दुई वर्षपछि स्टेजमा फर्किए प्रकाश सपूत

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत दुई वर्षपछि स्टेज शोमा फर्किएका छन् । गत शनिवार दाङ र सोमबार कपिलवस्तुमा सांगितिक प्रस्तुति दिएसँगै उनी स्टेजमा फर्किएका छन् । अब भोलि सुनवल महोत्सव, त्यसपछि कपिलवस्तु महोत्सव र त्यसपछि सुदूरपश्चिम महोत्सवमा प्रस्तुति दिनेछन् । यो बीचमा आफूले दर्शकहरूलाई निक्कै सम्झिएभन्दै भावुक स्टाटस समेत लेखेका छन् ।

‘ओहो, दुई वर्ष भएछ । दुई हिउँद यसै बितिगएछ । यो बीचमा तपाईंहरुलाई निकै सम्झिएँ । देशैभरिका सहर, गाउँघर सम्झिएँ । पारिलो घाममा रंगीचंगी कपडा लगाएर हँसिलो मुहारसहित आउने तपाईंहरुलाई सम्झिएँ । यात्रा सम्झिएँ । यात्राका दुःख, सुख सम्झिएँ,’ केही दिनअघि सपूतले लेखेका थिए, ‘यात्राका घुम्तीहरूमा भेटिने स–साना चिया नास्ता सम्झिएँ । हाइवे छेउमै छाप्रो होटलका मीठा खानाहरू सम्झिएँ । हाम्रोतिर कहिले आउनुहुन्छ भनेको सम्झिएँ । गीतमा सँगै रोएको, हाँसेको र नाचेको सम्झिएँ । अब यसरी सम्झिएरै बस्नुभन्दा यो वर्ष तपाईंहरुलाई भेट्नै आउने निधो गरेँ ।’

बितेको दुई वर्ष गायकको रूपमा स्थापित भएका सपूत चलचित्रहरूमा व्यस्त भए । ‘परदेशी २’, ‘पूर्णबहादुरको सारंगी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘सोल्टिनी’ लगायत चलचित्रमा अभिनेताको रूपमा देखिए । ‘वसन्त’ चलचित्रमा अभिनयको अलावा निर्देशन पनि गरे । अहिले पुनः स्टेजमा फर्किएका छन् । उनका ‘मिरमिरे’ र ‘परालको आगो’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *