मधेशबाट टुट्यो कांग्रेस-एमाले सहकार्य, राष्ट्रियसभा चुनावमा के होला ?

काठमाडौं । मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य टुट्न थालेको छ। एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर बिच्किएको कांग्रेसले एमालेको साथ छाडेको हो।

एमालेको साथ छाडेसँगै सात दलीय गठबन्धनको बलमा पहिलो पटक मधेशको मुख्यमन्त्री पाएको छ। सात दलको समर्थनमा कृष्ण यादव मुख्यमन्त्री बनेका छन्।

एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटेलमा शपथ गराएपछि कांग्रेसले एमालेको साथ छाडेको थियो। कांग्रेसले साथ छाडेपछि एमालेले मधेशमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमायो।

मधेशमा एमाले साथ छाडे पनि अन्य ६ प्रदेशमा भने गठबन्धन कायमै छ। नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ७ बुँदे सहमति भएपछि एमाले र कांग्रेसबीच सत्ता सहकार्य सुरु भएको थियो।

त्यही सहमति अनुसार संघमा ओली प्रधानमन्त्री बनेको भएपनि जेनजी आन्दोलनपछि सत्ताच्युत भए। प्रदेशमा भने दुई दलबीचको सहमति अनुसार कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।

मधेशमा कांग्रेसले सत्ता सहकार्य तोडेकै दिन ओलीले आज देउवालाई निवास महाराजगन्जमा पुगेर भेट गरे। जेनजी आन्दोलनपछि ओली र देउवाको यो पहिलो भेट हो। भेटमा देउवा पत्नी आरजु राणा र ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिए।

दुई नेताबीच जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमदेखि आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा दुवै दलले एक्ला एक्लै लड्ने घोषणा गरिसकेका छन्।

तर त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ। मधेशबाट सहकार्य टुटाएको कांग्रेसमा एमालेसँग सत्ता सहकार्य तोड्न चर्को दबाब छ। हालै बसेको केन्द्रीय समितिको बैठकमा पनि यो कुरा उठेको थियो।

एमालेसँगको सत्ता सहकार्यले पार्टीलाई क्षति गरेको भन्दै नेताहरूले प्रदेश सरकारमा पनि तोड्नुपर्ने धारणा राखेका थिए। तर कांग्रेसले त्यसबारे कुनै निर्णय लिएन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रियसभाको निर्वाचनमा कसै न कसैसँग मिल्नुपर्ने बताए।

उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रियसभाको चुनाव अरूजस्तो होइन, सङ्ख्याको खेल हो, हामी नमिल्दा अरू मिले परिणाम आउँदैन। त्यसैले कसै न कसैसँग मिल्नुपर्छ भन्ने हो तर त्यसबारे समय आएपछि पार्टीले निर्णय गर्छ।’

परिस्थिति फेरिएपनि राष्ट्रियसभा निर्वाचनमा एमालेसँग विगतमा भएको सहमति अनुसार नै जान्छ ? भन्ने जिज्ञासामा उनले थपे, अहिले भन्न सकिने अवस्था छैन। अब परिस्थिति कसरी जान्छ हेरौँ। छलफल होला त्यसबारे पनि।

उनले पार्टी राष्ट्रियसभाको निर्वाचनको आन्तरिक तयारी थालेर तल्लो तहबाट उम्मेदवार सिफारिस गर्न भनिसकेको बताए।

तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने अहिलेसम्म पार्टीले राष्ट्रियसभाको निर्वाचनबारे कुनै छलफल नगरेको बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीको ध्यान महाधिवेशनतिर छ। महाधिवेशन सकिएपछि मात्रै राष्ट्रियसभाको निर्वाचन सोच्छ।’

कुन दलसँग मिलेर जाने कि के भन्ने पछि नै थाहा हुने उनले बताए। मधेशबाट एमालेको कांग्रेससँग सहकार्य टुट्यो, राष्ट्रियसभाको निर्वाचनमा के हुन्छ ? भन्ने जिज्ञासामा गौतमले थपे, ‘मधेशको सत्ताबारे तलबाटै निर्णय भएको हो। राष्ट्रिय सभाको निर्वाचनबारे केन्द्रबाट निर्णय हुन्छ।’

नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्नि सापकोटाले पनि पार्टीले राष्ट्रियसभा निर्वाचनको तयारी थालिसकेको बताए। चुनावी तालमेलबारे संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले नै टुङ्ग्याउने उनले बताए।

सापकोटाले भने, ‘राष्ट्रियसभाको निर्वाचनबारे संयोजक र सहसंयोजक आन्तरिक तयारी गरिराख्नुभएको छ। अहिले कसरी जाने भन्नेबारेमा, यो चुनावमा अन्य दलसँग सहकार्य हुनसक्छ।’

कांग्रेस र एमालेमध्ये कुन दलसँग सहकार्यको सम्भावना छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘आवश्यकताको आधारमा मिल्नुपर्छ भन्ने हो, तर कुनै दलसँग भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन।’

०७६ मा भएको निर्वाचनबाट आए १९ सांसदको कार्यकाल आगामी फागुनबाट सकिँदै छ। उक्त रिक्त हुन लागेको स्थानमा माघ ११ गते राष्ट्रियसभाको चुनाव हुन लागेको हो। बिदा हुन लागेकोमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्।

एमालेबाट बिदा हुनेमा देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, सुमित्रा बिसी र शारदा देवी भट्ट रहेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी)बाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, बेदुराम भुसाल, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान रहेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह र जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव पनि कार्यकाल सकिएर बिदा हुँदै छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *