ह्वीलचेयरमै बसेर बञ्जी ! अपाङ्गता भएका २ युवाको साहस

सिन्धुपाल्चोक । साहस केवल शरीरले मात्र नभई, दृढ इच्छाशक्तिले जन्माउने कुरा हो भन्ने प्रमाणित गर्दै अपाङ्गता भएका दुई युवाले ह्वीलचेयरमै बसेर बञ्जी जम्प गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-५ का ३६ वर्षीय दिलीप सापकोटा र सिन्धुलीका २५ वर्षीय शिशिर दाहालले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा भोटेकोशी गाउँपालिकाको नयाँ पुलस्थित बञ्जी स्पटबाट ह्वीलचेयरमै बसेर साहसिक छलाङ मारेका हुन् ।

मेरुदण्ड पक्षघातका कारण १५ वर्षदेखि पूर्ण अपाङ्ग सापकोटा १३ वर्षदेखि ह्वीलचेयरमा दैनिकी बिताउँदै आएका छन् । केही वर्षअघिसम्म सदरमुकाम चौतारामा मोबाइल पसल सञ्चालन गर्दे आएका उनी बिरामी भएपछि पूर्णरूपमा शारीरिक अपाङ्गता छन् । अहिले सापकोटामा जीवनप्रतिको ऊर्जा, उत्साह र जोशले भरिपूर्ण छ ।

अपाङ्गता भएकाहरूका लागि बञ्जी जस्तो साहसिक खेल झनै जटिल मानिन्छ, तर सापकोटाले ह्वीलचेयरमै बसेर बञ्जी गरेर ‘अपाङ्गता कमजोरी होइन’ भन्ने सन्देश दिएका छन् ।

उनी भन्छन्- यी खेलहरू मेरो व्यक्तिगत साहस मात्र होइन, नेपालमा पहुँचयुक्त पर्यटन विकास होस्, अपाङ्गता भएकाहरूले पनि हाइकिङ, ट्रेकिङ र एडभेञ्चर गतिविधिमा समान अवसर पाउन् भन्ने चाहना हो । यही उद्देश्यले म निरन्तर नयाँ-नयाँ साहसिक गतिविधिमा सहभागी हुन्छु ।

सापकोटा हाल अपाङ्गता भएकाहरूको संगठन बीआईएमा खेलकुद तथा मनोरञ्जन विभाग प्रमुख र जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च मार्फत समावेशी पर्यटनको वकालत गर्दै आएका छन् ।

अर्का साहसी युवा सिन्धुली कमलामाई-५ का शिशिर दाहाल ४ वर्षदेखि ह्वीलचेयर प्रयोग गर्छन् । २५ वर्षीय शिशिर कृषि उद्यम र नर्सरी व्यवसायमा संलग्न छन् । दाहालले पनि सोही दिन सापकोटासँगै बञ्जी गरेर अपाङ्गता भएका युवाहरूको आत्मविश्वासमा इँटा थपे ।

नेपालमा पहुँचयुक्त पर्यटनको अभावका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरू साहसिक गतिविधिबाट टाढा रहँदै आएका छन् । सापकोटा र दाहालको यस कदमले नेपालमा समावेशी पर्यटनको सम्भावनालाई पुनः उजागर गरेको छ ।

ह्वीलचेयरमै बसेर गरिएको यो बञ्जी जम्प केबल व्यक्तिगत जीत मात्रै होइन, ‘समान अवसर, समान सहभागिता’ को सन्देश बोकेको ऐतिहासिक क्षण पनि भएको दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *