बूढानीलकण्ठ नगरपालिकाले मनायो स्थापना दिवस

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस मनाइएको छ । मंगलबार हात्तीगाँडास्थित शुभकामना आदान प्रदान कार्यक्रममा मेयर मिठाराम अधिकारी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, पूर्व नगर प्रमुख उद्धव खरेल, पूर्व माननीय नुच्छे नारायण, पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरू पनि कार्यक्रममा सहभागी थिए ।

नगर प्रवक्ता नवराज भट्टराईका अनुसार उपमेयर लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका क्षेत्रमा पुर्‍याएको प्रगतिबारे प्रकाश पारेकी थिइन् ।

जुगल नवगुरुकुलका विद्यार्थीहरूले स्वस्तिवाचन तथा बालउद्धार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिए। विभिन्न विद्यालय, कलाकार तथा स्थानीय समूहहरूले नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति दिँदा वातावरण उत्साहपूर्ण बनेको थियो ।

मन्त्री जयराम थापाले बुढानीलकण्ठ नगरपालिका विकासको तीव्र गतिमा अघि बढिरहेको भन्दै खानेपानी समस्याको समाधान स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा छिट्टै लागू हुने प्रतिवद्धता जनाए ।

मेयर अधिकारीले नगरबासीका आवश्यकता, माग र आवाजलाई प्राथमिकतामा राख्दै सुव्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउन निरन्तर काम भइरहेको बताए । उनले स्थानीय तहका सेवाहरूमाथि जनआस्थालाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *