कोइराला परिवारमा सहमति : मिलेर जाने, मिलाएर लैजाने

काठमाडौं । नेपाली कांग्रेसमा ‘कोइराला परिवार’ को आफ्नै भाष्य छ । कसैले यसलाई भावनात्मक मान्छन् । कसैले तागत मान्छन् । कसैले यसलाई ‘विरासतको राजनीति’मान्छन् र आलोचनात्मक दृष्टिकोण राख्छन् । कोइराला परिवारबारे अनेक धारणा भए पनि कांग्रेसभित्र कोइरालाहरुबीचको एकता वा मतभेदले प्रक्रियादेखि परिणामसम्मलाई असर पार्दछ ।

१४ औँ महाधिवेशनमा कोइराला परिवारका नेताहरू एक ठाउँ उभिन सकेनन् । डा.शेखर कोइरालाले आफ्नो टिम निर्माणको प्रारम्भिक तयारी भाइ शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमै गरेका थिए । मतदानको दिनसम्म पुग्दा शशांकले शेखरलाई मत माग्ने परिस्थिति बनेन । शशांकले चुपचाप खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । शेखरकी बहिनी शशांककी दिदी सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनिन् ।

प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेकी सुजाताले दोस्रो चरणमा पनि दाजु शेखरलाई सहयोग गरिनन् । कोइराला परिवारका ३ सक्रिय नेताहरू तीनतिर बाँडिए । परिणाम तीनैजनाका लागि सुखद रहेन । पार्टीमा तीनैजनाको प्रभाव खुम्चियो । कोइराला परिवारको विरासतमा विश्वास गर्नेहरूले कमजोर महसुस गरे । निरन्तर तीन कोइरालाबीच एकताका लागि दबाब दिइरहे ।

कांग्रेसमा कोइराला परिवारको पक्षमा पनि मत छ, विपक्षमा पनि मत छ । कोइराला परिवारका नेताहरूको राजनीतिलाई विरासतमा आधारित मान्ने पनि छन्, स्वाभाविक मान्ने पनि छन् ।

कोइराला परिवारका समर्थक र आलोचक दुवैका केही साझा स्वीकारोक्ति पनि छन् । जस्तै: आजपनि कांग्रेसमा कोइराला परिवारको विरासतसँग कार्यकर्ताको मनमात्रै जोडिदैन, परिणाममा प्रभाव पार्नसक्ने मत पनि जोडिन्छ । त्यही मत जोगाउन यतिबेला कोइराला परिवारभित्र एकता भएको छ । विगतमा भएगरेका सबै अभ्यासलाई बिर्सेर अबका दिनमा एउटै दृष्टिकोण बनाउन शेखर, शशांक र सुजाता सहमत भएका छन् ।

बुढानीलकण्ठको लञ्च : सुजाताको ताली

कोइराला परिवारभित्र राजनीतिक सम्बन्ध सुधारका लागि पहिलो अग्रसरता उनीहरू स्वयंले लिए । विगतमा पटक पटक संवाद गरे पनि जेनजी आन्दोलनपछि कोइरालाहरूको असमझदारी कमजोर भयो । एकले अर्काको अस्तित्व स्वीकार्ने संकल्प गरे । कात्तिक २३ गतेको दिन बुढानीलकण्ठको एक होटेलमा शेखर, शशांक र सुजाताले सँगै लञ्च गरे । साढे २ घण्टा सँगै रहँदा उनीहरूले पारिवारिक संवादमात्रै गरेनन्, पिता पुर्खाको योगदानको स्मरण पनि गरे ।

भावनात्मक बनेको त्यस क्षणमा शेखर र शशांकलाई जसरी पनि मिलेर जानुपर्छ भन्नेमा सुजाताले प्रेरित गरिन् । दाजुभाइ गम्भीर भएर आगामी दिनमा राजनीतिक रूपमा अलग नहुने वचन दिए । सुजाताले खुसीले ताली बजाइन् । त्यसयता कोइराला परिवारमा सुदृढ राजनीतिक समझदारी बनेको छ । उनीहरुबीच नियमित संवाद भइरहेको छ । आफू मिल्ने र अरूलाई मिलाउने ‘कमिटमेन्ट’ ले उनीहरू उत्साहित भएका छन् ।

हामी मिल्छौ, पार्टी मिलाउँछौँ : डा.शेखर कोइराला

कांग्रेस नेता डा.शेखर कोइराला अघिल्लो महाधिवेशनमा परिवारभित्र के भयो स्मरण गर्नसम्म चाहँदैनन् । ‘हिजो के भयो भन्ने कुरा मैले बिर्सिसकेको छु । अब सिंगो कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने हो । त्यसका लागि परिवारभित्र एकता नहुने कुरै छैन’, शेखरले नेपाल प्रेससँग भने । उनले आफूलाई भाइ बहिनीको साथ रहेको प्रष्ट पार्दै उनीहरूलाई पनि आफूले साथ दिने बताए ।

‘मिल्ने भनेको मेरो लागि मात्रै मिल्ने कुरा होइन । उनीहरूका लागि पनि म छु, मेरा लागि उनीहरू छन् । हामी सबै कांग्रेसका लागि मिलेका छौँ, मिल्छौँ’, शेखरले भने । कांग्रेसभित्र सबैले सम्मानजनक भूमिका पाउने अवस्था सुनिश्चित गर्न र पार्टीलाई एक ढिक्का बनाएर जनतामा लैजान आफूले सधैँ प्रयास गरिरहेको बताए ।

‘कांग्रेस कमजोर हुँदा देश नै कमजोर भयो । कांग्रेसलाई सही दिशा दिन कोइराला परिवार मात्रै होइन सिंगो कांग्रेस मिलाउनुपर्नेछ । परिवार र पार्टी दुवै मिलाएर लैजान्छु’, शेखरले भने । उनले पारिवारिक विरासतभन्दा कार्यकर्ताको भरोसा मुख्य हुने भन्दै आफूले पार्टीमा योगदान भएका सबैसँग सहकार्यका लागि संवाद गर्ने बताए ।

महाधिवेशनमा मिलेरै जान्छौँ : डा.शशांक कोइराला

कांग्रेस महामन्त्री रहिसकेका डा.शशांक कोइरालाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याए । शालीन राजनीतिज्ञको छवि बनाएका उनले दाजुभाइमा अब समस्या नहुने प्रष्ट पारे ।

‘कोइराला परिवार एकै हुनुपर्छ भनेर सबैले भन्नुहुन्छ । हामीले पनि महसुस गरेका छौँ । अब हामी मिल्छौँ’, शशांकले नेपाल प्रेससँग भने । उनले पार्टीभित्र कोइराला परिवारको जत्तिकै योगदान भएकाहरू किनारा लाग्दै गएको भन्दै सबैलाई समेट्न पहल लिने बताए । ‘कांग्रेस इतिहास भएको पार्टी हो । यसको इतिहास जति गर्विलो छ भविष्य पनि उत्तिकै आशावादी हुनुपर्छ । त्यसका लागि कोइरालाहरू मात्रै होइन सबै कांग्रेस मिल्नुपर्छ’, उनले भने ।

पार्टीभित्र एकताको वास्तविक सन्देश दिन जरुरी रहेको भन्दै शशांकले कार्यकर्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले कोइराला परिवारभित्र नियमित संवाद र सहकार्य कायम रहेको भन्दै अबको महाधिवेशनमा आफूहरू दुईतिर नहुने बताए ।

शुभेच्छुकको चाहना पूरा गर्छौ : सुजाता

१४ औँ महाधिवेशनमा उपसभापतिमा प्रतिस्पर्धा गरेकी नेतृ सुजाता कोइराला अबको महाधिवेशनमा तीन कोइराला तीनतिर नहुने बताउँछिन् । कांग्रेसभित्र बृहत्तर एकताको खाँचो रहेको भन्दै उनले कोइराला परिवारमा अब कुनै समस्या नरहेको बताइन् ।

‘अहिले देशको परिस्थिति गम्भीर बन्दै गएको छ । पार्टीहरुमा पनि समस्या छ । कांग्रेसभित्र सही नेतृत्व आयो भने त्यसले देशलाई पनि निकास दिनसक्छ । त्यसैले कांग्रेसमा एकता कायम गराउन कोइराला परिवार एकैठाउँ उभिन्छ’, सुजाताले नेपाल प्रेससँग भनिन् । उनले नेतृत्वको विषयमा अहिले नै बोल्न हतारो हुने भन्दै मूल कुरा एकता रहेको बताइन् ।

‘शेखर र शशांक दुवै नेतृत्वको लागि योग्य हुनुहुन्छ । दुईमध्ये को हुने भन्दापनि सबै जना सँगै हुने सहमति महत्त्वपूर्ण हो’, सुजाताले भनिन् । आफूलाई भेट्न आउने सबैजसो नेता कार्यकर्ताले कोइराला परिवार एकै ठाउँ उभिनुपर्ने सुझाव दिने गरेको भन्दै उनले अबको महाधिवेशनमा शुभेच्छुकको त्यो चाहना पूरा हुने बताइन् ।

कोइरालाको तागत कति ?

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेतृत्वमा कोइरालाहरूको विशेष प्रभाव रही आएको छ । यो क्रम सुशील कोइरालाको निधन नहुँदासम्म कायम रह्यो । बिपीको निधनपछि कृष्णप्रसाद भट्टराईले सभापति भएर नेतृत्व गरे पनि महामन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा विशेष प्रभाव राख्दथे ।

२०५३ सालमा दशौं महाधिवेशनबाट सभापति भएका कोइराला २०६६ साल चैतमा निधन हुनुअघिसम्म कांग्रेसको केन्द्रमा रहे । कार्यवाहक सभापति हुँदै १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए । २०७२ साल माघ २६ गते कांग्रेसको जिल्ला अधिवेशनकै दिन कोइरालाको निधन भयो । सोही वर्ष फागुनमा १३ औँ भएको महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा उदाए ।

महामन्त्रीमा शशांक कोइराला निर्वाचित भए । २०७९ मंसिरमा भएको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्दै डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धी भए । त्यतिबेला कोइराला परिवारभित्र राजनीतिक एकता नभए पनि धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.रामशरण महत लगायतका प्रभावशाली नेताहरूको साथ शेखरलाई रह्यो । १५ औँ महाधिवेशनको दृश्य स्पष्ट नभइसकेपनि कोइराला परिवारको आन्तरिक एकताले तरंग सिर्जना गर्ने निश्चित छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ डा.शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका थिए । १३ औँ महाधिवेशनमा खुल्ला तर्फको सर्वाधिक लोकप्रिय मत डा.शेखर कोइरालाले ल्याएका थिए । १३ औँ महाधिवेशनमै खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने एकमात्रै महिला सुजाता कोइराला थिइन् । शीर्ष २५ मा सुजाताबाहेक सबै पुरुष उम्मेदवारले जितेका थिए ।

विगतको यस तथ्यले कोइरालाहरू कांग्रेसमा लोकप्रिय रहेको देखाउँछ । यद्यपि पारिवारिक एकतामात्रै कोइरालाहरुलाई कांगे्रेसको नेतृत्वमा पुर्याउन काफी छैन । यसका लागि पार्टीभित्रका अन्य समीकरणहरू मिल्नुपर्ने हुन्छ । त्यसप्रति आफूहरू सचेत रहेको डा.शेखर कोइराला बताउँछन् । ‘कोइरालाहरुमात्रै होइन कांग्रेसका सबै पक्षसँग मिल्ने हो । परिणाम ल्याउनका लागि हामीमात्रै मिलेर हुँदैन । त्यसैले पहिले आफूहरू मिल्ने र क्रमशः सबैलाई मिलाउने हाम्रो तयारी छ’, शेखरले भने ।

कांग्रेसभित्र भावी नेतृत्वका लागि शेखर र शशांकबाहेक कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला र युवानेता कल्याण गुरुङले आकांक्षा देखाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *