
काठमाडौं । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।
कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । उनले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताए ।
यसरी भएको थियो घटना
सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए ।
सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला पर्यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताए ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्छन्, ‘उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस (हाल रत्ननगर-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।’
उनका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो ।
सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे । त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताए । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् ।
उनका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए ।
दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए ।

Leave a Reply