सिन्धुलीमा अध्यक्षले नै गरे गाउँपालिका तालाबन्दी, उपाध्यक्ष प्रतिवादमा

सिन्धुली । मरिन गाउँपालिका अध्यक्षले नै लेखा शाखामा तालाबन्दी गरेपछि कार्यालयको काम अस्तव्यस्त बनेको छ ।

अध्यक्ष प्रख्यात मुक्तानले लेखाबाट आफूलाई असहयोग भएको भन्दै ताला लगाएको त्यहाँका कर्मचारीहरुले नेपाल प्रेसलाई बताएका छन् ।

लेखा शाखाले हरेक काममा बखेडा सिर्जना गरेको भन्दै केही दिनअघि अध्यक्ष मुक्तानले उपाध्यक्ष विमला माझीसँग असन्तुष्टि व्यक्त गरेका थिए । यसबारे प्रतिक्रिया लिनका निम्ति सम्पर्क गर्दा मुक्तानले फोन रिसिभ गरेनन् । उपाध्यक्ष माझीले अध्यक्षको यस्तो कार्यको आफूले प्रतिवाद गरिरहेको बताइन् ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार अध्यक्षले नै लेखा शाखामा ताला लगाइदिएपछि कार्यालयका काम ठप्प भएका छन् भने सेवाग्राही प्रभावित भएका छन् । विभिन्न शुल्क तिर्न आउने सेवाग्राहीलाई फर्काउनुपरेको ती कर्मचारीले बताए ।

अध्यक्ष मुक्तान तत्कालीन माओवादी केन्द्र र हालको नेकपासम्बद्द हुन् । उनी सांसद राजन दाहालका निकटस्थ मानिन्छन् । गत असारमा अध्यक्ष मुक्तानले प्रक्रिया नपुगेको एउटा बिल भुक्तानीका लागि दबाब दिएका थिए । लेखा अधिकृतले उक्त कुराको प्रतिवाद गर्दा आक्रमणको प्रयास भएपछि सिडियो कार्यालयमा हाजिर भएर बसेका थिए ।

केही दिनपछि ‘अनावश्यक दबाब नदिने’ सहमति भएको थियो । त्यसपछि पछि लेखा अधिकृत काममा फर्किएका थिए । सोही विवाद बढ्दै जाँदा अध्यक्ष मुक्तानले आफैँले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *