
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको गोंगबुस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट खैरो हेरोइन ५ सय २० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाँकेका भुपेन्द्रकुमार बुढा र तनहुँका मनिष गुरुङ छन् । उनीहरुको साथबाट लागूऔषधसहित नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु बरामद गरिएको छ ।
टोखास्थित नमस्ते नेपाल गेष्ट हाउसबाट १ ग्राम ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित धादिङ नीलकण्ठका किशोर मगर, कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिकाका लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवनस्थित भरतपुर गोब्रेनीका मनिस गुरूङ ४ ग्राम ८० मिलिग्राम खैरो हेरोइन सहित सोमबार दिउँसो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चनौलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।
दाङको तुलसीपुरस्थित बिजौरीबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५ सय २५ रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो पक्राउ परेका पवन कुमार वली र सल्यान शारदास्थित शान्तिनगरका सन्तोष बुढाथोकीलाई प्रहरी चौकी विजौरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी ब्राउनसुगर ३ ग्राम ३८ मिलिग्राम र ३५ हजार ९ सय नेपाली रूपैयाँ साथै १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित रूपन्देही सैनामैनाका सुदन चौधरी पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित त्रिनगर व्यारेलबाट ६ सय ४० मिलिग्राम ब्राउनसुगरसहित डोटी दिपायल सिलगढीका दिपेन्द्र वड पक्राउ परेका छन् । धनगढीकै राजपुरबाट ब्राउनसुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित आकाश राना पक्राउ परेका छन् ।
यस्तै गोकर्णेश्वर माकालबारीबाट लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सिन्धुपाल्चोक भोटेचौरका सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमीबाट ट्रामाडोल ६० ट्याब्लेटसहित सिन्धुली दुधौलीका विष्णु बानिया पक्राउ परेका छन् । भक्तपुरकै च्यामासिंहबाट ट्रामाडोल १ सय ७९ ट्याब्लेटसहित रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाराको निजगढ तपशैयास्थित जंगलबाट ७ किलो गाँजासहित जीतपुरसिमराका हुसन अंसारी र अल्यास देवान पक्राउ परेका छन् । प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट गाँजा बरामद गरेको हो । मोरङ कटहरी रिङरोडबाट १० किलोग्राम गाँजासहित जहदा महादेव टोलका शसी मण्डल पक्राउ परेका छन् । प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा गाँजा फेला पारेको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply