कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *