एनपीएल २: लुम्बिनी र जनकपुरको भिडन्तमा थप दुई टीमको चासो, यस्तो छ ‘प्ले अफ’ को गणित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुग्ने ३ टीमको टुंगो लागिसकेको छ भने बाँकी एक स्थानका लागि चार टीम प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये सबैभन्दा बलियो दाबेदारी रहेको छ लुम्बिनी लायन्सको ।

सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका हुन् । ६ म्याचमा शतप्रतिशत जित हासिल गरेको सुदूरपश्चिमले क्यालिफायर खेल्ने पक्का गरेको छ । समूह चरणका शीर्ष दुई टीम क्वालिफायरमा भिड्छन् र हार्ने टीमले अर्को एक मौका पाउँछन् ।

तेस्रो र चौथो स्थानमा रहेका टीमले इलिमिनेटर खेल्नुपर्छ । इलिमिनेटरमा हार्ने टीम बाहिरिन्छ भने जित्ने टीमले पहिलो क्वालिफायरमा हार्ने टीमसँग दोस्रो क्वालिफायर खेल्नुपर्छ । पहिलो क्वालिफायर जित्ने र दोस्रो क्वालिफयर जित्ने टीम फाइनलमा पुग्छन् ।

आज हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको म्याचले प्लेअफको छिनोफानो गर्न पनि सक्छ । यदि लुम्बिनीले जित्यो भने बाँकी तीन टीम (जनकपुर, पोखरा र चितवन) को ढोका बन्द हुनेछ । लुम्बिनीले अहिलेसम्म तीन म्याच जितेर ६ अंक बटुलेको छ । दुई-दुई म्याच जितेका पोखरा र चितवनसँग ४ अंक छ भने एक म्याच मात्रै जितेको जनकपुरसँग् २ अंक छ । लुम्बिनीले आज जितेमा उसको ८ अंक पुग्छ र बाँकी तीन टीमको खेल खत्तम हुन्छ ।

यदि लुम्बिनीलाई जनकपुरले हरायो भने चाहिँ चारवटै टीमको सम्भावना जीवित रहन्छ । जनकपुरले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच हारेमा उसले घर फर्किनुपर्छ । दुवै म्याच राम्रो अन्तरालले जितेमा मात्रै उसको सम्भावना रहन्छ ।

भोली समूह चरणका दुई म्याच हुनेछन् । पहिलो म्याचमा बिराटनगर र सुदुरपश्चिम भिड्नेछन् । यी दुवै प्लेअफमा पुगिसकेका टीम हुन् । सुदुरपश्चिमका लागि यो म्याचको कुनै अर्थ छैन । विराटनगरका लागि भने महत्वपूर्ण किन हुन छ भने ठूलो अन्तरले जितेमा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएर क्वालिफायरमा स्थान सुरक्षित गर्न सक्छ । हारेमा इलिमिनेटरमा धकेलिन्छ ।

भोलिको दोस्रो म्याचमा चितवन र पोखरा भिड्नेछन् । आजको म्याचमा लुम्बिनीले जिते यो म्याच अर्थहीन बन्ने छ । लुम्बिनीले हारेमा भने दुवै टीम ठूलो जितको खोजीमा हुनेछन् ।

पर्सी समूह चरणको अन्तिम म्याचमा जनकपुर र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्लेअफ दौडबाट बाहिरिइसकेको छ । त्यसैले उसका लागि प्रतिष्ठाको विषय मात्र हो । जनकपुरले आजको म्याच हारेमा यो म्याच पनि अर्थहीन बन्ने छ । जनकपुरले आज जितेमा भने पर्सीको म्याचले अन्तिम स्थानको छिनोफानो गर्न सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *