
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् । लामो रस्साकस्सीपछि आज सकिएको केन्द्रीय समिति बैठकले पुस २६-२८ मा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए ।
उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिएका छन् ।
शर्माले सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने उनको भनाइ छ ।
नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै शर्माले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सवै तहमा नेतृत्व लिन तयार भएर बस्न आह्वान गरे ।

Leave a Reply