श्याडो पिक्चर्सले ‘धुरन्धर’ लाई नेपालमा वितरण गर्ने, भारतमा पनि शाखा विस्तार

काठमाडौं । नेपाली चलचित्र वितरण कम्पनी ‘श्याडो पिक्चर्स’ ले रणवीर सिंह अभिनीत बहुप्रतिक्षित भारतीय चलचित्र ‘धुरन्धर’ लाई नेपालमा वितरण गर्ने भएको छ। ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको हो ।

यससँगै जियो स्टुडियोजले ‘श्याडो पिक्चर्स’ लाई आफ्नो आधिकारिक विक्रेता तथा वितरण साझेदारको मान्यता प्रदान गरेको छ भने ‘श्याडो पिक्चर्स’ ले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ । श्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खोलिदिने कम्पनीका डाइरेक्टर अफ विजनेश डेभेलप्मेन्ट अरुण रिजालको विश्वास छ।

जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना रहेको उनको भनाई छ। जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु नै नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता रहेको रिजाल बताउँछन् । त्यस्तै, श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको अध्यक्ष अमित अग्रहरीले बताएका छन् ।

बलिउडका चर्चित मल्टी स्टारकास्टहरू रहेको एक्सन-थ्रिलर चलचित्र ‘धुरन्धर’ यहीँ डिसेम्बर ५ गतेबाट विश्वव्यापी रिलिज हुँदैछ। आदित्य धरको निर्देशनमा बनेको यो चलचित्रमा रणवीर सिंह, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायतका कलाकारको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *