
काठमाडौँ । मधेश प्रदेश सभाको बैठक आज बुधबार बिहान ८ः३० बजेका लागि आह्वान भएको छ । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने छन् ।
मुख्यमन्त्री यादवले बुधबार दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरेर विश्वासको मत लिने वातावरण बनाउन प्रदेश सभामा पत्र पठाएका थिए । तर मधेश प्रदेश सभामा रहेका एमालेबाहेकका दलहरुको सर्वदलीय बैठकबाट बुधबार बिहान ८ः३० बजे नै प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएको हो । प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बैठक आह्वानसम्बन्धी सूचना प्रदेशसभा सदस्यलाई पु¥याइएको छ । उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले बिहानका लागि बैठक आह्वान गर्ने सहमतिअनुसार बैठक आह्वान गरिएको हो । बिहान प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे नै आह्वान गरिएको छ।
सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिए ।

Leave a Reply