
काठमाडौं । फरक पार्टीको भए पनि रास्वपा सभापति रवि लामिछानेप्रति सदाशयता राख्ने एक नेता हुन् ज्ञानेन्द्र शाही । राप्रपाका प्रवक्ता शाहीले जेनजी आन्दोलनपछि नै कारागारमा गएर दुई पटक उनलाई भेटेका छन् ।
रविसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको त्यही आधारमा भेटेको उनको भनाइ छ । विगतको सरकारले रविप्रति राजनीतिक पूर्वाग्रह साँधेको भन्दै उनले अहिलेको सरकारले न्याय दिनुपर्ने माग गरे ।
शाहीसँग गरिएको संक्षिप्त सवाल-जवाफः
तपाईँले रविलाई कारागारमा गएर भेट्नुभएको कहिले हो ?
मैले जेनजी आन्दोलनपछि मात्रै दुई पटक भेटेँ । आन्दोलनको ५-६ दिनपछि पहिलो चोटि भेटेर २-३ घण्टा कुराकानी भएको थियो । अस्ति एक हप्ता अगाडि फेरि भेटेँ ।
रवि गृहमन्त्री हुँदा त उनको निकै आलोचना गर्नुहुन्थ्यो । अहिले सहानुभूति बटुल्नाका लागि भेट्नुभएको हो ?
म कहिले पनि उनको आलोचक थिइन । गृहमन्त्री हुँदा दुई-चारजना आतंकवादी लाई नपक्रेको भनेर अलिकति असन्तुष्टि पोखेको हो । व्यक्तिगतरुपमा हामीबीच सँधै राम्रो सम्बन्ध छ ।
भेटमा के के कुराकानीहरू भए ?
पार्टीगतभन्दा भन्दा व्यक्तिगत तवरले भेटेको हो । अन्तरंग कुराकानीहरू भए ।
राजनीतिक कुराकानी पनि त भयो होला नि ?
पक्कै भयो । अब यसरी जानुपर्छ भन्ने कुराहरू भए ।
उहाँको मनस्थिति के पाउनुभएको छ ?
उहाँ आत्मविश्वासी नै हुनुहुन्छ । नर्मल हुनुहुन्छ ।
अहिलेको सरकारप्रति कत्तिको आशावादी देखिनुहुन्छ ?
त्यति आशावादी देखिनुहुन्न ।
उहाँमाथि अन्याय नै भएको हो जस्तो लाग्छ ?
दोषी-निर्दोषी अदालतले फैसला गर्ला । तर अहिले थुनेर नै अनुसन्धान गर्नुपर्ने आवश्यकता थिएन भन्ने मेरो धारणा हो ।
उनीहरूले के गरिरहेका छन् दैव जानुन् । तर, राजनीतिक मुद्दा बनाइरहेका छन् । उहाँलाई फसाइएकै हो जस्तो लाग्छ मलाई चाहिँ ।
अदालतले दिएको आदेशमा सरकारले त के गर्न सक्ला र ?
अहिलेको सरकारले अरू केही नगरे पनि मुद्दाको छिटो फैसला गर्न लगाउन त सक्छ नि त । फैसला यो गर भनेर आदेश दिन पो नसक्ला । छिटो टुङ्ग्याऊ भनेर निर्देशन दिन नमिल्ने हुन्छ र ?

Leave a Reply