठनहरूले प्रचारात्मक कामलाई व्यवस्थित र योजनावद्धरूपमा अघि बढाउनु पर्दछ। प्रचार र प्रकाशन क्षेत्रको कामलाई व्यवस्थित गर्नका लागि विस्तृत कार्ययोजना पछि पठाइने छ। यतिबेला प्रचारात्मक क्षेत्रमा काम गर्न पार्टीका सबै समिति र जनवर्गीय एवं मोर्चा सङ्गठनहरूलाई निर्देश गरिन्छ।’

पार्टी एकताको आवश्यकता, औचित्य, महत्त्व र एकीकरणका सन्दर्भमा भएका सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्ने, नेपाली कम्युनिस्ट पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, घोषणापत्र र प्रतिबद्धताहरूको आम जनता र कार्यकर्ताबीच व्यापक प्रचार गर्ने, एकतामा सहभागी पार्टीका नेता, कार्यकताबीच एकआपसमा सौहार्दता, समझदारी र भावनात्मक एकता कायम गर्ने सामग्रीहरू प्रचार गर्न निर्देशन दिइएको छ।

विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, पर्चा, टिसर्ट, क्याप, स्टिकर, पोष्टरलगायत विभिन्न तरीकाबाट पार्टीको चुनाव चिन्ह पाँच कुने ’तारा’ को व्यापक रूपमा प्रचार गर्न, नवयुवा पुस्ता र आधारभूत वर्गका व्यक्तिहरूलाई पाटीमा जोडिन प्रेरित गर्ने सामग्रीहरू प्रचार गर्ने, पुराना, भद्दा प्रचारका तरिकाको सट्टा आजको वस्तुगत परिस्थितिअनुसार आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी

प्रचारलाई सहज, छरितो र जनताको दिल छुने गरी प्रचार अभियान सञ्चालन गर्न पनि भनेको छ।

निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता, छलफल गर्ने, केन्द्रमा सरकार र निर्वाचन आयोग तथा विभिन्न तहमा सम्बन्धित तहका निर्वाचन एवं सुरक्षा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने पनि उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *