
कात्तिक २४ गते बिहान महोत्तरीको एउटा होटेलमा एमालेका मधेश प्रदेश सभा सदस्यहरूले ‘शपथ’ खाए । सिन्धुली र महोत्तरीको सीमा जोडिएको त्यो होटेलमा अरु चैँ बिहान चिया खान पुग्थे, साँझ दारूपानी खान जान्थे । झर्राे भाषामा भन्नुपर्दा बिहान पिउन र साँझ ‘धोक्न’ । तर नेपाल सरकारले नै ‘खानेपानी मन्त्रालय’ चलाएपछि हामीले चैँ पानी र चिया ‘पिउन’ छाडेर ‘खान’ थाल्यौँ । त्यहाँ एमालेका नेताहरूले भने मधेश सरकारको मुख्यमन्त्री र मन्त्रीको ‘शपथ’ खाएका थिए ।
अरूलाई यो ‘हजम’ को विषय भएन । त्यसपछि एक खालको वक्तृत्वकला पनि सुरु भयो, ‘होटेलमा शपथ खान हुन्न भनिएको छैन, पूर्वमुख्यमन्त्रीहरुले पनि ठाउँ अनुकूल शपथ खाएका छन्, यस पटक होटेल परेको हो ।’ तर्क गजब थियो सुँगुरले जीवन जल नखाए पनि फोहोर खाएर झाडापखाला लागेको छैन भनेजस्तै ! त्यही दिन, त्यहीँ पुगेकी मधेशमा राप्रपाको एक मात्र प्रदेश सांसद (समानुपातिक) कञ्चन बिच्छा पनि ‘एक थान’ विनविभागीय मन्त्रीको शपथ खाएर एमालेप्रति कृतकृत्य बनेर जनकपुर फर्किन् ।
उनलाई मंसिर ८ गतेको बैठकले ‘वन तथा वातावरण मन्त्रालय’को ‘मुखिया’ पनि एमालेबाट उपलब्ध भयो । तर त्यसअघि नै कात्तिक २४ गते नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको ‘वापस’ हुने निर्देशन मिलेको थियो । एकबारको जुनीमा राप्रपाले सांसद बनाइहाल्यो, एमालेले मन्त्री बनाइ त गयो, किन वापस हुने भनेर उनले पार्टीमा ‘स्पष्टीकरण’ बुझाइन् । ‘मन्त्रीमै रहिरहन पाए हुने’ जस्तो आशय लेखेपछि उनलाई अनुशासन समितिले हटाउन भन्यो र मंसिरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपाबाट ६ महिना र मधेश प्रदेश सभाबाट ‘यो कार्यकालका लागि पदमुक्त’ को पनि कोर्रा लगायाे । यस्ताे कठोर निर्णय गर्दा कञ्चनले मन्त्री भएर ३-४ पनि मन्त्रालयको कुर्सीमा ज्यान टाँस्न पाइरहेकी थिइनन् ।
हठात् मंसिर १५ गते राति सर्वोच्चले भन्यो, ‘मंगलबारभित्र विश्वासको मत लिनू, नत्र सरकार बनाउने बाटो क्लियर गरिदिनू ।’ अब कञ्चनलाई तथास्तु भन्ने शक्ति नै क्षीण भएको बेला उनीसँग मन्त्री त के सांसदको पद पनि ‘भूतपूर्व’ भएको छ । जबकि यत्रो जेन-जी आन्दोलनले १८ घण्टामै सत्ता ढाल्दा र प्रदेशले काम गरेन भनेर सबैको स्वर ठूलो हुँदा पनि प्रदेश सरकारलाई कसैले फालेनन् । बरु प्रदेश सभामा पुगेकाहरू ‘आफैँ फालिने चिजको विकास उहाँहरूबाटै’ भइरह्यो ।
अरूको ‘सोम खेती–बुध घर’ हुन्छ भन्छन् । एमालेका लागि मधेशमा यस्तो भएन । कात्तिक २४ गते पात्रोमा सोमबार नै थियो र मंसिर १७ गते बुधबार । तर सोमबार सुरु भएको एमालेको मुख्यमन्त्री खेती बुधबार घरमा परिणत हुनु पर्नेमा अरूले जति विश्वासको मत दिने समय (एक महिना) पनि नपाउँदै २२ दिनमै गर्लम्म ढल्यो । एमालेको मुख्यमन्त्रीको घर मात्र ढलेको थिएन, यति खेरसम्ममा प्रदेश प्रमुख अझ महिला पदमुक्त, सभामुख रामचन्द्र मण्डल २ तिहाइबाट बर्खास्त र बुधबार मुख्यमन्त्री सरोजकुमार यादव ७४ सांसद उठेर बाहिर गएपछि उहाँहरू बस्ने कुर्सीलाई भाषण श्रवण गराइरहेका थिए ।
‘सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई बर्खास्त गरेर पुरानैलाई फिर्ता नगरेकाले यो मुद्दामा एमालेको जित भयो,’ नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलकै तर्क दिँदै थिए मुख्यमन्त्री यादव खाली कुर्सीहरूलाई । यो बाहेक एमालेको अरु लाभ के हो, हानि कति हो ? कोही बोल्दैनन् । एमाले मधेश इन्चार्ज लीला श्रेष्ठ जनकपुर र मधेशका पत्रकारको फोन नउठाउने वाचाबन्दीमै छन् जस्तो छ । धेरैले सुनाउँछन्, ‘उहाँको फोनै उठ्दैन ।’ यो बीचमा नेकपा एमालेका कैयौँ सचिवालय बैठक पनि भए, त्यहाँ पनि कोही बोलेको सुनिएन । पार्टीमा हेभिवेट नेता रघुवीर महासेठदेखि लीला श्रेष्ठ हुँदै पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, ज्वाला साहहरूको मौनता के का लागि थियो ? यही हुन थियो या यो भन्दा अरु हुन बाँकी छ ? उहाँहरूलाई सचिव योगेश भट्टराईले लेखेको फेसबुकको लामो स्ट्याटसले पनि छोएन सायद ।
कात्तिक २४ गते एमालेको मुख्यमन्त्री बनेपछि मधेश प्रदेश सभा तोडफोडदेखि कांग्रेसबाट मन्त्री भइसकेका वीरेन्द्र सिंहले त नेपालको झन्डामाथि समेत आक्रमण गरे । भलै पछि कांग्रेसका पेटी पत्रकारहरूले भने, ‘यो एआई बाट हो, नेताबाट होइन ।’ जबकि आन्दोलनका सबै सपाट दृश्य सत्य हुने र नेपालको झन्डा फालेको दृश्य एआईको हुने कुरै थिएन । कात्तिक २४ गते नै राष्ट्रिय मुक्ति पार्टीका महासचिव युवा नेता केशव झाले फेसबुकमा लेखेका थिए, ‘अब एमालेमुक्त मधेश प्रदेशको कल्पना गरौँ र सबै एक बनौँ ।’ यतिखेरसम्म कांग्रेस अहिलेको सात दलको गठबन्धनमा गइसकेको थिएन । त्यही दिनदेखि कांग्रेस पनि एमालेलाई छाडेर हिँड्यो र अन्ततः अरूका लागि ‘सोम खेती-बुध घर’ एमाले मधेशका लागि र्याङको ठ्याङ उल्टो भयो ।
बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले सम्बोधनमा होच्याउन, हियाउन कसैलाई बाँकी राखेनन् । खाली कुर्सीहरू साक्षी राख्दै उनले बोलिरहे, ‘जसपा नेपाललाई दिइएको विश्वासको मतको फिर्ता गर्न नैतिकता देखाउनु भएन, आज आँखा जुधाउन नसकेर बाहिरिनु भयो, जनमतलाई समर्थन गरेका थियौँ, आज त्यसको ऋण फिर्ता गर्न सक्नु भएन र भाग्नु भयो । अनि कांग्रेसले जे मागे पनि साथ दियौँ, अहिले पनि मुख्यमन्त्रीमा समर्थन गरेका थियौँ, उहाँहरूलाई पनि आज आँखा जुधाएर बस्न नसक्ने बनाउने एमाले हो, एमालेले मधेशमा थुप्रै लोकप्रिय कार्यक्रम ल्याएको छ, सर्वोच्चले बर्खास्त नगरेपछि तपाईँहरूको नैतिकतामा संकट आयो, म बुझ्छु ।’
उसो त मुख्यमन्त्री यादवले दलहरूलाई मात्रै होइन, अरूलाई पनि पेच हानिरहेका थिए । उनले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको नांगो हस्तक्षेपले सरकार तलमाथि भयो भनेर खुलेआम बोले । यसको अरु दलहरूले तत्काल खण्डन गरे । एमाले मधेशका अध्यक्ष चन्देश्वर मण्डल पनि देशी विदेशी शक्तिले गठबन्धनबाट जनमत फुटाएको बताउँछन् । त्यो देशी विदेशी को हो ? पछि कांग्रेस पनि एमालेसँग बिच्किएको छ । २०७९ को प्रदेश सभा निर्वाचनमा मधेशमा ठूलो बनेको दल नेकपा एमालेका लागि यसले पुर्याउने क्षतिहरूबारे समीक्षा होला कि भन्ने झिनो आसा मात्रै छ । अरु त केही भन्न सकिन्न । नेताहरूको मौनता के मा अड्किएको छ, थाहा छैन । यति बेला उही प्रकाश सपूतको गीत सुनेर बस्नु ठिक हुन्छ, ‘गाइदेऊ गीत किन भाउ खा’कि छौ, कि त मुखमा पिँडालु राखिछौ ।’
कम्युनिस्टहरूले भन्ने गरेको मूलतः एवं रीतले, करिबन करिबन मधेशमा एमालेका लागि यो ठूलो क्षति हो । २५ सिटमध्ये प्रदेश सभाका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । उनलाई अख्तियारले जेठ २७ गते मुद्दा दायर गरेपछि एमाले संसदीय दलका उपनेता रहेका ठाकुर संसद प्रवेशमा निषेध छन् । यही दिन प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली मधेशमा पुगेका थिए । पार्टी अध्यक्ष आएका दिन मधेश प्रदेश सभाका संसदीय दलका उपनेता नै निलम्बनमा परेका थिए ।
यता, बागमती प्रदेशमा पनि चैत ७ गतेसम्मलाई सहमति गरेर मुख्यमन्त्री बनेको नेपाली कांग्रेसले राप्रपाबाट निर्वाचित सभामुख भुवन पाठकको राजीनामापछि एमालेसँग सुमधुर सम्वाद गर्न सकेको छैन । बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताको दूरी निकै टाढिएको छ ।
एमाले सभामुख खोजिरहेको छ भने कांग्रेस सभामुख आफूलाई मागिरहेको छ, नदिए मुख्यमन्त्री एमालेलाई फिर्ता गर्न पनि तयार नहुन सक्छ । किनभने एमालेले वामदलहरुसँग मिलेर सरकार बनाउन २ भोट कम हुनेछ भने कांग्रेसले एमालेबाहेक सरकार बनाउन सक्छ । जसरी अहिले मधेशमा एमालेविनै कांग्रेसले चाहे आफू नत्र मधेशी दललाई मुख्यमन्त्री दिन सक्ने हैसियत छ ।
मधेशसँगै बागमतीमा समेत एमालेका लागि मुख्यमन्त्री बिस्तारै संकटको बादल बनिरहेको छ । यसको केन्द्रीय तहमा समीक्षा भइरहेको छैन । एमाले महाधिवेशनमा होमिएको छ । लगत्तै कांग्रेस महाधिवेशनमा होमिने तयारीमा छ । यता एमाले खराब हो भनेर छुट्टै पार्टी खोलेर पत्नीलाई प्रदेश सभासद् बनाउन सफल मधेशको राजनीतिमा संघीय समाजवादी पार्टीका रिजवान अन्सारीको पार्टी पनि एमालेसँगै सत्तामुक्त भएको छ । उसो त बागमतीमा हुँदोखाँदाको सभामुखबाट राजीनामा दिएर नैतिकवान् देखिन खोजेको राप्रपा सत्ताप्रति कति लुब्धो रहेछ भन्ने प्रमाणका रूपमा मधेशमा समानुपातिक एक सदस्य पनि पार्टीमा छलफलविना एमालेको अल्पमतको सरकारमा वन तथा वातावरण मन्त्री बन्दा सांसद कञ्चन बिच्छाको मन्त्री पद मात्रै होइन, पार्टी सदस्यता ६ महिनालाई र बाँकी रहेको प्रदेश सभा सदस्य पद गएको छ ।
यहाँनिर धर्मकर्मसँग जोडिएको एउटा हास्य पेस गर्दै बिट मार्न चाहेँ –
एकादेशको कुरा हो, भक्त महादेवको भक्तिमा ध्यानलीन भए । महादेव प्रसन्न भएर प्रकट भए । भक्त पनि ध्यान सफल भएकामा औधी खुसी भए ।
महादेव: तिम्रो भक्ति देखेर खुसी भएँ, भन के माग्छौ ?
भक्त: महादेव, मेरा एक गोरु छन्, दाइका दुई ।
महादेव: तिमीलाई पनि एउटा गोरु दिऊँ त ?
भक्त: होइन भगवान्, दाइको पनि एउटा गोरु मारिदिनु पर्यो ।
मधेशमा एमाले आफू त यस पटक ठहरै भएकै छ । एमालेकै कारण संघीय समाजवादी र राप्रपाको पनि ‘दाइको गोरु ठहरै’ पार्ने उद्यम सफल भएको छ ।

Leave a Reply