नारायण गोपालकी धर्मपत्नीको आग्रहमा लोचनले रेकर्ड गराएकी थिइन्- माया गर्नेको…

काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३५ औँ स्मृति दिवस । नेपाली संगीतको शिखर पुरुष नारायण गोपाल २०४७ साल मंसिर १९ गते परलोक भएका थिए । उनका गीतहरू पुराना श्रोतामाझ मात्रै होइन, जेनजी पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् ।

उनै नारायण गोपालसँग नजिक रहेका संगीतकर्मीमध्ये एक हुन्, वरिष्ठ गायिका लोचन भट्टराई । ‘रिटरिटिङ बजाऊ बिनायो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘ए दाजु नसमाऊ नाडीमा’, ‘तिहारै आयो लौ झिलिमिली’ लगायत कालजयी गीतमा स्वर भरेकी लोचनको सांगीतिक करियरमा ‘माया गर्नेको’ बोलको गीतको विशिष्ट स्थान छ । किनभने यो गीत नारायण गोपालसम्म पुगेर ठोक्किन्छ ।

२०४४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लोचन प्रथम हुँदा जज थिए नारायण गोपाल । तर, त्यस वेला उनको औपचारिक भेट भने भएको थिएन ।

२०४५ सालको कुरा हो, एक दिन संगीतकार भूपेन्द्र रायमाझी लोचनकहाँ आए । भूपेन्द्रकै संगीतमा लोचनले रेडियो नेपालमा गीत गाएकी थिइन् । भूपेन्द्रले लोचनलाई भने, ‘नारायण गोपालले रेडियो नेपालमा फर्स्ट हुने गायिकालाई बोलाऊ भनेर भन्नुभएको छ ।’

सुरुमा त लोचनले भूपेन्द्रको कुरालाई पत्याइनन् । रेडियोमा सुनेको नारायण गोपाल । क्यासेटको कभरमा मात्रै देखेको नारायण गोपाल । उनैले आफूलाई भेट्न बोलाएको कुरा उनले पत्याइहाल्न सकिनन् । तर, भूपेन्द्रले कन्भिन्स गरेपछि भने लोचन नारायण गोपाललाई भेट्न गइन्, कालिकास्थानमा ।

म्युजिक नेपालको स्टुडियो भर्खरै खुलेको थियो । साढे तीन वर्षको छोरालाई लिएर लोचन कालिकास्थान पुगिन् । तर, नारायण गोपालको अघि के बोल्ने केही मेसो थिएन । उनले सिर्फ नमस्कार मात्रै गरिन् । नारायण गोपालले बस्न इशारा गरे । अनि सोध्न थाले-

‘तिमीलाई यो गीतको कोरस आउँछ ?’ लोचनले टाउको हल्लाइन् ।

नारायण गोपालले फेरि अर्को गीतबारे सोधे । लोचनले टाउको हल्लाइन् । सोध्ने र टाउको हल्लाउने क्रम केही बेर चलिरह्यो । तबला वादक राजु अग्रवाललाई समोसा लिन न्युरोड पठाए नारायण गोपालले । सबैले समोसा खाए । छुटे । रिहर्सल नै भएन ।

त्यसपछि एकै पटक प्रज्ञा भवनमा कार्यक्रम भयो । लोचनले कोरसमा नारायण गोपाललाई साथ दिइन् । यसपछि कहिले पोखरा, कहिले धनगढी, कहिले दार्जिलिङका कार्यक्रमहरूमा लोचन नारायण गोपालसितै गुन्जिइन् । युगल गीतहरूमा नारायण गोपाललाई साथ दिइन् ।

एक दिन लोचन नारायण गोपालको घर गएकी थिइन् । नारायण गोपाल गीत रियाज गरिरहेका थिए । लोचनलाई नारायण गोपालले भने, ‘विश्वविद्यालयको एउटा कार्यक्रम छ । म दुईचार वटा गीत गाउँदै छु । एउटा नयाँ युगल गीत कम्पोज गरेको छु ।’

अनि लोचनलाई सुनाए, ‘माया गर्नेको चोखो माया पनि देखियो ।’

कालीप्रसाद रिजालले लेखेको यस गीतमा नारायण गोपाल स्वयंको संगीत थियो । यही गीतमा लोचनले पनि रियाज गरिन् ।

छुट्ने वेला नारायण गोपालले भने, ‘अर्को एक जना साथी पनि खोज न गाउनलाई ।’

लोचनले गायिका सुनिता सुब्बालाई भनिन् । सुनिताले एक वचनमै मानिन् । दुवैले गीत रियाज गरे । कार्यक्रम भयो । दुवैले गीत गाए र त्यही कार्यक्रम नै नारायण गोपालको जीवनको अन्तिम कार्यक्रम भयो । यसपछि २०४७ मंसिर १९ गते उनको निधन भयो ।

नारायण गोपाल बिते पनि लोचनले यो गीतलाई हरेक स्टेजमा गाइन् । उनलाई फर्माइस पनि यही गीतको धेरै हुन्थ्यो । गीत रेकर्ड त भएको थिएन । तर, ज्यादै पपुलर बनिसकेको थियो ।

एक दिन लोचनलाई नारायण गोपालकी धर्मपत्नी पेमलाले भनिन्, ‘तपाईँको आवाजमा रेकर्ड गर्नुस् यो गीत ।’

अनि लोचनले २०४९ सालमा रेडियो नेपालमा यो गीत पहिलो पटक रेकर्ड गराइन् ।

०००

नारायण गोपाल सिकिस्त बिरामी थिए । उनको मिर्गौलाको डाइलाइसिस भइरहेको थियो । सुगरले निकै साह्रो गरी च्यापेको थियो । खुट्टाहरू सुन्निएका थिए । तर, गायनमा भने सक्रिय नै थिए । २०४७ सालको एक दिन गायिका लोचन भट्टराई नारायण गोपालको घरमा गइन् । नारायण गोपालसँग दिनभरि बसेर गफ गरिन् ।

र, अन्त्यमा लोचनले भनिन्, ‘दाइ अहिले त धेरै सजिलो छ, हजुरलाई म किड्नी दिन्छु ।’

नारायाण गोपालले भने, ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ ।’

बरु आफू तराईको कुनै ठाउँमा थोरै जग्गा लिएर बस्न चाहेको बताए । जहाँ केराघारी होस् । लिचीका बोटहरू होउन् । आँपका बोटहरू होउन् । माछा पोखरी होस् । गाईको हुल होस् । सबै गाईहरूको घाँटीमा घण्ट होस् । गाईहरू लस्करै हिँड्दा घण्टहरू बज्छन्, मधुर आवाज निस्कन्छ । जसले आफूलाई शान्ति दिनेछ ।

नारायण गोपालले भनेका थिए, ‘गाईहरू लाम लागेर हिँड्छन् । उनीहरूको घण्ट बज्छन् । कस्तो मधुर आवाज आउँछ होला ।’

०००

२०४७ साल । नारायण गोपाललाई वीर अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आईसीयुमा राखिएको थियो । लोचन अस्पताल पनि गइरहन्थिन् ।

अहिले आएर लोचनलाई थकथक लाग्छ, ‘नारायण गोपाल दाइको जीवनको कति महत्त्वपूर्ण कुरा क्यामेरामा कैद हुनै पाएन ।’

नारायण गोपाल बिरामी भएको थाहा पाएपछि शुभचिन्तकहरूले अस्पतालको भित्ताभरि चिठी र सन्देशहरू कागजमा लेखेर टाँसेका थिए । कति कागजमा लेखिएका थिए, ‘म किड्नी दिन्छु ।’

लोचन अस्पतालको त्यो दृश्य सम्झिन्छिन्, ‘यति धेरै कागजहरू टाँसिएका थिए कि म शब्दमा भन्न सक्दिनँ । मेरो आँखामा झलझली छ । बाहिर बाटोदेखि नै नारायण गोपालको स्वास्थ्यको कामना गर्दै ठूलो भीड लागेको हुन्थ्यो ।’

मिर्गौलाको बिरामीलाई खानै मन नलाग्ने । अनि नारायण गोपालको परिवार भने झोल तरकारी भए पनि खुवाउन चाहने । एक दिन लोचनलाई नारायण गोपाल पत्नीले भनिन्, ‘दाइले खानुहुन्छ कि बहिनी, एक पटक दाइलाई भन्नू न !’

तर, लोचनलाई नारायण गोपालले भन्थे, ‘तिमीलाई भाउजूले पठाएकी हो ?’ अनि खानै मान्थेनन् ।

लोचनका अनुसार नारायण गोपाल एकदमै सिकिस्त हुँदा उनको एउटै चाहना थियो, आफ्नो तत्कालको अवस्थाको कुनै पनि फोटो नखिचियोस् । हुन पनि त्यसवेलाको नारायण गोपालको फोटो पनि छैन । बरु आफूलाई दर्शक, श्रोताले जुन रूपमा देखेका छन्, त्यही रूपमा नै सधैँ उनीहरूको मनमा बस्ने चाहना लोचनलाई सुनाएका थिए ।

लोचन भन्छिन्, ‘तर, उहाँका शुभचिन्तकहरूले हातले लेखेका कागजका चिर्कटोहरू भित्ताभरि नै थियो । पछि उप्काएर कता फालियो होला ? कसैले क्यामेराले भिडियो पनि खिचेन । संकलन गरेको भए अहिले पुस्तककै रूपमा तयार हुन्थ्यो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *