
पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले प्रजातन्त्रवादी राजालाई नेपाली कांग्रेसले स्वीकार गर्नुपर्ने बताए ।
‘प्रजातन्त्रवादी राजा आउँदा समस्याको समाधान हुने भए कांग्रेस तयार हुनुपर्छ,’ सभापति शर्माले भने ।
शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति शर्माले स्थिरताका लागि प्रजातन्त्रवादी राजाका लागि पनि कांग्रेस तयार हुनुपर्ने बताएका हुन् ।
‘प्रजातन्त्रवादी राजा बनेर हाम्रो समस्याको समाधान हुन्छ र अस्थिरता उत्पन्न गर्ने वातावरण समाप्त हुन्छ भने कांग्रेस त्यसमा तयार हुनुपर्छ,’ उनले भने ।
कांग्रेसले आफ्नो सिद्धान्त बिर्सिएर अरुको सिद्धान्त अँगाल्दा पार्टी कमजोर हुँदै गएको प्रदेश सभापति शर्माको भनाइ थियो । कांग्रेस कमजोर हुँदा देशको अवस्था यस्तो भएको शर्माले टिप्पणी गरे । ‘बिराएको बाटोबाट कांग्रेस फर्किनुपर्छ ।’ उनले भने ।
प्रदेश सभापति शर्माले कांग्रेस जोगाउन समयमै महाधिवेशन हुनुपर्ने बताए । उनले नयाँ म्यान्डेट लिएर मात्रै कांग्रेस निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

Leave a Reply