पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

रूपन्देही । बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई ३८ वर्षीया श्रीमती पवित्रा गुरुङले मध्यराति चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार राति करिब २ बजेतिर भएको घटनापछि गम्भीर घाइते सुरजलाई स्थानीयले तुरुन्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको निरीक्षक गिरीले बताए ।

छिमेकीसमेत रहेका वडा सदस्य नकुल शाही ठकुरीका अनुसार घाइते सुरज बुटवल नगर प्रहरीमा कार्यरत जवान हुन् । उनका अनुसार पवित्रा विगत तीन–चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी छिन् । श्रीमान–श्रीमतीबीच प्रायः झगडा हुने गरेको र पवित्राले परिवारका अन्य सदस्यसँग पनि विवाद गर्ने गरेको स्थानीय बताउँछन् ।

यही कारण सुरज राति अलग्गै कोठामा सुत्ने गर्थे । मङ्गलबार राति पनि उनी अलग कोठामा सुतेका बेला पवित्राले ढोका फोरेर एक्कासी चक्कु प्रहार गरेको शाहीले बताए ।

ज्यान जोगाउन भाग्ने क्रममा बाहिर पनि उनको टाउको र घाँटीमा पुनः प्रहार भएको घाइते सुरजको बयान उदृत गर्दै शाहीले जानकारी दिए।

राति हो–हल्ला र रुवाबासीको आवाज आएपछि छिमेकीको ध्यान गएको थियो । बाहिर रगताम्य अवस्थामा पल्टिएका सुरजलाई देखेपछि स्थानीयले तत्काल अस्पताल पुर्‍याएका थिए । पवित्रालाई भने पक्राउ गरी प्रहरीको जिम्मा लागेको वडा सदस्य शाहीले बताए । उनीहरूको सात वर्षका छोरा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *